|

कपिलवस्तु : चाडपर्व भित्रिएसंगै जिल्लाबाट दैनिक २ करोड बढी मूल्यका खसीबोका काठमाडौं पठाइने गरेको छ। घटस्थापनादेखि मागमा अत्यधिक वृद्धि भएपछि व्यापारीहरुले दैनिक १० देखि १५ ट्रक खसीबोका राजधानी पठाउने गरेका छन्।

पश्चिम नेपालमा खसीबोकाको कारोबारका लागि प्रसिद्धि कमाएको कपिलवस्तु चन्द्रौटाको खसीबजारमा दसैंको अवसरमा स्वदेशी तथा विदेशी खसीबोकाको कारोबार अत्यधिक हुने गर्छ। स्थानीय तथा भारतको बहराइच, कल्पी, सुल्तानपुर, कानपुर लगायतका व्यापारीहरुले अहिले सक्दो खसीबोका ल्याएर काठमाडौं लगायत देशका अन्य शहरमा पठाउने गरेका छन्।

भारतीय व्यापारीले कृष्णनगर नाकाबाट खसीबोका भित्र्याएर जिल्लाको चन्द्रौटामा लाग्ने बजारमा खसीबोका अनलोड गरी नेपाली ट्रकमा लोड गरेर पठाउने गरेका छन्। चन्द्रौटाबाट एकैदिनमा १२ ट्रक खसीबोका काठमाडौं पठाइएको भारतीय खसीबोका व्यापारी हलिम कुराइसीले बताए। अहिले यहाँबाट १० देखि १५ ट्रक खसीबोका काठमाडौं पठाइने गरिएको उनको भनाइ छ। 'नेपालमा चाडबाडको बेला मासु खाने प्रचलन बढेको छ, हामीले यहाँबाट माग भए बमोजिम सक्दो पठाउछौं' कुराइसीले भने।

घटस्थापनादेखि सुरु भएको यो क्रम नवमीका दिनसम्म चल्नेछ। यहाँ विगत लामो समयदेखि भारतको उत्तर प्रदेश बहराइच र नानपाराका १० बढी भारतीय व्यापारीले काठमाडौंमा खसीबोकाको ब्यापार गर्दै आएका छन्। दशैंका बेला नेपालमा खसी बोकाको व्यापार बढी हुने हुँदा जति खसीबोका ल्याए पनि माग धान्न गाह्रो हुने बहराइचका ब्यापारी अवरास मुसलमानले बताए।

जिल्लाबाट काठमाडौं पठाउने खसीबोकाहरुमा बाबरी, जमुना पारी र स्थानिय जातका खसी बोका रहने गरेको ब्यापारीहरु बताउछन् । एक ट्रकमा २ सय ५० देखि ३ सय सम्म खसीबोका लोड गरी पठाईने गरिएको उनीहरुको भनाइ छ । एक ट्रक खसीबोकाको मुल्य २० लाख सम्म हुने गरेको भारतीय ब्यापारी हलिम कुराइसीले बताए । भारतीय ब्यापारीहरुले कानपुर नजिक लाग्ने खसी बजार जसवन्तनगर र काल्पीबाट खरिद गरेर नेपाल पठाउने गरेका छन् । भन्सार कार्यालय कृष्णनगरका अनुसार दशैको बेला अन्य समय भन्दा दोब्बर खसी बोका भित्रिने गरेका छन् । असोज १ दोस्रो साता सम्म ७ हजार ९ सय ८० भारतीय खसी बोका भित्रिएको कार्यालयले जनाएको छ।                                  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.