|

महोत्तरी : सदरमुकामबाट उत्तर गुनरापुराको मुसहर बस्तीका ४० घरमा करिब सात सय मत छन्। सहरी क्षेत्र र राजमार्ग छेउछाउमा हुल बाँधेर मत माग्न घरदैलो गरिरहेका उम्मेदवार यो बस्तीमा आइपुग्न भने भ्याएका छैनन्।

कुनै पनि बेला भोट माग्न उम्मेदवार आइहाल्छन् कि भनेर नीरादेवी सदा र रामविलास सदाजस्ता केही तन्नेरी युवा तम्तयार छन्। बर्दिबास जाने राजमार्गबाट पश्चिममा रहको महोत्तरी गाउँपालिका–२ मा पर्ने गुनरापुराको यो मुसहर बस्तीमा पुग्दा नीरादेवी र रामविलास सामुन्ने आए। उनीहरू कुनै दलका उम्मेदवार छानेर छेउमा आएका रहेछन्।
अर्काको हलो कोदालो नगरी खान नपुग्ने मुसहर बस्तीमा नेताहरूले धेरैपटक सपना बाँडे तर भोट पाएपछि कहिल्यै गाउँ फर्केनन्। ‘२०६४ सालमा माओवादीका उम्मेदवारले हाम्रा सबै माग पूरा गरिदिन्छु भने, उनैलाई भोट दियौं, भोट पाएपछि फर्केर आएनन्।’, नीरादेवीले भनिन्।

उनीहरूलाई न त राजनीतिक मुद्दासँग सरोकार छ न त विकास निर्माण भएन भनेर गुनासो नै। भोट माग्न आउनेसँग उनीहरू बस्ती छेउछाउमा बसघरा(सामुदायिक भवन) बनाइदिन माग गर्छन्। विवाह र चाडपर्वमा पाहुना राख्ने ठाउँ नभएकाले उनीहरूले २०६४ सालदेखि नै यसको माग राख्दै आएका थिए।

बसघराबाहेक उनीहरूको दोस्रो माग हो– शौचालय। शौचालय बनाउन नसक्दा तीन वर्षयता उनीहरूले नागरिकतासमेत पाएका छैनन्। घरमा शौचालय भएको कार्ड देखाए मात्र नागरिकता बन्ने भएकाले उनीहरू समस्यामा परेका हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.