|

काठमाडौं : सरकारले  मधेस आन्दोलनमा मृत्यु भएका ५२ जनालाई सहिद घोषणा गरेको छ। गत वर्ष संविधानका विषयमा असहमति राख्दै मधेसमा भएको आन्दोलनमा मृत्यु भएका उनीहरुलाई सहिद घोषणा गर्दे परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको उर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए।

केही दिनअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा ज्यान गुमाएका ६८ जनाको नाम उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएका थिए। मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा मारिएका ११ सुरक्षाकर्मी र ४१ जना आन्दोलनकारीलाई सहिद घोषणा गरेको हो।

त्यस्तै सरकारले मधेस आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, निजी तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति लगायतबारे छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा ७ सदस्यीय  उच्चस्तरीय छानबिन आयोग गठन गरेको हो।

त्यस्तै सरकारले अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा मारिएका १३ जना नेपालीको शवलाई स्वदेश फिर्ता ल्याउन खर्च भएको ९१ लाख रुपैयाँ सरकारले ब्यहोर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिए।

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चार मन्त्री राम कार्कीलाई दिएको छ। त्यस्तै विद्युत लाइन विस्तारका लागि वन क्षेत्रमा प्रयोग गर्न पाउने निर्णय पनि गरेको शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.