|

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड नङसला तामाङ र उत्कृष्ट पूरुष खेलाडीको अवार्ड किरण चेम्जोङले जितेका छन्। एथलेटिक्सकी कान्छीमाया कोजुले पिपुल्स च्वाइस अवार्ड जितेकी छन्। 

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ वर्षका उत्कृष्ट खेलाडी घोषित भए। कात्तिकमा मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो। उनले सेमिफाइनलमा दुईवटा वटा पेनाल्टी जोगाएका थिए। 

एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए।  यस्तै वर्षको उत्कृष्ट महिला खेलाडी ब्याडमिन्टनकी नङसला तामाङ बनिन्। पछिल्लो पटक महिला ब्याडमिन्टनमा एकछत्र राज गर्दै आएकी नङसलाले पाकिस्तानमा भएको अन्तराष्ट्रिय सिरीजमा मिक्स डबलमा नेपाललाइ स्वर्ण दिलाएकी थिइन्।

नेपालकी नम्बर एक ब्याटमिन्टन महिलाखेलाडी नङसलाले सातौ राष्ट्रिय खेलकुदमा आफुले खेलका पाचँ विधामा चारमा स्वर्ण जितेकी थिइन्। एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा कुल ६६ हजार आठ सय ६४ भोट प्राप्त गर्दै कान्छिमायाले ‘पिपुल्स च्वाईस अवार्ड’जितिन्।

दोस्रो स्थानमा रहेका फुटबलका सुजल श्रेष्ठले १६ हजार ७८ भोट प्राप्त गरे भने आठ हजार सात सय ७४ भोट सहित क्रिकेटका दीपेन्द्र सिंह ऐरी तेस्रो भए। 
यस्तै जुडोकी मनिता श्रेष्ठ प्रधान युवा वर्ष खेलाडी भइन्।

लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयमा पर्न सफल मनिता यसपटक अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै युवा वर्ष खेलाडी घोषित भएकी हुन्। 
अघिल्लो वर्ष १२ औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी प्रभावशाली खेलाडी हुन्। यस्तै खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल ‘बन्दी सहायता नियोग’ यसपटक स्पेशल अवार्डबाट सम्मानित भएको छ। कैदी आमा बाबुका सन्तानको लालन पालन, संरक्षण र तीनलाई नै जुडो खेलाडीका रुपमा तयार पार्न आठ वर्षदेखि सक्रिय पामलाई नेपाल खेलकुद पत्रकार मञ्चले स्पेशल अवार्डबाट सम्मानित गरेको हो। 

यस्तै ‘ब्लाइन्ड टि ट्वान्टी विश्वकप क्रिकेट’मा आफुलाई उत्कृष्ट ब्याट्सम्यानका रुपमा साबित गरेका पदम बडेल वर्षको पारा एथलिट अवार्ड जित्न सफल भए। गत वर्ष भारतमा भएको ‘ब्लाइन्ड टि ट्वान्टी विश्वकप’मा पदमले न्युजिल्यान्ड विरुद्ध दोहोरो शतक बनाएका थिए। त्यसमा दोहोरो शतक बनाउने उनी एक्लो खेलाडी थिए। 

एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझा वर्षका उत्कृष्ट प्रशिक्षक भए। उनी रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक थिए। सो बेला सरस्वतीले रियोमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्।

ओझाले सम्हालेको त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा सर्वाधिक २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक पनि जितेको थियो। यस्तै टिम अफ दि इयरको उपाधि नेपाल भलिबल टिमले पायो।

अवार्डसँगै टिमले ५० हजार रुपैयाँ हात पार्‍यो। गल्फमा फरक-फरक जिम्मेवारी निर्वाह गर्दै ६ दशक लामो यात्रा तय गरेका धनश्याम थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ।

थप फोटो हेर्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.