|

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिकेडाँडावाट रेडियो एभरेष्ट ९८.१ मेगाहर्जले परीक्षण प्रसारण सुरु गरेको छ।

समून्द्री सतहबाट ४४ सय मिटरदेखि प्रशारण सुरु गरिएको यो रेडियोले विश्वकै सर्वोच्च स्थानबाट प्रशारणमा आएको रेडियोका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउने दाबी पिके सञ्चार प्रालिका अध्यक्ष पासाङ बोम्बु शेर्पाको छ। अहिलेसम्म गिनिज वल्र्ड रेकर्डमा छिमेकी मुलुक भारतको लदाक प्रान्तमा ३७ सय मिटर उचाईमा रहेको रेडियो नै विश्वको सबैभन्दा अग्लो स्थानबाट प्रशारित रेडियोको अभिलेखमा छ।

पिके सञ्चार प्रा. लि. र हिमाली सञ्चार लिमिटेडको व्यवस्थापनमा संचालनमा आएको रेडियोलाई महत्वाकांक्षी परियोजनाको रुपमा हेरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयबाट १ हजार वाट क्षमताको प्रसारण ईजाजत लिएको रेडियोले अहिले सदरमुकाम सल्लेरीमा स्टुडियो राखेर ताररहित पद्धतिबाट पिके डाँडामा लिंक गरी प्रसारणको शुरुवात गरेको हो।

परीक्षणका क्रममा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, संखुवासभा, सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, धनकुटा, भोजपुर, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, मोरङ लगायतका जिल्लावाट स्रोता प्रतिक्रिया प्राप्त गरिएको हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पाले बताए।

पिके सञ्चार प्रालिका अध्यक्ष पासाङ बोम्बु शेर्पाले हिमाली पर्यटनको प्रवद्र्धनका लागि विश्वकै अग्लो स्थानबाट रेडियो प्रसारण शुरु गरिएको बताए। रेडियोको टावर स्थापना, विद्युत जडान र समग्र काम सम्पन्न गर्न १ करोड रकम खर्च भएको कम्पनीका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.