काठमाडौँ: केही समयअघि ‘जन्मजात बाहुनको विज्ञप्ति’ शीर्षकको कविता नेपाली साहित्यिक क्षेत्रमा निकै चर्चाको विषय बन्यो। देशमा चलिरहेको पहिचानको लडाइँ, जातीय अधिकारको लडाइँ र संक्रमणकालीन राजनीतिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक परिवेशमा उक्त कविताले शीर्षककै कारण पनि चर्चा पाउनु अन्यथा थिएन।
अढाई दशकदेखि कविताकर्ममा सक्रिय प्रोल्लास सिन्धुलीयको उक्त कविता सार्वजनिक भएपछि अथवा विभिन्न साहित्यिक कार्यक्रममा वाचन गरिएपछि उनीप्रति सकारात्मक र नकारात्मक सोच राख्नेहरू देखिए, जुन स्वाभाविक प्रतिक्रिया ठान्छन् प्रोल्लास। तर यस कविताबारेका केही सन्दर्भ भने निकै रोचक लाग्न सक्छन् हामीलाई।
यो कविता प्रोल्लासले त्यही परिवेशमा लेखे, जुनबेला नेपाल सबै प्रकारका संक्रमणबाट गुज्रिरहेको थियो। नेपाली–नेपालीबीच जातीय र राजनीतिक दुवै रूपले विभाजनको रेखा कोर्ने प्रयत्न भइरहेको थियो, आन्तरिक र बाह्य दुवै पक्षबाट। वर्षौंदेखि भाइचारा र बन्धुत्वको सम्बन्धमा बाँधिएर बसेका नेपालीबीच वैरभाव जगाउने प्रयास भइरहेको थियो। कतिपय अवस्थामा, कतिपय स्थानमा हिंसाका घटनाहरू भइरहेका थिए। यी सबै देखे, सुने र कतिपय घटनाको अनुभव स्वयंले नै गरेपछि कवि हृदय विचलित बन्यो। उनले सोचे, आखिर कोही कुनै कुल वा वंश वा जातमा जन्मिनुमा उसको दोष के? कोही कुनै जात वा वंशमा जन्मन्छ, कोही कुनैमा। आखिर मान्छे त मान्छे नै हो जहाँ जन्मिए पनि।
यही सोच उनका कवितामा उनियो। शीर्षकमा ‘बाहुन’ शब्द परे पनि वा कवितामा बाहुनलाई केन्द्रमा राखिएको भए पनि यो कविता समग्र मानवको आवाज भएको उनको भनाइ छ। उनी यस कवितामा कसैलाई गाली गलौज गर्ने आशय नभएको, कुनै जात वा वर्गलाई होच्याउने नियत नरहेको बताउँछन्। ‘जुनसुकै जातमा पनि शोषित र शोषक वर्ग छन्’, प्रोल्लास भन्छन्, ‘ती वर्गको आवाज दिने प्रयास मात्र गरेको हुँ यस कवितामा।’
उनले तीन वर्षअघि यो कविता लेखेका थिए। पहिलो पटक त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा यो कविता वाचन गरे उनले। त्यहाँ सामान्य प्रतिक्रिया प्राप्त भयो रे! त्यसपछि अन्य केही गोष्ठीहरूमा वाचन गरेपछि यो कविता छाप्न कुनै पत्रिका र त्यसका सम्पादकले आँट गरेनन् रे! प्रष्ट भने रे, ‘हामी यस्तो रचना छाप्न सक्दैनौँ।’ कारण, त्यस बेलाको नेपाली समाजको विचलित अवस्था, राजनीतिक अस्थिरता र संक्रमणकालीन परिवेश।
‘बाहुनवादको वकालत गरेको कविता भन्ने लाग्यो होला सायद सम्पादकहरूलाई’, प्रोल्लास भन्छन्, ‘निकै लामो समय यो कविता प्रकाशनमा आउन सकेन।’ तर ‘शारदा’ साहित्यिक पत्रिकाले उनको यो कविता छाप्यो। त्यसपछि अझ चर्कियो यस कवितामाथिको बहस।
कतिपयले बाहुनवादको विज्ञप्ति भनेको, कतिपयले जातीय/पहिचानको आन्दोलनको ‘काउण्टर’मा लेखेको कविता भनेको तर कविताको भित्री आसयमा चाहिँ कोही नपुगेको/पुग्न नचाहेको उनी बताउँछन्। कविताले शीर्षकमा जे भनेको छ, कवितामा त्यति मात्र नभनेको उनको भनाइ छ। ‘शीर्षक मात्र पढ्नेलाई यस्तो लाग्नु स्वाभाविक हो’, प्रोल्लास भन्छन्, ‘कविता पूरै पढिसकेपछि हरेक पाठकले बुझ्नुहुनेछ कि यो कविता जातीय हिसाबले होइन, वर्गीय हिसाबले लेखिएको छ।’
त्यसो त उनले पनि आम नेपालीले जस्तै विगतका आन्दोलन र द्वन्द्वको पीडा भोगे, अनुभव गरे। त्यसको केही अंश पक्कै उनका सिर्जनामा आएको हुनुपर्छ। ‘हो, स्वाभाविक रूपमा आएको छ’, प्रोल्लास भन्छन्, ‘तर आग्रहका रूपमा नभएर अनुभवका रूपमा मात्र।’ उनले आफूले भोगेको पीडालाई आक्रोश वा प्रतिकारका रूपमा व्यक्त गर्न नचाहेको तर शान्त, सौहार्द र समुन्नत नेपाली समाजको चाहना भने गरिरहेको बताए।
यही भएर आफ्ना सिर्जनामा समाज लेखेको उनी बताउँछन्। ‘समकालीन समाज लेख्दा समाजमा हुने हरेक क्रियाकलाप र घटना, परिवेश आउनु अन्यथा हो जस्तो लाग्दैन’, प्रोल्लास भन्छन्, ‘यो कवितामा पनि तात्कालीन समाज नै आएको छ, त्यही परिवेश नै आएको छ, नकारात्मक नभएर सकारात्मक रूपमा।’
यो कविता सार्वजनिक भएपछि उनलाई निकै सकारात्मक प्रतिक्रिया पनि आए। सामाजिक सञ्जालहरूमा यो कविताका हरफहरू निकै टाँसिए। निकै चर्चित बन्यो कविता विस्तारै। कतिपयका जिब्रोमा यस कविताका हरफहरू झुण्डिए। यसै कारण आफ्नो नयाँ कविताकृतिको नाम पनि जुराए यसै कविताबाट– 'जन्मजात बाहुनको विज्ञप्ति।'
पढ्नुहोस् पूरा कविता
जन्मजात बाहुनको विज्ञप्ति
नाकै थेप्चिने गरी
कसैले चोर औँलाले ठेलेदेखिन
दिमाग रन्थन्याएर सोचिरहेछु-
एउटै बेन्चमा राखेर मास्टरले
मलाई मात्र बाठो बनाउने गरी
कुन पुस्तक पढाए होलान् त्यतिबेला?
