लिम्बू भाषामा माङ भनेको देवता र सेबुङ भनेको छानेको ठाउँ

|

इलाम : देवी देवता खुसी पार्ने निहँुमा धेरै मठमन्दिर र धार्मिकस्थलहरुमा बली चढाउने गरिन्छ। तर, पशुबध र पशुबलीविना पनि धर्म भएको र गाउँ समाज चलाएर उदाहरण बनेको छ इलाम जिल्लाको माङसेवुङ गाउँपालिका। किरात धर्मावलम्बीहरुको बसोवास रहेको यो स्थानमा काटमार गर्न र मदिरापान गर्न पूर्ण रुपमा निषेध गरिएको छ।

घरैपिच्छे तीनवटा बाँसका लिंगामा राता र सेता रङका ध्वाजा राखिएको, साथमा सूर्य अंकित अर्काे ध्वजा पनि छ। पहिलोपटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ। तर, यो कुनै पार्टी वा संघ संगठनको झन्डा नभएर पूर्वी नेपालको इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बा गाउँको चिनारी हो यो।

किराँतहरुको धार्मिकस्थल माङसेबुङका करिब १ हजार ५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ। सो गाउँमा मासु, जाँड, रक्सी निषेध गरिएको छ।  ११ चैत ०७२ मा औपचारिक रुपमा माछामासु, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको छ।

बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको स्थानीय माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङ्हाङ बताउँछन्। योङ्हाङका अनुसार त्यस क्षेत्रमा जताततै फोहोर गर्न, सँुगुर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँवासीलाई प्रतिबन्ध नै लगाइएको छ।

किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता (ईश्वर) र सेबुङ भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर) ले छानेको ठाउँ भएको विश्वास गरिन्छ। यो ठाँउ करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ। सोही समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका हुन्।

माङ्गेना सेवा समितिका अध्यक्ष योङ्हाङका अनुसार बिषेश गरी लिम्बू समदायको बसोबास रहेको सो स्थान किरात धर्मगुरु मुहिङ्गगुम अङ्गसीमाङ्ग लिङ्गदेन आत्मनन्द सेइङ्ग (आत्मनन्द लिङ्गदेन) को कर्मथलोको रुपमा विकास गरिएको छ। बर्सेनि मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाईन्छ।

जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत राष्ट्रिय व्यक्तित्वहरुको समेत उपस्थिती रहँदै आएको छ। किरात धर्मावलम्बीहरु गुरुको जन्मोत्सवमा अमेरिका, युरोप लगायत तेस्रो मुलुकबाट समेत सहभागीता जनाउने गरेका छन। त्यसैगरी फागुन ३ गते गुरुआमा पवित्रहाङमा साँवा लिङदेनको जन्मोत्सव पनि विविध उत्सवका साथ मनाइने गरिएको छ।

दुई दशकदेखि धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ भने यहाँ विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा बैशाखे पूर्णिमालाई विशेष पर्वका रुपमा मनाईने गरिन्छ।

झापाको दमकदेखि करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर पुग्न सकिने माङसेबुङमा वर्षेनी राष्ट्रिय व्यक्तित्वहरुको उपस्थिती हुने भएपनि विकासको दृष्टिले निकै पछि रहेको छ। दमकस्थित रतुवाखोला हुँदै घर्ती दोभानबाट उकालो लाग्दा निकै कष्ट भएका् अनुभव हुन्छ। तर धार्मिक स्थल माङसेबुङ पुगिसकेपछि साच्चै आनन्द महसुस हुने त्यहाँ पुग्नेहरु बताउँछन्।

माङसेवुङ  झापाको विर्तामोड- खुदुनावारी–दानाबारी हुँदै करिव ३५ किलोमिटर यात्रा गरेपछि पनि पुग्न सकिन्छ। मेची राजमार्गको बैकल्पिक मार्ग प्रयोग गरी वर्खाको ४ महिनाबाहेक अन्य समयमा साना तथा ठूला सवारीसाधन धार्मिकस्थलसम्म पुग्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.