|

चितवन : चितवनको रत्ननगर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षित दुर्लभ एकसिंगे गैंडाको बच्चा (केटो) मरेको छ। बाढीका कारण रोग लागेर मयुरे नामको गैंडाको केटो मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए। उनका अनुसार बाढीमा डुबेको गैंडाको केटो पछि रोग लागेर मरेको हो।

साउन २८ गतेको बाढीमा डुबेपछि केही समय राम्रै भए पनि पछि रोग लागेर मयुरे मरेको हो। अघिल्लो बर्षको भदौमा मयुरेको आमाछोरालाई नै नारायणी नदीले बगाएको थियो। नदीबाट बाहिर निस्कने बेला आमा र छोरा छुट्टाछुट्टै स्थानमा पुगेर निस्किएपछि उक्त केटोलाई वेवासिसे अवस्थामा नारायणी किनारमा फेला पारिएको थियो। त्यसपछि उद्धार गरी उसलाई चितवनको सौराहामा ल्याएर पालिंदै आइएको थियो।

‘केटो तन्दुरुस्तै थियो, बाढीपछि एक्कासी रोग देखियो र १०४ सम्म ज्वरो आयो, अनि मर्‍यो’, चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैंरेले भने।

उनका अनुसार पोष्टमार्टम गर्दा उसको आन्द्रामा नै खराबी भएको पाइएको थियो। बाढीले बगाएर भारत पुर्‍याएको अर्को केटो ल्याएपछि उसलाई साथी भएको थियो। मयुरे मरेपछि बाढीले बगाएको अर्को केटो मात्रै बाँकी छ। 

नवलपरासी अमलटारीको मयुरे वनस्थित नदी किनारमा फेला पारिएको भएर यसको नाम मयूरे राखिएको थियो। पर्यटकहरु आउँदा लस्सिने गर्दथ्यो। मानिसको नजिक जाने भएकाले मयुरेसँगै पर्यटकहरु सेल्फी खिच्न मन पराउँथे।

बाढीका कारण यसअघि २ वटा गैंडा मरिसकेको छ। चितवनमा डा कमल गैरेको नेतृत्वको पशु चिकित्सकको टोलीले यसरी ल्याईएका वन्यजन्तुको उपचार गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.