सप्तरीका १६ मतदान केन्द्र खुला स्थानमा

|
फाइल फोटो

लहान : राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीमा खुल्ला स्थानमा राखिएका  १६ मतदान केन्द्रलाई तत्काल उचित व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ।

आयुक्त सुदिप पाठकले सिरहाको लहानमा पत्रकारहरुसँग कुरा गर्दै सप्तरीमा १६ वटा मतदान केन्द्र खुला ठाउँमा रहेकाले त्यहाँ कम्तीमा टेन्टको व्यवस्था गर्न आग्रह गरेका हुन्। ‘मानवअधिकारको दृष्टिकोणले खुल्ला ठाउँमा राखिएको मतदान केन्द्र स्वीकार्न सकिदैन’ आयुक्त पाठकले भने ।

प्रमुख आयुक्तले मत हाल्ने केन्द्र नै जलमग्न

पत्रकारहरुसँगको कुराकानीको क्रममा आयुक्त पाठकले निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले मतदान गर्ने केन्द्रमा नै साढे तीन फिट पानी जमेको पाइएको जानकारी दिए। प्रमुख आयुक्त डा. यादवको नाम रहेको सप्तरीको राजविराज नगरपालिका ९ स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा अहिले पनि साढे तीन फिट पानी जमेकाले तत्काल अर्को ठाउँमा केन्द्र स्थानान्तरण गर्नुपर्ने उनले बताए।

‘त्यस्तो ठाउँमा मतदाताहरु भयरहित ढङ्गले मतदान गर्न जान पाउँदैनन्, त्यसैले मतदाताहरुले भयरहित वातावरणमा मतदान गर्ने वातावरणको सिर्जना गर्न पनि मतदान केन्द्र स्थानान्तरण गर्न जरुरी छ’ उनले भने ।

त्यसका साथै पछिल्लो वर्षात् र बाढीले भत्काएका र बिग्रिएका बाटो तत्काल मर्मत गरी मतदाताहरुलाई सहज रुपले मतदान केन्द्रसम्म पुग्ने वातावरण निर्माण गर्न स्थानीय प्रशासनलाई आयुक्त पाठकले आग्रह गरेका छन्।

मतदाता शिक्षा प्रभावकारी भएन

पहिलो पल्ट हुन लागेको स्थानीय तह निर्वाचनमा मत हाल्ने तरिका, मतपत्रका नमूना, मतपत्रलाई पट्याउने तरिका लगायतका विषयमा अझै बहुसंख्यक मतदाताहरु अनभिज्ञ रहेको पाइएको आयुक्त पाठकले बताए। ‘मतदानको दिन बदर मत प्रतिशत घटाउन पनि मतदाता शिक्षालाई मौन अवधि शुरु नहुञ्जले सक्दो प्रभावकारी बनाउन आवश्यक देखिएको छ’ उनले भने।

बालबालिकाको प्रयोग चिन्ताको विषय

पत्रकारसँगको कुराकानीमा आयुक्त पाठकले निर्वाचनको प्रचार प्रसारको क्रममा बालबालिकाको प्रयोग आचारसंहिता उल्लङ्घनभित्र पर्ने भएकाले तत्काल राजनीतिक दलहरुलाई त्यसप्रति सजग हुन आग्रह गरे। चुनाव प्रचार प्रसारको क्रममा यो पल्ट सम्भव नभए पनि निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनको प्रचार प्रसारमा भारतीय सवारी साधन, टिसर्ट, टोपीको प्रयोगलाई कडाईका साथ बन्द गर्नुपर्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.