|

वासिङ्टन डिसी : अमेरिकाले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देश दिँदै नयाँ 'च्याप्टर' अर्थत् उत्पादनमूलक विकास सहकार्यबाट अघि बढ्ने जनाएको छ। नेपाल-अमेरिका सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा अहिलेसम्मकै ठूलो सहयोग घोषणा गरेलगत्तै अमेरिकी उपविदेशमन्त्रीबाट यस्तो धारणा आएको हो।

अनुदार मानिएका राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्व सरकारको यस्तो सहयोगले नेपालको राजनीतिक अवस्था र विकास प्रक्रियामा सकारात्मक सन्देश गएको छ। अमेरिकाले नेपालसँग दक्षिण एसियामा 'रणनीतिक' सारथिका रुपमा सहकार्य गर्दै आएको छ।

नेपाललाई भारतको आँखाबाट हेर्ने गरेको भन्ने टिप्पणी हुने गरेका बेला उसले एकैपटक यो स्तरको सहयोग गरेर नेपाल-अमेरिका सम्बन्ध र सहकार्य फरक शैलीमा अघि बढ्न लागेको संकेत गरेको छ।

नेपाल-अमेरिका सम्बन्ध सुमधुर र सहकार्यमूलक रहे पनि तिब्बती शरणार्थी र चिनियाँ सम्बन्धले केही तलमाथि हुने गरेको थियो।

अमेरिकी उपविदेशमन्त्री जोन जे सुलिभानले अमेरिका-नेपाल सम्बन्ध नयाँ शिराबाट अघि बढेको बताए। बिहीबार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षरको साक्षी रहेका सुलिभानले यो सम्बन्ध उपलब्धिमूलक रहने जनाए।

अमेरिकाले नेपाललाई दक्षिण एसियामा अग्रणी मुलुकको रुपमा लिँदै ५० अर्ब रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेको छ। यो अहिलेसम्मकै ठूलो अमेरिकी सहयोग हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.