साहित्य

समाज (कथा)
SHARES

असोज २३, २०७४

    परबाट पञ्चेबाजाको आवाज आइरहेको थियो। आवाज नजिक नजिक हुँदै गइरहेको थियो। बार्दलीमा भएका मानिसहरू ‘जन्ती आए जन्ती आए’ भनेर तल झर्न थाले। घर नजिक नजिक आइपुगेको जस्तो सुनिएको बाजा बज्न छोड्यो। केही भयो होला भनेर मैले यसलाई साधारण रूपमा लिए। म त बेहुली, बाजा बज्न किन रोकियो भनेर सोध्ने कुरा पनि भएन। 

    बाजा बज्न रोकिएको झण्डै पन्ध्र मिनेटजतिमा एक जना जिन्सको पाइन्ट, सर्ट र स्टकोट लगाएकी कपाल केटाको जस्तो जुल्फी बनाएर काटेकी बीस वर्षजतिकी केटी मेरो अगाडि आएर उभिइन्। स्तनले महिला शरीर भनेर नचिनाउने हो भने उनी कुनै पनि कुनाबाट केटी थिइनन्। उनको पछिपछि काका, आमा र फुपूहरू पनि आउनुभयो। ती केटीले केही बेरसम्म मेरो अनुहारमा एकटक हेरिरहिन्। कम्मरमा दुवै हात राखेर सोधिन् ‘तिम्रो नाम के हो बहिनी?’

    ‘निर्जला’ 

    ‘सुन निर्जला, तिमी यो विवाह गर्न सक्दिनौ किनकि तिमीलाई विवाह गर्न आइरहेको बेहुला दुई वर्ष अगाडि नै मसित विवाह बन्धनमा बाँधिइसकेको छ। धरानको दन्तकाली मन्दिरमा हामीले विवाह गरेका हौँ। नपत्याए हेर यो फोटो। म जस्तीको सौता हुन आउन सक्ने हिम्मत छ भने मात्र यो विवाह गर।’

    कुरा के हो भन्ने नबुझ्दै मेरा आँखा उनले देखाइरहेको फोटोमा गएर अडियो। कलेज पढ्ने केटाकेटी मन्दिर घुम्न जाँदा माला लगाएर खिचेको जस्तो फोटो। केटीको लुगा उस्तै, पाइन्ट–सर्ट। म के भन्ने नभन्ने भएँ। पुलुक्क आमातिर हेरेँ। आमाले इशाराले चुप रहन भन्नुभयो। काकाले अगाडि बढेर फोटो लिनुभयो र ती केटीतिर हेर्दै भन्नुभयो ‘बहिनी तल आउनू, दाइ, बुबा, काकाहरूसित कुरा गरौँ। यो छोरीसित के कुरा गर्नुहुन्छ? हाम्रा छोरीहरू बाबुआमाले भनेको कुरा नाघेर जाँदैनन्। त्यसैले यसलाई भनेर केही हुँदैन। घरका बुज्रुगले जे भन्छन्, त्यही हुन्छ यो घरमा, त्यसैले दाइहरूसित कुरा गरौँ हिड्नुँ।’

    केटीले एकपल्ट मेरो अनुहारमा फेरि हेरिन् र काकाको पछिपछि लागिन्। काकाले ती केटीलाई लिएर कहाँ जानुभयो थाहा भएन। 

    मंसिर महिनाको जाडोमा म बेहुली लुगा खोलेर सिरकभित्र पस्न पनि पाइनँ। बेलुका पाँच बजेतिर सुनिएको बाजा फेरि बजेन। बार्दलीमा मानिसहरू विस्तारै विस्तारै कम हुँदै गए। दिदीले एउटा सिरक ल्याएर मलाई बसेकै ठाँउमा ओढाइदिनुभयो। राती एक बजेपछि फेरि बाजा बज्न सुरु भयो। केटी र बुबा, हजुरबुबाहरूको के कुरा भयो, केटी कता गइन्, मैले केही थाहा पाइनँ। 

