|

चितवन : चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा डेंगु रोगको संक्रमण रोक्न रोग सार्ने लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्न थालिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरिक्षक रामकुमार केसीका अनुसार रत्ननगर र खैरहनीका रोग फैलने संभावित क्षेत्रमा उक्त अभियान थालिएको हो। 

सोमबारदेखि सुरु भएको तीनदिने अभियान बुधबारसम्म चल्नेछ। घरघरमा अभियान लिएर जाने ७० जना स्वयंसेवीकाहरुलाई तालिम दिएर फिल्डमा खटाइएको केसीले जानकारी दिए। उनका अनुसार यहाँका वडाध्यक्षहरु समेत अभियानमा सक्रिय सहभागी भएका छन्।

स्वयंसेवकहरुले  घरघरमा गएर डेंगु रोग, यसको सर्ने तरिका र सावधानी अपनाउने विषयमा जानकारी दिने, लामखुट्टेका लार्भा भए नभएको हेर्ने, फेला परेमा स्वयं घरधनीलाई नै नष्ट गर्न लगाउने गरी अभियान सुरु भएको हो। चितवनमा साउन यता अहिलेसम्म ८ जनाका डेंगु रोग देखिएको तथ्याङ्क छ। 

केसीले पहिलो दिन सोमबार गरिएको अनुगमनमा विभिन्न क्षेत्रमा फालिएको टायरभित्र जमेको पानीमा लामखुट्टेका लार्भा र प्यूपा भेटिएकाले नष्ट गरिएको जानकारी दिए। मुुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेका यो रोग सर्ने चिकित्सकले बताएका छन्।

डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनैपनि भाँडामा पानी जम्न नदिन भरतपुर अस्पतालका चिकित्सक डा. कालिदास अधिकारीले आग्रह गरे। रोग नियन्त्रणको प्रभावकारी माध्याम नै खोजेर नष्ट गर्ने भएकाकाले उक्त कार्यक्रमलाई प्राथमिकता दिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। 
 
मुख्यगरी डेंगुका लाुमखुट्टे फालिएका टायर, प्लाष्टिकका भाँडा, अण्डाको खबटा, कुनैपनि भाँडाका बिर्काे, गमला, एसी र फ्रिजको पानी जम्ने स्थानमा बस्ने र बच्चा हुर्काउने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु देखिएको थियो। २०१० अर्थात आर्थिक वर्ष २०६७÷६८ सालमा चितवनमा महामारी फैलिँदा ५ जनाले ज्यान गुमाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.