विचार

मूर्ति पूजाको पक्षमा
SHARES

असोज ५, २०७४

    हरेक भौतिक चिजको नदेखिने अर्को पाटो हुन्छ। शरीरको आत्मा हुन्छ। आयु भौतिक मात्र छैन, त्यससँगै जिन्दगीका अनुभवहरू पनि जोडिएका छन्। आँखाहरू सँगसँगै सपना पनि त छन्! 

    भौतिकतामा मात्र विश्वास गर्नेहरूले संसारलाई आंशिक मात्र बुझेका छन्। भौतिकतामा विश्वास गर्नेका लागि मूर्ति पूजा केवल एक अन्धविश्वास हो। यो संसारमा आधाआधी विश्वले भगवानको अस्तित्वमाथि नै शंका गर्दछन्। जसको कुनै अस्तित्वमाथि नै यति ठूलो जमातले शंका गरेका छन्, उसैको निर्जीव मूर्तिको पूजा किन? सत्यको अर्को पाटो पनि छ, यही संसारका सबैजसो सभ्यतामा मूर्तिको प्रार्थना गरिने वा मूर्तिको पूजा गरिने प्रचलन छ। 

    वास्तवमा मूर्ति पूजालाई केवल सतही रूपमा बुझ्दा परम्परावादी सोचको काम नलाग्ने चलन भन्दा यसको कुनै मूल्य नै छैन। तर मूर्ति पूजा ढुंगाको पूजा गर्ने प्रक्रिया मात्र होइन। मूर्ति पूजा मानव मात्रमा एक प्रकारको भावको विकास गर्ने विधि हो। प्रेम, करुणा, कामना जस्तै उच्च भाव, ‘पूजा’भावको विकास गर्ने विधि हो, जसका कारण स्वकेन्द्रित मानवीय स्वभाव सजिलैसँग अरूमा केन्द्रित भई अध्यात्मिक रूपान्तरण संभव हुन्छ।

    प्रक्रियागत रूपमा मूर्ति पूजाको केन्द्र भक्त नभई भगवान हुन्छ। मूर्ति त एक मियो मात्र हो। भौतिक जगतलाई भगवानसँग जोड्ने, ज्ञातलाई अज्ञातसँग जोड्ने, सीमिततालाई अनन्तसँग जोड्ने मियो।

    हामी जहाँ उभिएका छौँ, यात्रा त्यहीँबाट सुरु गरिनुपर्छ। हामीले केवल भौतिक चिजलाई बुझेका छौँ। त्यसैले हाम्रो सन्दर्भमा भौतिक वस्तुको सहाराविना कुनै अमूर्त चिजसँग एकाकार हुन संभव छैन। मूर्तिले मूर्त र अनन्तलाई जोड्ने काम गर्छ। मूर्तिले भगवान र भक्तलाई एकाकार बनाउने मियोको काम गर्न मद्धत गर्छ। 

    भिन्न धरातलबाट एकै चिजलाई फरक फरक देखिन्छ। भौतिकवादीहरूले मूर्ति पूजामा मूर्तिलाई प्रधान देख्छन्, पूजा देख्दैनन्। तर भक्तका लागि पूजा प्रधान हो र मूर्ति गौण। पूजाका क्रममा घनीभूत रूपमा जब पूजाभावको बोध हुँदै जान्छ, तब मूर्ति गौण बन्दै जान्छ। अनि एक दिन यस्तो आउँछ, जहाँ मूर्ति विलय हुन्छ र पूजा मात्र बाँकी हुन्छ। अझै पूजा गर्दै जाँदा फेरी यस्तो दिन आउँछ, जुन बेला स्वयं पनि विलय हुन्छ र केवल अनन्त बाँकी हुन्छ। 

    मूर्ति यदि गौण हो र पूजा यदि प्रधान हो भने एउटा कौतुहल जाग्न सक्छ। किन सजीव मानिसको पूजा गरिँदैन, किन कुनै वस्तु वा प्राणीको साटो मूर्तिकै पूजा गरिन्छ त? पूजा गरिने सन्दर्भमा विशेष अवस्थामा मूर्तिको आवश्यकता नहुन सक्छ तर मूर्तिकै पूजा गरिनुमा पनि अनेक कारणहरू छन्। पहिलो त यदि कुनै अनन्तसँग साक्षात्कार भएको गुरु चिनेको छ भने गुरुको भक्ति गर्नु नै राम्रो हो तर गुरुको पूजा गर्ने सन्दर्भमा भने गुरुले पूजा अस्वीकार गर्न सक्छ।