    दुई बजेपछि मलाई जग्गेमा लगियो। भोलिपल्ट बिहानको जन्तेबाख्रो पनि खुवाएर एक बजेतिर म बेहुलीलाई अन्माउने कार्यक्रम भयो। साँझमा मात्र म बेहुलाको घरमा भित्रिन पुगेँ। बेहुलाको घरमा गरिने वैवाहिक कार्यक्रम सकेर खाना खुवाएर मलाई नन्दले कोठामा छाडेर फर्किइन्। मेरो दिमागमा हिजोकी केटी नाचिरहेकी थिइन्, हजारौँ प्रश्नहरूको साथमा। 

    निकै रात छिप्पिएपछि बेहुलाको कोठामा आगमन भयो। मेरो निहुरिएको अनुहार श्रीमानलाई हेर्न उठ्यो। आँखा जुध्यो पहिलो पल्ट एकअर्कामा। मेरो अनुहारमा आँखा पर्नासाथ श्रीमान केही नबोली बाहिरिनुभयो। केही कामले बाहिरिनुभएको होला भन्ने मैले सोचेँ तर रात बित्यो, बिहान भयो, श्रीमानको अनुहार फेरि देखिएन। 

    बिहान नुहाएर मलाई भान्सामा लगियो, बहु भतेर पकाउनका लागि। जेठानीले मलाई सुहागरातको बारेमा छेडखानी सुरु गर्नुभयो। मैले जेठानीलाई श्रीमान मलाई हेर्नासाथ बाहिरिएको कुरा सुनाएँ। केही बेरमै घरमा गाइँगुइँ हुन थाल्यो, श्रीमान त राती नै घरबाट भागिसकेका रहेछन्। अरू एक दिन बसेर म नन्दसित माइत गएँ।

    माइतमा ज्वाइँ हराएको खबर सुनाएपछि सबै चिन्तित हुनुभयो। भोलिपल्टै मलाई काका र नन्दको साथ लगाएर घर पठाइयो। काकाले ससुराहरूसित के कुरा गर्नुभयो, थाहा भएन तर श्रीमानको खोजीले तीब्रता पायो। श्रीमान त तिनै जिन्स लगाउने केटीसित काठमाडौँमा बसेका भेटिए रे! म काली भएँ रे, मसित उनी कुनै हालतमा पनि नबस्ने भनेर खबर पठाएछन्। ससुरा–सासुहरू आफैँ जानुभयो काठमाडौँ तर उहाँहरूको पनि केही सीप लागेनछ। 

    म दुई महिना श्रीमानको घर बसेर फर्किएँ माइत। माइतमा गाउँका गन्यमान्य व्यक्तिहरू बसेर निकै छलफल भयो। म गाउँकै छोरी थिएँ, सबैको इज्जतको कुरा थियो। अब मैले त्यहाँ फर्कनुको कुनै औचित्य नभएको उहाँहरूको ठहर भयो।

    म फेरि विगतकै जस्तो सामान्य जीवनमा फर्किएँ। फ्रक लगाएर अधुरो पढाइ पूरा गर्न स्कुल पनि जान थालेँ। मेरा दिनहरूमा विवाहका निशानी सिन्दूर–पोतेले कुनै स्थान पाएनन्। 

    फेरि विवाहको कुरा नआएको होइन घरमा तर मैले विवाह गर्दिनँ भनेर अडान नै लिएँ। विवाह भएको घटना र काली भएर दुत्कारेको श्रीमानलाई जति सम्झन्थेँ, मलाई केही गरेर देखाइदिन पाए हुने थियो जस्तो लाग्दथ्यो। मेरो मनले सोचेको अठोटलाई मैले पढाइमा बिताइदिएँ। प्रथम प्रथम हुँदै मैले बीएड नै पास गरेँ।

