|

बाँके :  संयुक्त बजार अनुगमन समितिले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझास्थित शान्ति जनरल स्टोरबाट गुणस्तरहीन ५ किलो ब्रोइलर कुखुराको मासु जफत गर्‍यो। खान नमिल्ने मासु मुगु जिल्ला सदरमुकाम पठाउने तयारी गरिरहेको अवस्थामा टोलीले मासु बरामद गरेपनि कारवाही नगरी त्यसै छोडियो। कारबाहीको साटो जनरल स्टोरका सञ्चालकलाई पसल सुधार गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएर फर्कियो।

नेपालगन्ज उपमहानगरपालिका–२०, राँझाकै मनप्रसाद पाठकले सञ्चालन गरेको न्यू भेरी मिट सप्लायर्सबाट खान नमिल्ने अयोग्य ३ किलो कुखुराको मासु पनि अनुगमन टोलीले जफत गर्‍यो, तर निर्देशन मात्र दिएर फर्कियो। सोही टोलीले सिद्धबाबा पोल्ट्री एण्ड फिड सप्लायर्सबाट साढे ५ किलो ब्रोइलर कुखुराको गन्हाउने मासु पनि जफत गरेको छ। उक्त पसललाई समेत ७ दिनभित्र पसल सुधार गरेर वाणिज्य कार्यालयमा उपस्थित हुन निर्देशन दिएर सहायक प्रमुख जिल्ला अधिकारीको टोली फर्किएको जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक वेदबहादुर केसीले बताए।

समितिका सदस्यका कारण उपभोक्ता ऐन निष्क्रिय

संयुक्त जिल्ला अनुगमन टोलीले नियमनका लागि पटक–पटक मासु तथा मासुजन्य पसलको अनुगमन गर्दै आएको छ। तर अनुगमनका क्रममा मानव स्वास्थ्यलाई हानी पुर्‍याउने गुणस्तरहीन मासु फेला पार्दासमेत कारवाही अगाडि बढाउन नसकेको उपभोक्ताको गुनासो छ। अनुगमन समितिले ठूलै त्रुटी फेला पार्दासमेत कानूनी कारवाही नगर्दा गल्ती गर्नेलाई प्रोत्साहन भइरहेको अधिवक्ता बसन्त गौतमले बताए।

उनले उपभोक्ताको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यवस्तु बिक्री गर्नेलाई उपभोक्ता संरक्षण ऐन र कालो वजारी गरेको पाइए कालोबजारी ऐन अनुसार कारवाही गर्न सकिने कानूनी प्रावधान भएको बताए। ‘गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई कानुन अनुसार कारवाहीको दायरामा ल्याउन सक्नुपर्थ्यो, अहिलेसम्म कानुनी कारबाही भएको देखिदैन,’ उनले भने।

कानून विपरीत ब्यवसाय गर्नेलाई कारबाही हुन्छः सहायक प्रजिअ

नियमित अनुगमन गरेपछि मासु बिक्री वितरणमा केही सुधार आएको जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. वेदबहादुर केसीले बताए। उनले भर्खरै ब्यवसाय सञ्चालन गरेकाहरुको ब्यवसाय नै धरापमा पर्ने भएकोले चेतावनी दिएर छोडिने गरेको बताए। ‘एउटा अचानो र खुकुरी राखेर ब्यवसाय सञ्चालन गरेका हुन्छन्, त्यस्तालाई कानुनी कारवाही गर्दा अन्याय हुन्छ जस्तो लाग्छ,’ उनले भने। 

तर  जिल्ला अनुगमन समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले मानव स्वास्थ्यमा असर पार्ने गरी ब्यवसाय गर्नेलाई कारवाही गरेरै छाड्ने बताए।

पहिले जे जस्तो भए पनि अब सर्वसाधारणलाई ठगेर ब्यापार गर्ने, मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने गरी सडेगलेका र कुहिएको मासु बिक्री वितरण गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने लामिछानेले प्रतिवद्धता जनाए। ‘ब्यक्तिले ब्यापार ब्यवसाय निर्धक्कका साथ कुनै बाधा ब्यवधान विना ब्यवसाय गर्न पाउनु पर्छ, तर मानव स्वास्थ्यमा असर गर्ने गरी ब्यवसाय सञ्चालन गर्ने छुट कसैलाई छैन,’ उनले भने।

कुहिएको मासु बेच्ने फ्रेस हाउस सिल

कारवाहीको लागि अनुगमनका क्रममा बरामद भएको २ सय ५० ग्राम ब्रोइलर कुखुराको मासु परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी दिए। उनले दर्ता बिना सञ्चालनमा रहेको राँझास्थित अदनसिंह थापाले सञ्चालन गरेको फ्रेस हाउस सिल गरिएको बताए। थापाले कर्णाली अञ्चलमा मासु सप्लाई गर्दै आएका थिए। उक्त फ्रेस हाउसले हुम्लामा अनुमति लिएर नेपालगन्जमा कारोबार गर्दै आएको फेला परेको उनले बताए।

फ्रेस हाउसमा गुणस्तरहीन मासु फेला परेपछि अनुगमन टोलीले राँझामा रहेको प्रविन कोल्ड स्टोर, आरपी मिठाई पसलबाट गुणस्तरहिन काला जामुन बरामद गरेको छ। पसलमा फोहर भेटिएको र सरसफाइमा ध्यान दिएर ब्यवसाय सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.