|

  • गोविन्द महतो

जनकपुर : आज भएको तेस्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचनमा प्रदेश नं. २ मा उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ। प्रदेशको पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म भएको ८ जिल्लाको मतदानमा केही छिटफुट घटनाबाहेक अन्य शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले प्रदेश नं. २ मा ७३ प्रतिशत मत खसेको जानकारी गराएको छ।  जसमध्ये धनुषामा ७३ प्रतिशत तथा महोत्तरीमा ७३.३१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा तथा महोत्तरीले जानकारी दिएको छ।

यसैबीच हाल जनकपुर उप–महानगरपालिकाका २५ वटै वडाहरुको मत पेटिका आउने क्रम जारी रहेको छ भने आजै रातिबाट मतगणना सुरु हुने जनाइएको छ। 

स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ एवंम् दोस्रो चरणमा असार १४ गते प्रदेश नम्बर १, ५ र ७ तथा तेस्रो चरणमा आज प्रदेश नम्बर २ अन्तर्गत तराईका ८ जिल्लामा मतदान सम्पन्न भएको हो।

आज तराईका ८ जिल्लामा रहेका १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयन गर्नका लागि मतदान भयो। १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न २ हजार १६४ मतदान स्थलका ३ हजार ५ सय ७५ मतदान केन्द्रबाट जनताले मत खसाले।

सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्बर १५ मा रहेका दुई मतदान केन्द्रमा भने आज मतदान भएन। यस वडामा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडा अध्यक्षको उम्मेदवारको निधन भएका कारण मतदान सरेको छ। निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार यस वडामा असोज ५ गते मतदान हुनेछ।

निर्वाचन आयोगद्धारा धन्यवाद् ज्ञापन 

काठमाडौं : निर्वाचन आयोगले मतदान कार्य सफल बनाउन सहयोग पुर्‍याउने नेपाल सरकार,मित्र राष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समूदायप्रति धन्यवाद व्यक्त गरेको छ। 'नेपालको संविधान जारी भएपछि संविधानले व्यवस्था गरेअनुसार संघीय संरचनाको पहिलो खुट्किलोको रूपमा रहेको स्थानीय तहको निर्वाचन गराउने संवैधानिक दायित्व पूरा गर्न पाएकोमा निर्वाचन आयोग गौरव महसुस गर्दछ। तीन चरणको स्थानीय तहको निर्वाचनको कार्य सम्पन्न भएको छ,' काठमाडौंमा आयोजित पत्रकार सम्मेलनम प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने।

उनले बाढी,डुबान र कटानको समस्याका बाबजुद निर्वाचनमा उल्लेखनीय सहभागिता रहेको भन्दै खुसी व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.