|

  • सौगात श्रेष्ठ

बर्दिया : जिल्लाका विभिन्न ठाउँमा भएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक करोडौं रुपैयाँ नोक्सान हुने गरेको छ। विद्युत् चोरीलगायतका प्राधिकरणले बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपरेको हो।

बर्दियामा २० प्रतिशतभन्दा धेरै विद्युत् प्राविधिक चुहावट हुने गरेको नेपाल विद्युत् प्राधिकरण गुलरिया वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले जानकारी दिए। 
जिल्लामा विद्युत् चोरीबाट ३९ प्रतिशतसम्म विद्युत् चुहावट हुने गरेको छ। तर यो वर्ष भदौमा ३१ प्रतिशत मात्र चुहावट भएको वितरण केन्द्र गुलरियाले जनाएको छ। चुहावट नियन्त्रणमा प्राधिकरणले केही सफलता हासिल गरे पनि प्राविधिक चुहावट नियन्त्रण नहुँदा करोडौं रुपैयाँ नोक्सानी कायमै छ।

आर्थिक वर्ष २०७२\७३ मा नौ करोड ६१ लाख रुपैयाँ विद्युत् चुहावटबाट प्राधिकरणलाई नोक्सानी भएको प्राधिकरणले जनाएको छ। गत वर्षमा एक करोड ६४ लाख ७० हजार युनिट चुहावट भएको थियो। यो कुल प्राप्त विद्युत् युनिटमध्ये ३९ प्रतिशत हो। यसमध्ये विद्युत् चोरी कारबाहीबाट १२ लाख रुपैयाँ रकम असुली भएको थियो।

आर्थिक वर्ष २०७३\७४ मा १० करोड दुई लाख रुपैयाँ नोक्सानी भएको गुलरिया वितरण केन्द्रका प्रमुख गुप्ताले बताए। विद्युत् प्राधिकरण गुलरिया वितरण केन्द्रबाट गत आर्थिक वर्षमा एक करोड ७१ लाख ७० हजार युनिट विद्युत् चुहावट भएको थियो। गुलरिया केन्द्रले प्राप्त गरेको युनिटको ३५ प्रतिशत चुहावट भएको जनाइएको छ। 

गत आर्थिक वर्षमा ‘हुकिङ’ गर्ने तीन सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको गुप्ताले जानकारी दिए। सिँचाइ सुविधा अपर्याप्त भएका कारण पनी बर्दियामा पानीका लागि बढी विद्युत् चोरी हुने गरेको अनुमान गरिएको छ। बर्दियाको बाँसगढी, राजापुर, मधुवन, गुलरिया, भुरिगाउँ, बगनाहा लगायत स्थानमा व्यापक मात्रामा विद्युत् चोरी हुने गरेको गुप्ताले बताए। बर्दियाका विभिन्न स्थानमा अझै पनि विद्युत् चोरी हुने गरेको प्राधिकरणले जनाएको छ।

यसैबीच बर्दियाको भुरीगाउँ बजारनजिक बलातीमा निमार्ण कार्य सकिएको भुरीगाउँ विद्युत सब स्टेशनबाट परीक्षणस्वरुप विद्युत सेवा दिइएको छ। केही दिनसम्मको परीक्षणकाल अवधिभर भुरीगाउँ सब स्टेशनमा कुनै प्राविधिक समस्या नआए शनिबारदेखि विद्युत् सेवा नियमित हुने केन्द्रले जनाएको छ।

बाँकेको कोहलपुर हुँदै बर्दियाको सदरमुकाम गुलरियाबाट निकुञ्ज फिडर अन्र्तगत सानोश्री, बगनाहा हुँदै भुरीगाउँ ठाकुरद्वारातर्फ आउने विद्युत् लाइनमा अत्याधिक लोडसेडिङ, लो भोल्टेज र सडक किनारमा रुखका हाँगा खस्दा तार चुँडिने समस्याका कारण सहज रूपमा विद्युत् प्रयोग गर्न नपाउने समस्या रहेको थियो। यसका कारण पनि चुहावट बढेको गुप्ताको भनाइ छ। भुरिगाउँ सब स्टेशन निर्माण भएसँगै चुहावट कम हुने उनको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.