    म बीएड पढ्न काठमाडौँ आएको थिएँ। मेरो सँगै पढ्ने साथी श्रीमानकै गाउँका रहेछन्। उनले भनेअनुसार श्रीमानलाई ती केटीले पनि छोडेर भागिन रे! त्यसपछि उनले पनि अर्को विवाह गरेनछन्। आमाबाबु स्याहारेर बसेका छन् रे! मनमनै सोचेँ, गोरी खोज्न गएको त्यसले पनि छोडिछ, ठिक्क प¥यो! मलाई यो समाचारले कत्ति पनि सोचनीय बनाउन सकेन। म माइतमा बसेदेखि कुनै दिन पनि श्रीमानको घरबाट मलाई खोज खबर गरिएको थिएन भने मलाई उनको समाचारले किन पो तान्थ्यो र! 

    पढाइ सकेर म गाउँ नै आएँ। गाउकै निम्नमाध्यमिक विद्यालयमा पढाउन थालेँ। मेरै प्रयासले त्यो स्कुललाई माध्यमिक बनाइयो। म स्कुलकी प्रधानध्यापक बन्न पुगेँ। दिनहरू बितिरहेका थिएँ, गुडेको साइकलको चक्का घुमेजस्तो गरेर। 

    एक दिन स्कुलबाट फर्कँदा बैठक घरमा मानिसहरूको भीड नै देखेँ। बूढाबूढी भएका आमाबुबालाई केही भएको पो हो कि! गाउँलेहरू जम्मा भएका हुन् कि भनेर मन ढक्क फुल्यो। पाइला अनायासै दौडिन थाले। सिधै पुगे भीडलाई छिचोल्दै बैठक घरभित्र। बुबा कुर्सीमा बस्नुभएको रहेछ। सोफामा काका र दुई नौलो अनुहार देखेँ। एक जनालाई त विस्तारै चिनेँ, मेरो विहे भएको मानिसको भाइ अथवा मेरो देवर। अर्कोलाई चिनिनँ। बुबाले मलाई देख्नासाथ भन्नुभयो, ‘नानी, चिन्यौ देवरलाई?’ 

    बुबाआमा दुवैले कुलको इज्जत, संस्कारका नाममा मलाई पठाउन मै जोड दिनुभयो। ‘दुई दिन बसेर आऊ’ भन्दै बुबाले स्कुलबाट बिदा लिन अध्यक्षसित कुरा पनि गरिसकेको बताउनुभयो। नचाहँदा नचाहँदै पनि म लागेँ अर्को दिन बिहानै देवरसित।

    बुबाको आवाजले होला उनले ‘नमस्कार भाउजू’ भन्दै दुवै हात जोडे। नचाहँदा नचाहँदै पनि मेरा पनि हात जोडिन पुगे। बुबाहरूको गफमा बाधा भएजस्तो भयो कोठामा मौनता छायो। म फनक्क फर्किएँ र घरभित्र लागेँ। भित्र पनि आँगनभरि महिलाहरूको गफ चलिरहेको थियो। कपडा फेरेर म पनि त्यहीँ आएर आमाको छेउमा बसेँ र सोधेँ, ‘तिनीहरू किन आएका रहेछन्, आमा?’