    पूजा गरिनलायकको उपयुक्त गुरु भेट्टाउन पनि त निकै नै मुस्किल हुन्छ। यदि बुद्ध पुरुषको साटो अर्काे कसैलाई पूजा गर्दा एउटा खतरा छ, हामी सम्बद्ध मानिसको अहंलाई अझ बढाउनमा सहायक हुन सक्छौँ। तर मूर्ति पूजाका सन्दर्भमा भने यस्तो खतरा हुँदैन। हुनत हिन्दू धर्मावलम्बीहरूले प्राणी र वस्तुहरूको पूजा पनि गर्दै आएका छन् तर मूर्ति पूजा प्राणी वा वस्तुको पूजा गर्नुभन्दा लाभदायक छ।

    हामीले मान्ने गरेका हरेक भगवानका आआफ्ना विशिष्ट प्रकारका गुण वा स्वभावहरू छन्। बुद्धका र यशुका भिन्नाभिन्नै स्वभावहरू छन्। राम र कृष्णका गुणहरू आफैँमा विपरीत छन्। हामी भगवानका मूर्तिहरूको पूजा गरिरहँदा जानिनजानी ती भगवानका गुणहरूलाई सम्झिरहेका हुन्छौँ। पूजाका सन्दर्भमा सधैँ एउटै भगवानको पूजा गर्नु राम्रो हो। जब हामी बारम्बार एउटै भगवानलाई संझिरहन्छौँ, हामीले आकाशबाट त्यही भगवानमा भएको गुणधर्मका तरंगहरू ग्रहण गरिरहेका हुन्छौँ। त्यसैले पूजाका सन्दर्भमा भक्त स्वयं खुल्नु अत्यन्त आवश्यक हुन्छ।

    हामीले पूजा गरिएको भगवानका केन्द्र पनि फरक फरक छन्। बुद्ध महाकरुणाका स्रोत हुन्। यदि बुद्धको पूजा गर्नु छ भने पूजा गर्ने बेला पहिला आफ्नो हृदयमा केन्द्रित हुने अनि समग्र ऊर्जाका साथ बुद्धलाई स्मरण गर्ने र स्मृतिमा आएको बुद्धको पनि हृदयमा नै केन्द्रित हुने। यसरी केन्द्रित हुँदै गर्दा जब भक्तलाई आफ्नो हृदयसँग भगवानकोे हृदय एकाकार भएको महसुस हुन्छ, जब स्वयंको धड्कनसँगै मूर्तिको हृदय धड्किएको महसुस हुन्छ, तब पूजाको थालनी गर्नुपर्छ। यसरी मूर्तिमा प्राण प्रतिस्थापन गरेपछि मात्र मूर्ति भगवानमा परिणत भएको बोध हुन्छ।

    यसरी समग्रतामा बुद्धलाई पूजा गरिरहँदा हामीले आकाशमा छरिएका महाकरुणाका ऊर्जाहरूलाई सशक्त रूपमा आपूmतिर आकर्षित गर्न सक्छौँ। त्यस्तै, जुन भगवानको पूजा गरिएको हो, सोही भगवानको गुणधर्म भएका, आकाशमा रहेका ऊर्जाहरू हामीतिर आकर्षित भइरहेका हुन्छन्। त्यसैले पूजा गर्ने सन्दर्भमा आफूले पूजा गर्ने भगवानको केन्द्र थाहा पाउन जरुरी हुन्छ। तर यदि केन्द्र थाहा पाइएन भनेचाहिँ सम्बन्धित भगवानमा भएको गुणलाई आफूमा विकसित भएको महसुस गर्दा पनि हुन्छ। यी कारणले मूर्ति साध्य नभएर साधन हुँदाहुँदै पनि मानिस, प्राणी वा वस्तुकोे साटो पूजा गर्ने सन्दर्भमा मूर्तिलाई प्राथमिकतामा राखिएको हो। 

