|

पर्सा\धनुषा : स्थानीय  तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सोमबार प्रदेश नं. २ का आठ जिल्लामा मतदान हुँदैछ। योसँगै नयाँ संविधानले तय गरेको संघीय संरचनाको एउटा तह (स्थानीय) को निर्वाचन सम्पन्न हुनेछ।

यसअघि वैशाख ३१ र असार १४ दुई चरणमा ६ वटा प्रदेशमा चुनाव भइसकेको छ। सोमबार हुने मतदानमा ढुक्क भएर सहभागी हुन निर्वाचन आयोगले आम मतदातामा अपिल गरेको छ।

‘सबै मतदातालाई एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक हुन र आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन म अनुरोध गर्दछु’, आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने।

मतदान बिहान सातदेखि अपराह्न पाँच बजेसम्म हुनेछ। आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरूले पनि नागरिकतालगायत परिचयपत्रका आधारमा मतदान गर्न पाउने जनाएको छ। ‘नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको परिचयपत्र वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनीप्रमाण्पत्र वा राहदानी वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका अधारमा मतदान गर्न पाइनेछ’, आयोगको निर्णयमा उल्लेख छ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइए स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था गरेको आयोगले जनाएको छ।

प्रदेश नं. २ मा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँ पालिका गरी एक सय ३६ तह छन्। सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ प्रतिनिधि निर्वाचित हुनेछन्।

यो चुनावमा ३७ हजार दुई सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये महिला १४ हजार तीन सय ७५ र पुरुष २२ हजार आठ सय ६१ छन्। आठ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.