    ‘ज्वाइँ, बिरामी सिकिस्त छन् रे, बाँच्दैनन् जस्तो छ रे अवस्था, त्यसैले तिमीलाई लिन आएका हुन् रे!’ आमा अरू पनि केके भन्दै हुनुहुन्थ्यो मैले रोक्दै भनेँ, ‘मर्न लागे म के गर्नु त? किन चाहियो अहिले म? काली केटी भनेर विहेकै दिन छोडेर हिँडेको अहिले किन बोलाउनुपरेछ? भो, म त जाँदै जान्नँ। अब किन जानु र त्यहाँ? बुबा पनि के गफ गरेर बसिरहनु भएको होला? पठाउँदिनँ छोरी, कुनै नाता छैन त्यो घरमा भनेर बिदा गरिदिनुपर्छ नि! के थाहा सेवा गर्न बोलाएका हुन् कि मेरो कमाइले औषधि उपचार गराउन बोलाएका हुन्। म त कुनै हालतमा पनि जान्नँ। बुबालाई अहिले नै पठाइदिनु उनीहरूलाई भन्छु’ भनेर म जुरुक्क उठेकी मात्र के थिएँ, आमाले कुर्ताको फेर समाउँदै बसाउनुभयो। ‘तिमीलाई हामीले बुबाहरू बैठक घरमा बोलिरहेको बेला छोरी–बुहारीले त्यहाँ गएर बोल्नुहुन्न भनेर सिकाएको बिर्सियौ? के भन्छन् कुटुम्ब र जोरिपारीले?’

    ‘आमा, हजुरको जमाना होइन के घरभित्रबाट बाहिर निस्कन सोच्नुपर्ने। हजुरकी छोरीले स्कुल चलाएकी छे। त्यहाँ के मेरा बाबु–काका, दाजु–भाइहरू नै आउने होइनन् र मसित कुरा गर्न?’

    ‘भोभो नकराऊ, केही भन्नै मन लागेको भए बरु बुबालाई बोलाउन पठाउँदा हुन्छ। बुबा नै आउन पनि सक्नुहुन्छ होला तिमीसित कुरा गर्न’, आमाले भन्नुभयो।
    बुबा आउनुभयो। हामी आमा–छोरीलाई कोठामा बोलाउनुभयो। मलाई अगाडि बस्न इशारा गर्दै बुबाले नै भन्नुभयो, ‘नानी, तिमीलाई लिन सानो ज्वाइँ आउनुभएको रहेछ। के गर्छौ तिम्रो भाग्य नै यस्तै खोटो रहेछ! ज्वाइँ बिरामी हुनुहुन्छ रे! हामीले पठाउँदैनौँ छोरी भन्न मिल्दैन। तिमी के भन्छ्यौ?’

    ‘म जान्नँ। यत्तिका वर्ष सोधीखोजी भएन अब किन जानु म त्यहाँ?’, मैले मेरो कुरा राखिदिएँ।

    बुबाआमा दुवैले कुलको इज्जत, संस्कारका नाममा मलाई पठाउन मै जोड दिनुभयो। ‘दुई दिन बसेर आऊ’ भन्दै बुबाले स्कुलबाट बिदा लिन अध्यक्षसित कुरा पनि गरिसकेको बताउनुभयो। नचाहँदा नचाहँदै पनि म लागेँ अर्को दिन बिहानै देवरसित।

    विवाह भएर गएको घर भूकम्पले भत्कायो रे! नयाँ घर परैबाट देखियो। घरको आँगनमा हाम्रो गाडी रोकिएर ओर्लिन लागेकी थिएँ। गाडीमै बस्न भन्नुभयो जेठाजुले। आँगनमा एम्बुलेन्स थियो। केही बेरमै बिरामीलाई एम्बुलेन्समा राखेको देखँे। हाम्रो गाडीमा पनि मानिस थपिए। सासु–ससुरा र जेठाजु एम्बुलेन्समै बसेको देखेँ। गाडी फेरि हुँइकियो। 

    दुवै गाडी काठमाडौँको टिचिङ अस्पतालमा पुगेर रोकिए। बिरामीलाई इमर्जेन्सीमा लगियो। म पनि पछिपछि लागेँ। डाक्टरले जाँचेर भने, ‘ढिला भयो ल्याउन, उहाँ रहनुभएन।’

    अस्पतालमै रुवावासी मच्चियो। देवरले मलाई सासुलाई लिएर गाडीमा बस्न भने। केही समयपश्चात जेठाजुले सासुसित सोध्नुभयो, ‘आमा जे हुनु भइगयो अब सदगद कहाँ गर्ने? घरै लैजाने कि आर्यघाट?’ 

