|
Photo : gantabyanepalnews.com

नुवाकोट : स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमुखसहित विभिन्न उम्मेदवारले पार्टीका जिल्ला सभापतिले नै अन्तर्घात गरेको आरोप लगाउँदै कारबाहीको मागसहित केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका छन्।

बेलकोटगढी प्रमुखमा पराजित उम्मेदवार यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तर्घात गरेको जनाउँदै कारबाही गर्न केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन्।

केसीसहित जिल्ला सदस्य हिरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साविकको बेलकोट गाविसका पार्टी सभापति बैकुण्ठ पाण्डे र साविकको जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तर्घात गरेको आरोप लगाइएको छ।

यस्तै पूर्वजिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तर्घात गर्नेहरुको सूची बुझाई कारबाहीको माग गरेको छ। उक्त सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम छ।

जिल्ला तहकाले कारबाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको तारकेश्वरबाट कांग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यले बताए। पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तर्घात गर्नेहरु कारबाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताए। कारबाहीको माग गर्दै दिइएको उजुरीमा निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.