    भजनमा प्रयोग हुने शब्दहरू, संगीतका ध्वनिहरू अनि मन्त्रमा उच्चारण हुने चोटिला शब्दहरूमा भएका तरंगहरूले पनि हामीमा भएको बन्द हुने प्रवृत्तिलाई भत्काएर हामी वरिपरिको अकाशको प्राकृतिक तरंगसँग हाम्रो शरीरको तरंगलाई एकाकार हुन मद्धत पुर्‍याउँछ

    निराकारबाट सम्बद्ध भगवानको गुणधर्म आफूमा आकर्षित गर्ने सन्दर्भमा हामीले अस्तित्वगत रूपमा बन्द भएर पूजा गर्दा फल प्राप्त गर्न सक्दैनौँ। त्यसैले पूजा गर्ने बेला हामी खुल्नु आवश्यक छ। खुल्नुको अर्थ यति हो कि विना कुनै अवरोध हाम्रो शरीरको ऊर्जा बाहिर जान सकोस् र बाहिरको ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्न सकोस्। मानिस खुला हुने सन्दर्भमा विचारको विलय हुनु जरुरी छ। मस्तिष्कलाई विचारविहीन बनाउने प्रयोजनका लागि नै पूजाका दौरान नृत्य, भजन–कीर्तन गाउने, मन्त्र पढ्ने वा सुन्ने प्रक्रियाहरू अवलम्बन गरिएका हुन्।

    फरक मनसायका साथ गरिएको एउटै क्रियाले पनि फरक परिणाम दिन्छ। स्टेजमा नाच्नु र मन्दिरमा नाच्नुमा फरक छ। भगवानको अगाडि केवल प्राविधिक रूपमा विधि पु¥याउन मात्रै नाच्ने होइन। न त कलात्मक रूपमा नाच्नु नै जरुरी छ। शरीरको हलचलबाट सुरु भएको नृत्यमा विस्तारै शरीरको सबै भौतिक संरचनाका रेसारेसामा हलचल हुँदै मस्तिष्क, हृदय र आत्मामा समेत कम्पन आउन जरुरी छ। भक्तको शरीर, मन र आत्मामा भएको व्यवस्थालाई भत्काउन जरुरी छ, ताकि भक्त अस्तित्वगत रूपमै खुल्न सकोस्।

    त्यस्तै, ध्वनिले पनि हाम्रो शरीरमा तरंग पैदा गरी हाम्रो मस्तिष्कबाट विचारलाई विस्थापित गर्नमा सहयोग पुर्‍याउँछ। हाम्रा अग्रजले शब्दहरूको चयन गर्ने सन्दर्भमा शब्दबाट उत्पन्न हुने तरंगहरूको खुब गहिराइमा पुगेर अध्ययन गरेका थिए। भजनमा प्रयोग हुने शब्दहरू, संगीतका ध्वनिहरू अनि मन्त्रमा उच्चारण हुने चोटिला शब्दहरूमा भएका तरंगहरूले पनि हामीमा भएको बन्द हुने प्रवृत्तिलाई भत्काएर हामी वरिपरिको अकाशको प्राकृतिक तरंगसँग हाम्रो शरीरको तरंगलाई एकाकार हुन मद्धत पुर्‍याउँछ।

    शरीरको मज्जाले कसरत गर्नेहरूलाई थाहा छ, हामी थाकेको समयमा पनि विचारको विलय हुन्छ। हुनत तीर्थ केन्द्रहरू वस्तीहरूदेखि पर डाँडाको उचाइमा हुने अरू कारण पनि छन्। तर वस्तीदेखि टाढा उचाइमा भएका मन्दिरहरूमा भक्तहरू हिँड्दै जाँदा थाकेर लखतरान हुनाले विचारको विलय हुने संभावना हुने भएको हुँदा पुराना हिन्दू मन्दिरहरू त्यस्ता ठाउँमा स्थापना गरिएका हुन्। 

    पूजा गर्न जाँदा मन्दिरको ढोकाबाहिर जुत्ता चप्पल खोल्नुपर्ने प्रचलनको सांकेतिक अर्थ यो पनि हो कि हामीले आजसम्म जीवनयात्रा गर्ने क्रममा मस्तिष्कमा बोकेका संस्कार, मान्यता, सोचहरूलाई त्यागेर मात्रै भगवानको पूजा गर्न काविल हुन्छौँ। विचारलाई विसर्जन गरेर मात्र अस्तित्वको अनन्त ऊर्जासँग एकाकार हुनु संभव हुन्छ।