    ‘तीर्थ हो यही आर्यघाट लैजाऊ बाबू!’ आमाको अगाडि छोराको मृत्यु सहन सक्ने अवस्था थिएन। आमाको भावनालाई बुझेर आज्ञाको पालना गरियो। 

    एम्बुलेन्समा आएको बिरामीलाई शव वाहनमा राखेर हामी पनि लाग्यौँ पशुपति। काठमाडौँमा भएका इष्टमित्र आइरहेका थिए। म सासुको छेउमा चुपचाप बसिरहेकी थिएँ, अबोध बालिका जस्तो। ब्रह्मनालमा लाशलाई सुताएर पानी खुवाउन बोलाइयो। सासुले पानी खुवाउँदा बेहोस हुनुभयो। म त्यहीँ थिएँ, कसैले भनेको सुनेँ, ‘श्रीमतीको पालो।’ म लागेँ पानी खुवाउन। 

    हिन्दू संस्कारअनुसार त म श्रीमती नै थिएँ। हाम्रो पारापाचुके त भएको थिएन। तर जिन्दगीमा दोस्रोपल्ट म श्रीमानको अनुहार हेर्दै थिएँ। एकपल्ट जिउँदोमा आज मरेपछि। मलाई संस्कार निभाउनु थियो। माया त के दया पनि आएन। कसैले नजिकै विस्तारै भनेको सुनेँ, ‘श्रीमती रे कस्ती निष्ठूरी मन! आँसु पनि आएको छैन एक थोपा पनि।’ मलाई मनमनै लाग्यो, किन आउने आँसु? म त बाबुआमाको करले आइपुगेँ यहाँ। मेरा लागि मृत शरीर को हो को हो अनि किन रुने म? 

    शंख फुक्दै लाशलाई चितामा राखियो। पुरेतले मनेर आएर भने, ‘बुहारी, पोते–चुरा देऊ त।’ मसित न पोते थियो, न त हातमा काँचको चुरा नै! एक हातमा घडी थियो भने अर्को हातमा सुनका चार थान चुरा। एक जना महिलाले त मेरै अगाडि मुख फोरिन्, ‘कस्तो हौ, श्रीमान बिरामी भएर लिन आएको भनेपछि अरू बेला नलगाए पनि आउने बेलामा त पोते लगाएर आउनुपर्छ नि!’ 

    मलाई समाजलाई देखाउन पोते लगाउनु थिएन। मैले मेरो नामको अगाडि त कहिल्यै ‘श्रीमती’ लेख्न चाहिनँ भने मैले किन पोते लगाउने? तर म त्यहाँ श्रीमानकै घरतिरका मानिसको घेरामा थिएँ। केही बोल्ने कुरा भएन। चुप लागिरहेँ। चिता जल्न थाल्यो। हातको चुरा, घडी सासुले लिनुभयो भने निधारको टीका कसैले फ्याँकिदियो। मेरो हातका चुरा र निधारको टीका त श्रीमानले दिएका थिएनन् तर पनि उनको नाममा मैले फुकाल्नुपर्ने रे!

    चिता जलिरहेको थियो भने विधवा महिलाहरूको घेरामा मेरो पहिरन गुलावी सारी वागमतीमा सेलाएर सेतो सारीमा फेरिँदै थियो। यो कस्तो समाज, कस्तो संस्कार?

    म मनमनै सोचिरहेकी थिएँ। एक पल्ट नबोलेको मानिसको नाममा ममा यत्तिका परिवर्तन किन ल्याउनुपर्ने होला? आफ्नो फिँजारिएको कपालबाट चुहिएको पानीको थोपालाई हत्केलामा समेट्दै सेतो सारीमा नजर टिकाएर आत्मादेखि एउटा प्रश्न आयो, के म मृतआत्माको श्रीमती नै हुँ त?      
     

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]