|

काठमाडौँ: नाकमा समस्या देखापरेपछि गत शनिबार काठमाडौँको ओम अस्पतालमा भर्ना भएकी गुल्मी मदाने गाउँपालिका- ४ की कमला भट्टराईको उपचारका क्रममा मृत्यु भएपछि उक्त अस्पतालको आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिएको छ। भट्टराईको मृत्युपछि उत्पन्न असहज परिस्थितिका कारण अस्पतालका सेवा बन्द गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ।

डाक्टरले पिनास बिग्रिएको भन्दै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी शल्यक्रियाका लागि तयार भएकी थिइन्। उनलाई तीन दिनमै घर फर्कन सक्ने पनि डाक्टरले बताएका थिए।

सोही शल्यक्रियाका कारण मंगलबार राती नै उनको मृत्यु भएपछि परिवार तथा आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै बुधबार दिउँसो अस्पताल परिसरमा नाराबाजी गरेका थिए।

गत शनिबार नाकको शल्यक्रियाको क्रममा गलत औषधि चलाउँदा भट्टराईको मृत्यु भएको आफन्तको आरोप छ। मृतकका आफन्तले अपरेसन गर्दाको भिडियो देखाउनुपर्ने, अपरेसन गर्ने डाक्टरले माफी माग्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। अस्पतालले भने बिरामी डिस्चार्ज हुने समयमा अचानक हृदयाघात भएर मृत्यु भएको दाबी गरेको छ।

मृतक भट्टराई अहेव हुन्। उनका एक छोरा र एक छोरी रहेका पारिवारिक स्रोतले जानकारी दिएको छ।

यसै घटनालाई लिएर अस्पताल र पीडित पक्षबीच बुधबार दिउँसो भएको वार्तामा सहमति हुन नसकेपछि स्वास्थ्य मन्त्रालयका टोलीसहित पुन: वार्तामा बस्ने भनिएअनुसार बिहीबार वार्ता भइरहेको छ। सरकारका तर्फबाट वीर अस्पतालका चिकित्सक डा. ढुण्डीराज पौडेल वार्तामा सहभागी छन्। उनले घटनाको सत्यतथ्य छानविन गरी चाँडै सार्वजनिक गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.