|

कालिकोट : मुगुको सदरमुकाम गमगढीमा २ महिनापछि सवारीका साधन पुगेका छन्। नाग्म-गमगढी सडक विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध पहिरो पन्छाएपछि सडक खुलेको हो। नाग्म–गमगढी सडकखण्डको ९४ किलोमिटर सडकको बिभिन्न ठाउँमा पहिरो गएका कारणले दुई महिनादेखि सडक अवरुद्ध रहेको थियो। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्यका वस्तु साथै, मुगुबाट अन्यत्र निर्यात हुने स्याउ ढुवानीमा पनि समस्या भएको थियो।

नाग्म–गमगढी सडकखण्डको मुगुको झयारीको गएको पहिरो बिहीबार स्थानीयले पन्छाएपछि सडकखण्ड खुलेको मुगुका पत्रकार कविराज कार्कीले बताए। ‘मुगु पुग्ने सडकको विभिन्न ठाउँमा पहिरो गएको थियो।’ उनले भने, ‘दुई महिनासम्म अवरुद्ध भएको सडकमध्ये मुगुको झयारीमा सबैभन्दा ठूलो पहिरो स्थानीयको पहलमा पन्छाइएपछि खुलेको हो।’

दुई महिनासम्म यातायातका साधन नचल्दा खाद्यान्न, दैनिक उपभोग्य वस्तुको अभाव रहेको सडक खुलेपछि सहज बनेको स्थानीय विश्वराज बुढाले बताए। ‘मुगु सदरमुकाम गमगढीलाई जोड्ने नाग्मा–गमगढी सडक अवरुद्ध हुँदा मुगुमा र हुम्लाका तल्ला क्षेत्रमा खाद्यान्नसहित दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो।’ उनले भने, ‘सडकका ठाउँ–ठाउँमा गएको पहिरोका कारण मुगुका लागि खाद्यान्न र दैनिक उपभोग्य सामग्री बोकेर आएका गाडी बिच बाटोमै रोकिएका थिए। सडक खुलेपछि सहज भएको छ।’

सडक खुल्दा मुगुबाट स्याउ ढुवानी गर्न पनि सजिलो हुने स्थानीय स्याउ ब्यापारी नारायण रोकायाले बताए। ‘यातायात साधन नचल्दा स्याउ ढुवानी गर्न समस्या भएको थियो।’ उनले भने, ‘अब भने सहज हुने भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.