|

झापा : शुक्रबारबाट नेपालभरीका १ सय २ वटा हलहरुमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ ले दर्शकको साथ राम्रै पाएको छ। देशमा अहिले जल्दोबल्दो अवस्थामा रहेको सुन तस्करीको विषयलाई मूख्य विषय बस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘२ रुपैँया’ ले पूर्वमा पनि दर्शकको साथ राम्रै पाएको छ। दमकस्थित पाथिभरा चलचित्र मन्दिरमा पनि शुक्रबार र शनिबार नै हाउस पूmल भएको थियो।

मुख्य विषयवस्तु सुन तस्करी

चलचित्रको मुख्य विषयवस्तु भनेको सुन तस्करी हो। चलचित्रको सुरुवाती समयदेखि नै सुन तस्करीको विषयलाई समेटिएको छ। ‘बोस’ का रुपमा चलचित्रमा अभिनय गरेका कलाकार टीका पहारीले निश्चल बस्नेत ( जुरेली) र आशिफ शाह (दारी) लाई सुन तस्करीमा परिचालन गरेका हुन्छन् । उनीहरुलाई भारतबाट आएका तस्कर विसारत बस्नेत (भैया जी) सम्म सुन लिन जान्छन्।

बाहिर देशबाट आएको सुन लिन जाँदा ‘२ रुपैँया’ को नोट लिएर जानु पर्ने हुन्छ। तर दारीले त्यो दुई रुपैयाँ हराएका हुन्छन्। उक्त सुन लिन जान अघि उनीहरु एक होटलमा खाना खान पुग्छन्।

उक्त होटलमा दारीकी पहिलाकी प्रेमिका माया (मेनुका प्रधान) सञ्चालिका हुन्छिन्। उनी असई बम बहादुर (बुद्धि तामाङ) की श्रीमती हुन्छिन्। उनले बाध्यताका कारण बुद्धिसँग विवाह गरेकी हुन्छिन्। उक्त होटलमा जुरेलीलाई खाना खादै गरेको अवस्थामा छाडेर दारी र माया कोठा तिर जान्छन्। उक्त कोठामा छोरा आएपछि दारीले पैसा दिएर ललिपप खान किन्न पठाउँछन्। त्यतिकैमा बम बहादुर असई त्यहाँ आउँछन्। दारी त्यहाँ भएको थाहा पाउँछन्। उनले दारी र जुरेलीलाई खेदाउँछन् तर भेट्न सक्दैनन्।

उक्त ‘२ रुपैँया’ को नोट उनका छोराले लगिसकेका हुन्छन्। राति भैया जी कहाँ पुग्दा उक्त ‘दुई रुपैँया’ को नोट हराईसकेको हुन्छ। उनीहरुले भैयाजीलाई उक्त नोट लिएर आउँने बाचा गर्दै त्यहाँबाट छुट्छन्। उनीहरुले यसरी तस्करीकालागि मण्डल (रबिन्द्र झा) को एम्बुलेन्स प्रयोग गरेका हुन्छन्।

मिर्गौला तस्करीको विषय

चलचित्रमा सुन तस्करीको विषयलाई मात्रै स्थान दिइएको छैन। चलचित्र भित्र नेपालका सीमावर्ती जिल्लाबाट भारततर्फ मानिसको मिर्गाैला तस्करी गर्ने विषयलाई पनि समावेश गरिएको छ। उनीहरुले उक्त बजारको विभिन्न ठाउँमा दुई ‘२ रुपैयाँ’ को उक्त नोट खोज्छन्। नोट मायाको छोराले ललिपप किनेको पसलमा समेत जान्छन्। त्यहाँबाट पसलमा भएका सबै पैसा ल्याएर हेर्छन्। तर उनीहरुले छुट्याउँन सक्दैनन्।

