|

  • गोविन्द उपाध्याय-

अजेयराज सुमार्गी नेपालका प्रसिद्ध उद्योगपति हुन्। उनको जीवनी पढेपछि र लन्डनमा उनले आफ्नो जीवनी विमोचन गर्दै गर्दा त्यहाँ र नेपालका मिडियाहरूको आलोचनात्मक दृष्टिकोण पढेपछि त्यसविषयमा केही लेख्न मन लाग्यो। नेपालमा सञ्‍चालित ८० प्रतिशत भारतीयहरू उद्योगहरूमा भारतीयहरूको दबदबा रहेको छ।

अजेयराज केही नेपाली उद्योगीमध्ये एक हुन् जसले अनेकौं व्यवधानहरू सहेर उद्योग चलाइरहेका छन्। उनका सकारात्मक पक्षहरूमा पनि हामी नेपालीले बहस गर्न जरुरी छ। काम गर्नेहरूले गल्ती गर्छन् तर काम नगर्नेहरू अर्काको गल्ती र कमजोरी मात्रै खोजेर हिँड्छन्। अजेयराजको व्यापार देख्ने तर उनले त्यो आर्जन गर्ने गरेको परिश्रम नदेख्ने धेरै छन्।

अजेयराज यस्ता नेपाली उद्योगी हुन्, जसको नेपालीहरूले नै सबैभन्दा बढी आलोचना गरेको सुनिन्छ र पढिन्छ पनि। उनी केवल आलोचनाका मात्र पात्र हुन् जस्तो मलाई पटक्कै लाग्दैन। यदि केवल आलोचनाका मात्र पात्र हुन्थे भने उनी नेपालका स्थापित उद्योगपति बन्न सक्ने थिएनन् वा आफ्नो पुँजी लिएर भारत वा विश्वको जुनसुकै देशमा गएर उद्योग सञ्‍चालन गर्न सक्थे। यदि अजेयराजले जानाजान लुकाउने/छिपाउने काम गरेका छन् भने त्यसको लेखाजोखा गरेर दण्डदिने काम न्यायालयको हो तर, नेपाली समाजमा पत्रकारहरूले तुरुन्त फैसला सुनाउँछन्।

यसले नेपाल र नेपालीलाई माया गर्ने र नेपालमा उद्योग गर्न चाहने नेपाली उद्योगीहरू हतोत्साहित हुन्छन्। मैले उनलाई चिनेको छु तर, उनले मलाई चिन्न जरुरी छैन। उनको जीवन उनको आफ्नै हो। उनको कर्म उनको आफ्नै हो। मैले उनले नेपालको सांस्कृतिक, धार्मिक तथा वैदिक संस्कृतिको रक्षाको लागि उदारतापूर्वक कामहरू देखेको छु।

पशुपतिक्षेत्रमा निर्मित सुमार्गी-सभागर सबैको लागि उपहार बनेको छ। यसबाट आलोचकहरूले पनि लाभ लिएकै छन्। मैले उनका भाषण सुनेको छु। उनको चिन्तन तथा क्रियाकलापमा एकरुपता देखिन्छ। उनी वैदिक संस्कृतिका विनम्र अनुयायी हुन्। हालै प्रकाशित 'अजेयराज सुमार्गी'मा उनको पारिवारिक र जीवनको केही समीक्षा गरिएको छ। उनले हालै लन्डनमा आफ्नो जीवनीको विमोचन गरेका छन्। यस विषयमा पनि नेपाल र बेलायतबाट सञ्‍चालित मिडियाहरूले उनको आलोचना मात्र गरेको पढ्दा दिक्क लाग्यो। उनी जेजस्तो भए पनि नेपाली उद्योगपति हुन्।

लन्डनमा पुगेर उद्योगपतिका रूपमा आफ्नो जीवनी सार्वजनिक गर्ने क्षमता राख्छन्। यो हैसियतमा पुगेका नेपाली उद्योगपति औंलामा गन्न सकिने छैनन् र? असलमा, अजेयराज यस्ता भाग्यमानी नेपाली उद्योगपति हुन्, जुन धेरैजसो आफ्नै नेपालीहरूबाट आलोचित भइरहन्छन्। तर, उनले आफ्नो उद्योगको धर्म र मर्म छोड्दैन् बरू अरू नेपालीहरूलाई पनि उद्योगी बन्न प्रेरित गर्छन्।

उनको जीवनी रोचक छ, यो पढेपछि मिडियाहरूका माध्यमबाट निर्मित धारणामा परिवर्तन हुन्छ। उनले गरेका संघर्षका पाना खुल्छन्। बुझाई आफ्नो-आफ्नो हो तर, नेपाललाई माया गर्ने एउटा नेपाली उद्योगीका विषयमा केवल नकारात्मक धारणा मात्र बनाउनुको मैले औचित्य ठान्दिनँ। मैले त यत्ति भन्छु, 'नेपालमा धेरै अजेयराजहरू जन्मिनुपर्छ। जसले नेपालमा उद्योगको कल्चर स्थापित होस्।

नेपालीहरूले आफ्नो क्षमतामा विश्वास गर्न सकून्।' नेपालीहरूका लागि नेपालीहरूले चलाएको उद्योगभन्दा राम्रो केही हुँदैन। उनी नेपालीलाई माया गर्ने उद्योगी हुन्। मैले 'अजेयराज सुमार्गी' पढेपछि सही योजना, निर्णय गर्ने क्षमता, दृढ संकल्प शक्ति तथा निरन्तरताले जोसुकै स्थापित उद्योगपति हुनसक्छ भन्ने निर्णय गरें। उनमा थाहा आन्दोलनका प्रवर्तक रूपचन्द्र विष्टको कति गहिरो प्रभाव रहेछ, त्यसबाट पनि अचम्भित बनें। मलाई, रूपचन्द्र विष्ट र उनको आन्दोलन तथा उनको साहित्य, दार्शनिक सोचका विषयमा अनुसन्धान गर्न मन लाग्यो।

लेखक दर्शन शास्त्रका प्रध्यापक हुन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.