असोज २ गतेदेखि भीड लाग्ने अनुमान

|

काठमाडौं : बिहीबार बिहान ९ बजे गोंगबुस्थित नयाँ बसपार्क पुग्दा सुनसान थियो। धेरै मानिस भएको टिकट काउन्टरमा जम्मा १०-११ जनामात्र लाइन लागेका थिए। कुनै काउन्टरमा मान्छे नै थिएनन्। बिहानै टिकट काट्नका लागि आएका काउन्टरका कर्मचारी फुर्सदमा थिए।

दशैंमा घर जानेहरुका लागि अग्रिम टिकट काट्ने व्यवस्था गरिए पनि बसपार्क भने सुनसान छ। गत वर्षसम्म अग्रिम टिकट बुकिङ खुलेको दिनदेखि भीड हुने बसपार्कमा यसपालि भने तेस्रो दिन नै सुनसान देखियो। बिहानैदेखि सानो संख्यामा टिकट काट्नेहरु आए पनि भीड भने नहुने बस व्यवसायी र प्रहरीको भनाइ छ। यातायात व्यवसायी र सरकारबीच लामो रस्साकस्सीपछि गत मंगलबार अर्थात भदौ २७ गतेदेखि दशैंका लागि टिकट बुकिङ खुलेको हो।

पहिलो दिन भीड, तेस्रो दिनमै शान्त

सुदूरपश्चिम यातायातका लागि टिकट काट्ने लोकेश अवस्थी गत मंगलबार बिहान काउन्टर खुल्ने समय ६ बजे नयाँ बसपार्कमा पुग्दा सबैतिर मान्छेको भीड थियो। कैलालीको धनगढी, टीकापुर, कञ्चनपुर लगायतका जिल्लामा जाने बसका लागि टिकट काट्ने उनलाई सयौं जनाले पर्खिरहेका थिए। तर त्यसको तेस्रो दिन उनी त्यसै सयममा काउन्टरमा पुग्दा भने कोही छैनन्। साढे ६ बजेतिर एक-दुई जना गरी टिकट काट्ने आउन थाले। उनले भने, 'पहिलो दिनमै हजारौंले टिकट काटे, बिहानैदेखि भीड थियो, अहिले छिटपुट मात्रै आइरहेका छन्।'

अवस्थीका अनुसार सुदूरपश्चिम यातायातका एसी र डिलक्स बस असोज २ देखि ११ गतेसम्मका लागि सबै सिट बुक भइसकेका छन् भने सामान्य गाडीको सिट पनि धेरै बुक भइसकेका छन्।

ट्राफिक प्रहरी निरीक्षक राजनकुमार न्यौपाने बिहीबार टिकट काट्नेहरुको अवस्था बुझ्न बिहानै बसपार्क पुगेका थिए। सबै काउन्टरमा गएर अवस्था बुझेपछि उनले भने, 'टिकट काट्नेहरुको संख्या नियमित अवस्थामा जस्तै छ, सुरुको दिन केही भीड थियो आज त २-३ काउन्टरमा त मान्छे नै आएका छैनन्।'

पहिलो र दोस्रो दिन कतिले काटे टिकट?

मंगलबार बिहान बढी भीड भए पनि दिउँसो भने उक्त भीड घटेको यातायत व्यवसायी र प्रहरीको भनाइ छ। व्यवसायीहरुले ४० प्रतिशत टिकट सोही दिन बुक भइसकेको भने पनि प्रहरी रिपोर्टमा भने त्यस्तो छैन।

ट्राफिक प्रहरी सहायक निरीक्षक लीला भट्टराईका अनुसार दशैंका लागि अग्रिम बुकिङ खुलेको पहिलो दिन मंगलबार ११ हजार ८१७ टिकट बुक भएका छन् भने दोस्रो दिन बुधबार ७ हजार ३८० टिकट बुक भएको छ। तर उग्रतारा यातायातका टिकट काट्ने व्यवसायी दीपकसिंह बोहराले भने ४० प्रतिशत टिकट बुक भइसकेको बताए।

सहज तर अन्तिम सिटको!

काठमाडौं बानियाँटारका बच्चु भण्डारी काउन्टरबाट टिकट हातमा लिएपछि हेर्दै थिए। ससुराली सुर्खेत जान तीन सीट बुक गरेका उनले सिट नम्बर ९, ११ र १२ मात्रै पाए। सानो बालक साथमा भएकोले अगाडि मिल्छ कि भनेर आग्रह गरेका उनले 'सबै बुक भइसकेको' जवाफ पाए काउन्टरवालाबाट। उनी भन्दैथिए, 'यत्ति भए पनि ठिकै त होला!'

त्यस्तै काठमाडौंमा पढ्न बसेका गुल्मी तम्घासका अर्जुन सेनले पनि १३ नम्बरको सिट पाए। उनी अलि असन्तुष्ट थिए। उनले भने, 'अगाडिको सिट कुनै बसमा पनि छैन भन्छन्, आफ्नै लागि राखेको हो कि जस्तो लाग्यो।' टिकट काट्न भने लाइन लाग्नु नपरेको उनले बताए। लामो लाइन लाग्नु नपरेको उनको भनाइ थियो।

असोज २ गतेपछि भीड हुने अनुमान!

यातायात व्यवसायीहरुले असोज २ गतेदेखि टिकट बुकिङ गर्नेको संख्या अत्यधिक हुने अनुमान लगाएका छन्। गण्डकी अञ्चल टिकट काउन्टरमा टिकट काट्दै गरेका भेटिएका धर्मराज देउजाले भने, 'दशैं आउन १५ दिन पहिले नै टिकट बुकिङ खोलेकोले अहिले भीड कम भएको हो, असोज २ गतेपछि स्कुल-क्याम्पस विदा भएपछि टिकट काट्नेको संख्या बढ्ने सम्भावना छ।'

सुदूरपश्चिमबाट काठमाडौं आएर पढ्दै गरेका विद्यार्थी पनि २ गतेपछि नै टिकट काट्न आउने अनुमान लगाए अवस्थीले। उनले भने 'क्याम्पस विदा भएपछि भीड लाग्ने सम्भावना देखेका छौं, २ गतेतिर।' अहिले नै टिकट बुक भइसेकेको भने पनि बस थपेर सेवा दिने यातायात व्यवसायीले बताएका छन्।

काठमाडौंबाट दशैं मनाउन घर जान चाहने यात्रुका लागि यातायातको सहज व्यवस्था होस् भनेर सरकार र यातायात व्यवसायीले भदौ २७ गतेदेखि टिकट बुकिङ खुला गर्ने सहमति गरेका छन्। अहिले काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला लगायतका ठाउँका टिकट काउन्टरबाट दशैंका लागि अग्रिम टिकट बुकिङ भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.