|

कालिकोट : नेपालमा नै पहिलोपटक टनेल बोरिङ मेसिन प्रयोग गरी बन्न लागेको सुर्खेत जिल्लाको भेरी बबई डाइभर्सनको काम तीव्र रुपमा अगाडि बढेको छ। लामो प्रक्रियापछि आयोजनाले पूर्णता पाएपछि यसको निर्माण कार्यले तीव्रता पाएको हो।

भेरी नदीको पानी सुर्खेत जिल्लाको साविकको रामघाट गाविसबाट बर्दिया जिल्लाको बेल्हवा गाविसमा अवस्थित बबई नदीमा खसालिनेछ। साविकको रामघाट गाविसमा पावर हाउस निर्माण गरी कुल ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ भने बबई नदीमा खसालिएको पानीबाट बर्दिया जिल्लाको करिब ५१ हजार पाँच सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ। आयोजनाका लागि १६ अर्ब लागत लाग्ने अनुमान छ।

भेरी नदीको ४० हजार लिटर प्रतिसेकेण्ड पानी बबई नदीमा खसाली विद्युत्, बाँके र बर्दिया जिल्लामा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य निर्माण कार्य सुरु गरिएको जनाइएको छ। भेरी बबई डाइभर्सनको काम अहिले २४ घण्टा तीव्र रुपमा र आयोजना दुई चरणमा निर्माण गर्ने अवधारणाअनुसार डाइभर्सन र सिँचाइ  गरी दुई चरणमा काम भइरहेको छ।

पहिलो चरणमा डाइभर्सनअन्तर्गत १२ किलोमिटर सुरुङ निर्माण गर्ने तथा भेरी नदीमा हेडबक्स र बबई नदीमा पावर हाउस निर्माण गरिने आयोजना प्रमुख जगदीश्वरमान श्रेष्ठले बताए। ‘हामी अहिले पहिलो चरणको कामलाई तीव्रता साथ निर्माण गरिरहेको छौं।’ उनले पहिलो चरणको काम सकिएका दोस्रो चरणको कामलाई अगाडि बढाउने छौं।’

सन् २०२० सम्म काम सक्ने गरी निर्माण कार्यको थालनी गरिएको भेरी बबई ड्राइभर्सनको काम दोस्रो चरणमा बर्दिया र बाँकेमा सिँचाइको संरचना निर्माण गरिने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताए। ‘कुल ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हामीले लिएका छौं ।’ उनले भने, ‘सिँचाइ र जलविद्युत् उत्पादनको काम सँगसँगै गर्न लागिएको पनि नेपालमै पहिलो आयोजना हो ।’

दसैं बिदामा काम गरे मजदुर तेब्बर तलब पाउने

दसैं तिहारको बिदामा भेरी बबई डाइभर्सनका काम गर्ने मजदुरले काम गरेबापत तेब्बर तलब पाउने इन्जिनियर प्रकाश पुडासैनीले बताए। ‘दसैं तिहारमा बिदा नलिई आयोजनामा काम गरे तेब्बर तलब पाउने छन्।’ उनले भने, ‘यसबाट मजदुरको आम्दानी धेरै फाइदा लिनेछन्।’दसैं र तिहारको बेला टीकाका दिन भने काममा पूर्ण बिदा दिने इन्जिनियर पुडासैनीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.