महोत्तरी : असोज २ गते हुने निर्वाचनमा महोत्तरी जिल्लाका १५ स्थानीय तहको प्रमुखका लागि २ सय ९ जनाले उम्मेदवारी दिँदा जम्मा ५ जनामात्रै महिला उम्मेदवार छन्। समानुपातिक समावेशिताको वकालत गर्ने प्रमुख दलहरुले नै प्रमुख पदहरुमा महिलालाई उम्मेदवार बनाएका छैनन्। संविधानले नै प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरेकोमा दलहरुले महिलालाई उपप्रमुखमामात्रै सीमित गरेका छन्।
नेकपा एमालेले महोत्तरीको १ गाउँपालिका प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ। नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले भने महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छैन। उपप्रमुख पदमै महिलाहरु सन्तुष्ट भएका कारण प्रमुख पदमा टिकट दिन पार्टी बाध्य नभएको माओवादी केन्द्र निर्वाचन समिति महोत्तरीका संयोजक राजु खड्का बताउँछन्।
महोत्तरीमा संघीय समाजवादी फोरमबाट १, बहुजन शक्ति पार्टीबाट २, नेकपा एमाले बाट १ र स्वतन्त्र उम्मेदवार १ गरी ५ जना महिला मात्र प्रमुख पदमा उम्मेदवार बनेका छन्। पछिल्लो समय चुनाव खर्चिलो बन्दै गएका कारण आर्थिक स्थिति कमजोर भएका भएका महिला, दलित, जनजातिहरु हारिने डरले चुनावी मैदानमा आउन नसकेका एमालेकी महिला नेतृ दर्गा दाहालले बताउँछिन्।
दलहरुले महिलालाई मात्र नभई दलित तथा जनजाति समुदायका उम्मेदवारलाई पनि पार्टीहरुले उचित स्थान नदिएको एमालेका एक नेता वेलबहादुर परियारले गरे। उनले भने 'मेयर तथा गाउँपालिका प्रमुखमा त परै जाओस वडा अध्यक्षमा समेत पार्टीले टिकट दिन कन्जुस्याई गर्यो।' संविधानले दलित र जनजाति समुदायलाई दिएको आरक्षण पनि दलहरुले नदिएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।