|

लहान : असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको शुक्रबार साँझसम्म प्राप्त मत परिणाम अनुसार सिरहामा पाँच नगरपालिका र ७ गाउँपालिकाको नतिजा घोषणा भएको छ।

घोषित मतगणनाको परिणाम अनुसार नेकपा माओवादी केन्द्रले कर्जन्हा, मिर्चैया, धनगढीमाई नगरपालिका तथा अर्नमा र औरही गाउँपालिकामा जितेको छ। माओवादी केन्द्रबाट कर्जन्हामा प्रमुख गंगा पासवान र उपप्रमुख ज्ञानकुमारी श्रेष्ठ, मिर्चैया नगरपालिकामा प्रमुख श्रवणकुमार यादव, उपप्रमुख जीवछी देवी, धनगढीमाई नगरपालिकामा प्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ तामाङ् विजयी भएका छन्।

त्यस्तै, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रका ठकु महतो कोइरी अध्यक्ष र उपाध्यक्षमा शिवसति मुखिया विजयी भएकी छन्। उपप्रमुख मुखियाले निकटतम् प्रतिद्वन्द्वी एमालेकी रामकुमारी महतोलाई एक मतले उछिनेर दुई हजार दुई सय ९९ मतसहित विजयी बनेकी हुन्। सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिकामा माओवादी केन्द्रबाट सिद्धार्थ यादव ६ मतको अन्तरले कांग्रेसका सुभाषकुमार यादवलाई पछि पार्दै अध्यक्ष निर्वाचित भएका हुन्। उनले दुई हजार छ सय ५८ र कांग्रेसका सुभाषले दुई हजार छ सय ५२ मत प्राप्त गरेका छन्। औरहीमा उपाध्यक्षमा भने फोरम नेपालकी सीताकुमारीले बाजी मारेकी छन्। उनले माओवादी केन्द्रको देवझरीदेवी यादवलाई एक सय ६३ मतले पछि पार्दै दुई हजार ६३२ मतसहित जित हात पारेकी हुन्।

त्यस्तै, नेकपा एमालेले सिरहाको नरहा, सखुवा नन्कारकट्ट गाउँपालिका र सुखीपुर नगरपालिकामा जितेको छ। एमालेबाट नरहा गाउँपालिकामा अध्यक्ष रामशरण यादव, उपाध्यक्ष गुलावदेवी चौधरी, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष अमलादेवी यादव र सुखीपुर नगरपालिकामा प्रमुख रामऔतार यादव र उपप्रमुखमा रेणुदेवी साह निर्वाचित भएका छन्।

कांग्रेसबाट सिरहाको कल्याणपुर नगरपालिकामा प्रमुख सूर्यनाथ मण्डल, उपप्रमुख रोहिणीकुमारी यादव, भगवानपुर गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादव र उपाध्यक्ष शोभाकुमारी यादव निर्वाचित भएकी छन्।

त्यसैगरी, संघीय समाजवादी फोरम नेपालबाट सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादव, उपाध्यक्ष अरहुलादेवी सिंह, भगवानपुर गाउँपालिका अध्यक्ष बेचचनप्रसाद यादव र उापध्यक्ष सीतादेवी यादव निर्वाचित भएकी छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.