जुरेली सेल्फिका धेरै खिच्छन्। त्यही क्रममा उनले सो ‘दुई रुपैँया’ नोट बोकेर दारीको मोबाईलबाट सेल्फि खिचेका हुन्छन्। तर दारीको मोबाईल बम बहादुर असईसंग हुन्छ। उनले मायाकै होटलमा छोडेको मोबाइल असईमार्फत कसरी हात पर्ने भन्ने चिन्तामा पर्छन् उनीहरु। उनीहरु असई बम बहादुरको पछि लाग्छन्। र उनीहरुले पूर्वको प्रसिद्ध धार्मिक स्थलमा रहेको माई मेलामा उक्त मोबाईल खोस्न सफल हुन्छन्।

उनीहरुले उक्त ‘२ रुपैँया’ नभेटेपछि नजिकैको सटही काउन्टरमा जान्छन् र त्यो काउन्टरमा दुई रुपयाँ साट्न खोज्दा काउन्टर सञ्चालकले मान्दैनन्। उनीहरुले एउटा दुई रुपैयाँको नोटमा ५ हजार र १० हजार हुँदै १ लाख दिने अफर गर्छन्। काउन्टर सञ्चालकले उक्त सहरका नाम चलेका गुण्डा तथा मिर्गाैला तस्कर झिम्रिक (राजन इसान) को मा लिएर जान्छन्। त्यहाँ पुग्दा एकजना मजदुरले आफूबाट लिएको ऋण बापतको पैसा फिर्ता नगरेको भन्दै लड्डु खुवाउन खोजिरहेका थिए। उक्त लड्डु खुवाएर बेहोस बनाउँछन् र मिर्गाैला बेच्न भारततर्फ लैजान्छन्।

दारी र जुरेलीले पनि डराएर झिम्रिकलाई सहरका सबै दुई रुपैयाँका नोट खोज्न लगाउँछन्। सबै नोटबाट पनि उक्त हराएको ‘२ रुपैँयाँ नोट नभेटेपछि अन्त्यमा झिम्रिकले उनीहरुलाई पनि लड्डु खान लगाउँछन्। त्यही समयसम्म प्रहरीले दारीको स्क्रेज कोरेर फरार अभियुक्त भन्दै शहर भरि टाँसि सकेको हुन्छन्। उक्त झिम्रिकसँगको मिर्गाैला तस्करीमा एम्बुलेन्स चालक पनि संलग्न हुन्छन्।

तर उनले केही खास होला भनेर उनीहरुलाई भारत नलगी सीमामा लगेर छाड्छन्। त्यही झिम्रिक आएपछि दारी र जुरेलीले ‘२ रुपैँया’को काथा सुनाउँछन्। उनीहरु उक्त सुन लिन भैया जी कहाँ पुग्छन्। त्यहाँ बोस पनि आई पुग्छन र त्यहाँ लडाइँ हुन्छ। त्यो लडाईबाट एम्बुलेन्स चालक मण्डल घाईते हुन्छन्। तर मण्डल दारी र जुरेली त्यहाँ बाट भाग्न सफल हुन्छन्। तर उनीहरु बाहेक सबैलाई प्रहरीले समात्न सफल हुन्छ र यसरी सुन तस्कर र मिर्गाैला तस्कर प्रहरीको फन्दामा पर्छन्।

'कुटुमा कुटु'ले चलचित्र चलायो

पूर्वको झापा, मोरङ तथा सुनसरीमा प्रदर्शन गरिएको चलचित्र हेर्न सोचेजस्तै दर्शक आएको निर्माता तथा कलाकार निश्चल बस्नेतले बताए। उनले चलचित्र चल्नुमा मुख्य कारण ‘कुटुमा कुटु ’ गीतनै भएको बताए। उनले भने, ‘हाम्रो चलचित्र राम्रो बनेको छ, हामीले तीन वर्ष अगाडी सुटिङ सुरु गरेको बेलामा यो विषय सामान्य थियो, तर पछि यो विषय देशमा चर्चामा पनि आयो।’

उनले प्रया सबै चलचित्र हलहरुमा हाउँसफुल भएको बताए। असिम शाहले निर्देशन गरेको चलचित्रमा निश्चल बस्नेत, मेनुका प्रधान, स्वस्तीमा खड्का, आशिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान, टीका पहारी, विराशद बस्नेत लगायत कलाकारले अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.