|

  • गोविन्द महतो-

जनकपुरधाम : धनुषा लगायत प्रदेश नम्बर २ का जिल्लामा असोज २ गते हुने स्थानीय तह चुनाव प्रचार प्रसार र सुरक्षामा भारतीय नम्बरका गाडीको व्यापक प्रयोग भएको छ। नेपाली नम्बरका गाडी भन्दा धेरै सस्तो दरमा भाडामा पाइने भारतीय नम्बरका गाडी उम्मेदवार र सुरक्षाकर्मी दुवैले प्रयोग गरेका छन्।

भन्सार तिरेर मात्रै भारतीय नम्बरको गाडी प्रयोग गर्न पाउने नियम रहे पनि नेता र सुरक्षाकर्मीले नियम अनुसार भन्सारमा राजस्व समेत बुझाएका छैनन्। चुनावमा प्रयोग हुने गाडीको सुरक्षा जाँच पनि खासै नहुने भएकाले प्रयोगकर्ताले भन्सार सजिलै छलेका छन्। यस्ता गाडी भाडामा उपलब्ध गराउँदै आएका जनकपुरका दीपक झा भारतको सीमावर्ती शहरबाट गाडीहरु मगाइने गरेको बताउँछन्।

जनकपुर भन्सार कार्यालय प्रमुख हेमचन्द्र शर्माले पार्टीको प्रचार प्रसारमा प्रयोग भइरहेका सबै गाडीले भन्सार तिरे वा नतिरहेको आफूहरुले चेकजाँच गर्न नसकेको बताउँछन्। उनी भन्छन् 'नेपाली भन्दा भारतीय गाडीको भाडा सस्तो हुने भएकोले प्रचार प्रसारमा बढीजसो भारतीय नम्बरका गाडीको माग धेरै छ।'

तेस्रो चरणमा हुन लागेको प्रदेश नम्बर २ को स्थानीय तहको निवाचनमा आठवटै जिल्लाका सिमाना भारतसँग जोडिएको छ। खुला सीमाका कारण भारतीय नम्बरका गाडी ल्याउन सहज पनि हुने भएकोले भारतीय गाडीको प्रयोग बढेको प्रमुख शर्माको बुझाइ छ। भन्सार कार्यालय रहेको ठाउँ बाहेक अर्को बाटोबाट गाडी ल्याएर प्रयोगकर्ताले भन्सार छल्ने गरेका छन्।

भारतीय नम्बरको गाडी एक रात नेपालमा रहँदा ४ सय ५२ रुपैयाँ भन्सार तिर्नुपर्ने हुन्छ। तर अधिकांश गाडीलाई भन्सार कार्यालयले नै दैनिक छुटपुर्जी उपलब्ध गराउँदै आएको स्रोत बताउँछ। धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण चापागाई चुनावको बेलामा नेपाली गाडी अपुग हुने भएकाले भारतीय गाडीको प्रयोग बाध्यताजस्तै बनेको छ। 'गस्तीका लागि भारतीय नम्बरका गाडी प्रयोग गर्न नपाइने हो तर, निर्वाचनको समयमा नेपाली नम्बर प्लेटका गाडी उपलब्ध नभएमा भारतीय नम्बरका लिनपर्ने बाध्यता छ।'

भन्सार र प्रहरी कार्यालयहरुमा समेत त्यस्ता गाडीहरु दर्ता नगरिएकाले सुरक्षा चुनौती पनि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले बताए।

नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोग लगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ। प्रदेश नं २ का ८ जिल्लामा एक महानगरपालिका, तीन उप–महानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.