'यही सरकारले संघ र प्रदेशको निर्वाचन गराउँछ'

|

पाल्पा : नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्तले अहिलेको सरकारले नै संघ र प्रदेशको निर्वाचन गराउने बताएका छन्। उनले सरकार परिवर्तनले मंसिरमा निर्वाचन हुने सम्भावना टर्ने र मुलुकमा संवैधानिक जटिलता निम्तने भन्दै उनले सरकार परिवर्तनको हल्ला निराधार भएको स्पष्ट पारे। प्रेस सेन्टर नेपाल पाल्पाले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले भने 'संघ र प्रदेशको निर्वाचन हुन अब तीन महिना पनि बाँकी छैन, सरकार परिवर्तनले निर्धारित मितिमा निर्वाचन हुँदैन र मुलुक संकटमा धकेलिन्छ।'

२०६९ सालमा मुलुकको राजनीतिक लिक भन्दा बाहिर जाँदा चुनाव गराउन गैरदलीय सरकार बनाउन परेको सम्झिदै नेता पुनले ट्रयाकमा आएको मुलुकलाई अब फेरि त्यहि परिस्थितिमा धकेल्ने हो भने नयाँ संविधान नै असफल हुने बताए। उनले भने, 'अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने कुरा नयाँ संविधान असफल पार्ने षड्यन्त्र हो।'

दायाँ बायाँ कुनै कुरा नसोची गठबन्धन सरकार निर्वाचन केन्द्रित भएको भन्दै उनले  प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस र माओवादी गठबन्धनको सरकार कायम रहने बताए।  नेता पुनले आगामी निर्वाचनमा तालमेल भन्दा पनि आफ्नो पार्टी एकल रुपमा निर्वाचन लड्ने तयारी रहेको बताए।

पहिलो संविधान सभाको निर्वाचनमा पहिलो भएको पार्टीभित्र देखिएका कमी कमजोरीहरुलाई चिर्दै आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा माओवादी केन्द्रलाई उभ्याउन पार्टी अध्यक्षदेखि तल्लो तहका कार्यकर्तासम्म सक्रिय भएको माओवादी नेता पुनले बताए। प्रदेश नं. २ मा असोज २ गते हुने निर्वाचनमा माओवादी केन्द्र पहिलो हुने गरी निर्वाचनमा केन्द्रित भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.