|

झापा: बहुप्रतिक्षित चलचित्र ‘छक्का–पञ्जा २’को प्रचार प्रसारमा चलचित्र निर्माण युनिट पूर्व आइपुगेको छ।

असोज ११ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्रको युनिट प्रचार प्रसारका लागि पूर्व आइपुगेको हो। चलचित्र युनिटले बिहीबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै ‘छक्का–पञ्जा’ले जस्तै ‘छक्का–पञ्जा २’ ले पनि सफलता हात पार्ने बताएको हो।

‘वडा नम्बर ६’, ‘६ एकान ६’ र ‘छक्का पञ्जा’को सफतापछि आफूहरूले ‘छक्का–पञ्जा २’ ल्याएको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले बताइन्। उनले यो चलचित्र पहिलाको भन्दा फरक भएको बताइन् । उनले भनिन्, ‘पहिलाको चलचित्र छक्का–पञ्जाभन्दा फरक विषयवस्तु छ, हलमा गएका दर्शकलाई चलचित्रले निराश हुन दिँदैन, चलचित्रले दर्शक हँसाउँछ।’

पत्रकार सम्मेलनमा बोल्दै निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र युवाको कथामा आधारित रहेको सामाजिक विषयवस्तु बोकेको बताए । यो चलचित्र एक कारोड ५० लाख रुपैयाँको लगानीमा निर्माण भएको उनले बताए।

फरक प्रसंगमा गिरीले आफूहरूले सुदूरपश्चिमका आवाजलाई उठाउने गरेको बताए। उनले भने, ‘पूर्वमा त मानिसहरूको पहुँच पुगेकै छ, पश्चिमका जनता अझै पिछडिएका छन्, उनीहरूको आवाजलाई चलचित्रमा उठाउने प्रयास गरेका छौँ।’

‘छक्का–पञ्जा २’ ‘छक्का–पञ्जा’ चलचित्रको विषयवस्तुमा नबनेको उनले स्पष्ट पारे। उनले भने, ‘नामका रूपमा सिक्वेल भए पनि विषयवस्तुमा फरक छ, तर कहीँकहीँचाहिँ छक्का–पञ्जाको झल्को आउँछ।’

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले छक्का–पञ्जा चलचित्रपछि बनेका चलचित्रले सफलता पाउन थालेको बताए । उनले भने, ‘हामीले गर्दा चलचित्र चलेको भन्ने होइन तर चलचित्र चल्नलाई हिन्दीको कपी गरेर हुँदैन, मौलिक चलचित्र बनाएमा चल्छ भन्ने सन्देश हो।’ उनले चलचित्रमा पुराना शब्द र लोक भाकालाई गीत बनाएर समावेश गर्दा पनि सफलता हात परेको बताए ।

अभिनेतृ प्रियंका कार्कीले ‘छक्का–पञ्जा’भन्दा यसमा राम्रो भूमिका रहेको र दर्शकले मनोरञ्जन लिने बताइन्। उनले भनिन्, ‘ट्रेलरमा मेरा डाइलगहरू नराखिनुको कारण पनि फिल्म सस्पेण्ड छ भन्ने नै हो, तर फरक र राम्रो भूमिकामा छु।’

पत्रकार सम्मेलनमा दीपकराज गिरी, जीतु नेपाल, वर्षा राउत, दीपाश्री निरौला, केदार घिमिरे, स्वरूप पुरुष ढकालको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.