    तर यसको अर्थ सबैले मूर्ति पूजा गर्नुपर्छ भनेको होइन। मस्तिष्क रूपान्तरणका अनगिन्ती विधि र तरिकाहरू छन्। ती तरिकामध्ये मूर्ति पूजा पनि एउटा विधि हो। साँचो अर्थमा ज्ञानी मानिसहरूलाई अनन्तसँग एकाकार हुनका लागि न त विधि चाहिन्छ, न शास्त्र नै। न त पूजा चाहिन्छ, न मन्दिर र मूर्ति नै। कोहीकोही मानिसका लागि यी सबै चिज बेकार हुन सक्छन्। तर सम्पूर्ण समाजको सन्दर्भमा मूर्ति पूजाको महत्त्व धेरै छ। 

    संसारमा कुनै चिज आफैँमा राम्रो र नराम्रो हुनुभन्दा पनि त्यसको उपयोग वा दुरूपयोग के गर्नुहुन्छ भन्ने कुरा प्रमुख हो। कुनै कुरालाई समस्या देख्ने वा अवसर देख्ने, आफैँैमा निहीत छ। यदि दुरूपयोग गरे अवसर समस्या बन्छ र सदुपयोग गरे समस्या पनि अवसर बन्छ। तर कुनै पनि कुरा जति बढी महत्त्वको हुन्छ, त्यसको उपयोग गर्नाले त्यति नै राम्रो फल मिल्छ भने त्यसको दुरूपयोग गर्नाले प्राप्त हुने घातक परिणति पनि उत्तिकै खतरायुक्त हुन्छ। जस्तैः तपाईलें एक सय रुपैयाँको सदुपयोग जुन मात्रामा गर्न सक्नुहुन्छ, त्यति नै अनुपातमा दुरूपयोग पनि गर्न सक्नुहुन्छ। तर सयको तुलनामा एक लाख रुपैयाँको सदुपयोग वा दुरूपयोग दुवै कुरा प्रभावकारी हुन्छ। 

    हुनत मस्तिष्क रूपान्तरणको सन्दर्भमा मूर्ति पूजा आफैँ एक राम्रो विधि हो। तर आज मूर्ति पूजा गर्नेहरूकै कारण यसको महत्त्व घटेको छ। यसलाई अर्थहीन काम भन्नेहरूको जमात दिनानुदिन बढ्दै छ। यसको कारण यति हो कि मूर्ति पूजाको दुरूपयोग गरिएको छ। वास्तवमा आफूलाई केन्द्रमा राखेर पूजा गर्नाले फाइदा हुने होइन, बरु स्वकेन्द्रित हुन अझै मद्धत मिल्छ।

    भगवान अर्थात् अनन्तलाई परिधिमा राखेर आफूलाई केन्द्रमा राखेर गरिने पूजा त कर्मकाण्ड मात्रै पनि होइन, यसले पूजा गर्ने मानिसको मस्तिष्कलाई अझ बढी व्याकुल बनाउन मद्धत गर्छ। विभिन्न भाकलहरू राखेर, नानाभाँतीका कामनाहरू गरेर गरिने पूजाले मानिसलाई अभैm बढी स्वार्थी र संकुचित बनाउँछ। 

    भगवानको अर्थ अनन्तसँग एकाकार भएको आत्मा हो। जबसम्म तपाईंभित्रको ‘म’ र ‘मेरो’ भन्ने संकुचित भावको विलय हुँदैन, तबसम्म भगवानको सक्षात्कार, अनन्तको साक्षात्कार संभव हुँदैन। संसारका कुनै पनि भगवान कसैको पनि लोभ र लालचको तिर्सना मेट्न सहायक हुँदैनन्। तर यही प्रवृत्तिका कारण हरेक पछिल्लो पुस्तामा अघिल्लो पुस्ताका तुलनामा मूर्ति पूजालाई बेतुक मान्नेको जमात बढ्दै छ। 

     

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]