मैले पुर्ख्यौली छाला बेचेर
हालेको होइन यो चुच्चो नाक
कसैले जन्मदिनको उपहार स्वरूप
दिएका होइनन् यी बल्ड्याङ्ग्रे आँखा
टेलिभिजनको आकर्षक विज्ञापनको स्याम्पु घसेर
उम्रिएका होइनन् यी दाह्री-जुँगा
उसैको थप्रिङमा पलेँटी मारेर
उसकै बटुकोको छ्याङ सिनित्त पिएको छु मैले
दाँत दुखुन्जेल
उसकै भागको सुकुटी चपाएको छु
ऊ जस्तै बनेर
उसको बाको काखमा निदाएको छु
उसलाई सोध्दै नसोधी
उसकी आमाको दूध पिएको छु मैले पनि।
कुखुराको चल्ला जस्तो प्याट्ट
बोक्रा फुटालेर निस्किएको होइन म पनि
टुक्रुक्क खसेर आकाशबाट
टुकुटुकु हिँडेको पनि होइन
मैले लडिबुडी खेलेको माटो
र उसको बारीको कान्लो उस्तै छ
एउटै वायुमण्डलले श्वास धानेको छ
उसको पनि र मेरो पनि
नौ महिना
उसकी आमा जस्तै आइमाईको
कोखको गुप्तवास झेलेकै हुँ मैले पनि
किन बाहुन जन्मिएँ?
किन मेरो नाक थेप्चिएन?
किन मेरा आँखा चिम्सिएनन्?
किन अचेल ऊ आफूलाई लाटोसुधो ठान्छ
अनि मलाई धूर्त–चण्डाल मान्छ?
केही थाहा छैन मलाई।
ऊ र म भएरै यो देश भएको हो
उसले र मैले मानिदिउन्जेल
यी ढुङ्गा र माटाका साँध–सिमाना रहन्छन्
यो ‘राज्य’ भन्ने भाँडो रहन्छ।
उसले कैयनचोटि ‘काठो’ भनेको छ मलाई
मैले कैयनचोटि ‘भोटे’ भनेको छु उसलाई
ऊ रिसाउने भए उतिबेलै रिसाउँथ्यो।
उसकी आमाले तेल घसेका यी हातले
उसका बाको औँला समातेर
उसकै आँगनमा युगौँ हिँडेको छ यो बाहुन
उसले आफ्नै बासँग सोध्नुपर्थ्यो-
'तिम्ले ताते गर्न सिकाएको
कान्छा बाहुनको खुट्टा भाँच्नु छ बा!
भाँचौँ कि नभाँचौँ?'
सोध्नुपर्थ्यो आमासँग-
'तिम्ले मेथी झानेको तेल घसेर
बलियो बनाएको बाहुनको बच्चोको
करङ खुस्काउनु छ आमा!
खुस्काऊँ कि नखुस्काऊँ?'
उसको बाको युगीन सद्भाव
उस्तै छ मेरो शिरमाथि
उसकी आमाको पुस्तैनी ममता
सराबरी छ मेरो मातृत्वसँग
यो चुच्चो नाक देखापर्यो भने आँगनमा
आफ्नै भाग कटाएर मेरा लागि
भाग हालिदिने चलन अझै छ उसको घरमा।
कहिल्यै ‘कुनै जातको हुन नसकेको’
यो चुच्चो नाकमुन्तिरको एउटा मन
र, यी बल्ड्याङ्ग्रे आँखापछाडिको
एक थुप्रो ‘अजातीय’ मथिङ्गल बोकेर
पुस्तौँदेखि उभिएको उभियै छु।
ओ महाशय!
सक्छौ भने म जस्तो जन्मजात बाहुनको
‘विचार’लाई
‘बाहुन’ बनाएर देखाऊ!
००
(सिन्धुलीयको नयाँ कवितासंग्रह 'जन्मजात बाहुनको विज्ञप्ति' भदौ ३१ गते शनिबार सर्वनाम थिएटर डिल्लीबजारमा विमोचन हुँदै छ।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।