चितवन : बाढीपछि रोगले ग्रस्त भएका चितवन राष्ट्रिय निकुञ्जका अर्नाको उपचार सुरु गरिएको छ। निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा. कमल गैंरेको नेतृत्वमा रहेको प्राविधिज्ञको टोलीले कोशीबाट स्थानान्तरण गरी चितवन ल्याइएका अर्नाको आइतबारदेखि उपचार सुरु गरेको हो।
‘बाढीपछि विभिन्न रोगको संक्रमण भएर अर्नाको अवस्था नाजुक देखियो', डा गैंरेले भने 'केही दिनदेखि घाँसपात तथा दाना दिइरहेका थियौं आजबाट औषधी चलाउन थालेका छौं।’
आइतबार विहान डा. गैंरेसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटरीनरी प्राविधिक किरण रिजाल र अर्नाको रेखदेखकर्ता सुनिल कँडेल निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना राखेको खुला खोरमा पुगेका थए। उनीहरुले जुका र नाम्ले नियन्त्रण गर्ने औषधी मिसाएर अर्नालाई दाना राखिदिएका छन्।
१० वटा अर्नाका लागि १० वटा बाटामा दानासँगै औषधी मिसाएर छाडिएको छ। अर्नाले अनुकुल समयमा आएर दानासँगै औषधी खानेछ। बाढीले अर्ना राखेको घाँसेमैदानको साना घाँसहरु पुरेको छ।
उसका लागि बनाएको पोखरी समेत बाढीले पुरिएको छ। जसका कारण अर्नाले राम्ररी घाँस खान पाएको थिएन। बाढीमा पानी र घाँस प्रदूषित हुँदा बाढीपछि यहाँ २ वटा अर्ना मरेको छ भने बाँकी भएका अर्नामा नाम्ले र जुकाका कारण दुब्लाउदै गएको छ। अर्ना बचाउन भदौ २७ देखि दाना र घाँस दिन थालिएकोमा आइतबारदेखि औषधी दिन थालिएको हो।
साउन २८ गते आएको बाढीका कारण अन्य जनावर सहित अर्नामा विभिन्न रोगहरु देखिएको चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए। उनका अनुसार बाढीपछि भदौ २२ गते र भदौ २५ गते २ वटा पोथी अर्ना मरेको थियो। यसअघि चिडियाखानाबाट ल्याइएका तीनवटा अर्ना वैशाख ५, जेठ ३ र असार ७ गते मरेको थियो।
१५ वटा अर्ना स्थानान्तरण गरिएकोमा अहिलेसम्म पाँच वटा अर्ना मरिसकेको छ। बाँकी भएका १० अर्नामा पनि विभिन्न रोगको संक्रमण देखिएकाले निकुञ्जले बचाउने प्रयास गरिरहेको छ। सौराहास्थित निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोरमा राखिएका अर्नामा नाम्ले, माटे जुका र गोलो जुका देखिएको छ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले अर्नालाई दाना तथा घाँसहरु दिने, आवश्यक अनुसन्धान गर्ने र रेखदेख गर्ने काम गरिरहेको बताए। अर्नालाई तौल अनुसारको डोज मिलाएर औषधी दिन थालिएको वरिष्ठ पशु चिकित्सक डा कमल गैंरेले जानकारी दिए।
अर्नाका लागि घाँसपात तथा पराल दिनका लागि अहिले खुला खोरभित्र गोठ बनाउन लागिएको छ। अर्ना बसेको क्षेत्रमा काँस, सिरु, पिर्रे र न्यूरो घाँसमात्रै छ। उसलाई पर्याप्त मात्रामा घाँस नभएको डा गैंरे बताउँछन्। घाँसकै अभावले दुब्लाएको भए एक हप्ताभित्र तन्दुरुस्त हुने उनको दावी छ। बाढीका कारण चितवन निकुञ्जका २ गैंडा समेत मरेको थियो भने दर्जन बढी बगाएका थियो।
७ वटालार्इ भारतबाट र एउटालाई नेपाल भारतको सिमाबाट गैंडा उद्धार गरिएको थियो। बाढीले वन्जयन्तुको बासस्थान नै खलबल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।