जनता 'फेस्टिभ मुड'मा छन्

|

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश नम्बर २ मा सोमबार हुने निर्वाचनको प्रचार प्रसार क्रममा राजनीतिक दलहरुले पूर्ण रुपमा आचारसंहिता पालना गरेको दावी गरेका छन्। आइतबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवार र राजनीतक दलहरुले आयोगले तोकेको आचारसंहितामा रहेर प्रचारप्रसार गरेको दावी गरेका हुन्। 

प्रदेश नम्बर २ को निर्वाचन अनुगमन सकेर काठमाडौं आएका प्रमुख आयुक्त यादवले आचार संहिताको शत प्रतिशत पालना भएको दावी गरे। उनले प्रदेश नम्बर २ को अनुभव सुनाए, 'त्यहाँको निर्वाचन प्रचारप्रसारका क्रममा तुलनात्मक रुपमा 'कोड अफ कन्डक्ट हन्ड्रेड पर्सेन्ट' (आचार संहिता पालन १०० प्रतिशत) कार्यान्वयन भएको छ। सापेक्षित भएको हुनाले हन्ड्रेड प्रसेन्ट कार्यान्वयन भएको भनिएको हो।'

निर्वाचन प्रचार प्रसारका क्रममा बालबालिकाको प्रयोग भएको भन्ने समाचार आइरहेका बेला उनले केही ठाउँमा कारबाही गरेर नियन्त्रण गरिएको बताए। बाहिर आएजस्तो भोट माग्नका लागि बालबालिकाको  नभएको उनले बताए। उनले भने, 'पर्वमा जस्तो बालबालिका साइकलमा झन्डा बोकेर के के गरेर कसैको सल्लाह र निश्चित उद्देश्य बिना पनि आफै रमाइलो गर्ने गरेको देखिएको छ, त्यसैले यो लामो समयपछि भएको होली पर्व जस्तो भएको देखेको छु, पर्सादेखि विरगञ्जसम्म जाँदाखेरी।'

यादवले राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिता पालनामा ध्यान दिएको बताए। उनले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो र दोस्रो चरणमा भन्दा राम्रोसँग आचारसंहिता पालना भएको बताए। उनले भने, 'वालपेन्टिङ छैन, पर्चा-पम्पलेटहरु छैन, निर्वाचन आयोगले निर्धारण गरेको साइजको पोस्टर मात्र टाँस्नुभएको छ, कतै तुल-ब्यानर छैन।'

यो पनि पढ्नुस् : प्रमुख आयुक्त यादवको अपिल : बाढी र डुबानको पीडा बिर्सेर एक दिन राष्ट्रका लागि दिनुस्

चुनाव प्रचारप्रसारका क्रममा केही ससाना कुरा मात्रै आचारसंहिता विपरीत भएको प्रमुख आयुक्त यादवले बताए। उनले वर्षौंपछि स्थानीय तहको निर्वाचन भएकोले तराईमा चाडपर्वको जस्तो माहोल भएको बताए। उनले मतदाता मतदान गर्न आतुर रहेको देखेको बताए। उनले उत्साहपूर्वक मतदान हुने अपेक्षा व्यक्त गरे।

सुरक्षा व्यवस्थाप्रति आयोग सन्तुष्ट

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा कुनै पनि सुरक्षा चुनौती नरहेको बताए। उनले भने, 'नो सेक्युरिटी थ्रेट।' सुरक्षा निकायले गरेको तयरीबारे सनुष्ट देखिएका यादवले भने, 'जनताको लागि सुरक्षा भएको छ, मतदाताको लागि सुरक्षा भएको छ, उम्मेदवारको लागि सुरक्षा भएको छ, यो ज्यादै सन्तोषजनक भएको छ।'

उनले मतदानका बेला कुनै अवान्छित गतिविधि नहोस् भनेर सुरक्षा निकायले गरेको तयारीले मतदातालाई ढुक्क बनाएको बताए। उनले भने, 'कोही कसैबाट अवाञ्छित गतिविधि भएमा सुरक्षा निकाय त्यसलाई रोक्न तयार रहेको छ जसले मतदातालाई ढुक्क भएर मतदान गर्न दृढ बनाएको छ।' 

उनले सीमापारीबाट हुने घुसपैठलाई रोक्न पनि सुरक्षा निकाय तयार रहेको बताए। मतगणनाका क्रममा हुने सुरक्षा चुनौतीलाई सामना गर्न सुरक्षा निकाय तयार भएको उनले बताए। विगतमा मतगणनाका क्रममा देखिएका घटनालाई मध्येनजर गरेर मतगणनास्थललाई सुरक्षा दिनेबारे भएको तयारीले मतदातालाई ढुक्क भएर आफ्ना प्रतिनिधि चुन्न प्रेरित गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.