|

जाजरकोट : बस दुर्घटनामा घाइते भएकाहरुलाई जनही १-१ लाख दिने सहमतिपछि जाजरकोटमा अनिश्चितकालीन बन्द खुलेको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटले सरोकारवालाहरुलाई बोलाएको बैठकमा भेरी गङ्गा यातायात व्यवसायी समिति घाइतेहरुलाई उपचार खर्च दिन तयार भएको हो।

'घाइतेहरुलाई उपचार दिने सहमति भेरी गङ्गा यातायात व्यवसायी समितिले गरेपछि बन्द खुलेको छ। उनीहरुलाई समितिले भोली नै पैसा दिने प्रतिबद्धता गरेको छ,' बैठकमा सहभागि जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले भने।

यसअघि गत फागुन २६ गते भएको बस दुर्घटनाका घाइतेहरुको उपचारमा समितिले ध्यान नदिएको भन्दै जाजरकोटमा अनिश्चितकालीन यातायत बन्द गरिएको थियो। जसका कारण बिहीबार जाजरकोटमा यातायतका साधन चलेनन्।

गत फागुन २६ गते सदरमुकाम खलंगाबाट पश्चिमको छेडेगाड नगरपालिका- १ खाराका लागि छुटेको ना३ख २२७९ नम्बरको बस छिन्छु–जाजरकोट सडकअन्तर्गत भेरी नगरपालिका– ४ बोहरामा दुर्घटना भएको थियो। सो दुर्घटनाका घाइतेको उपचारमा उचित ध्यान नदिएको भन्दै घाइतेका आफन्तले बन्द आह्वान गरेका हुन्।

दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए। ती मध्ये ३१ जना उपचारपश्चात फर्किसकेका छन्। बाँकी ४ जनाको उपचार भइरहेको छ। भेरी– ११ का सन्तोष मल्ल र भेरी– १२ का प्रताप गिरिको टिचिङ हस्पिटल काठमाडौं तथा भेरी– १३ का सुजन गिरीको विएण्डबी अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा बिलम्ब गरेको तथा राहत नपाएकाले बन्द आह्वान गरिएको आफन्त मोति गिरीले बताए। आन्दोलित आफन्तहरुले बिहानैदेखि सडकमा बसेर यातायात सञ्चालनमा रोक लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.