|

सिन्धुपाल्चोक : नेपाल चिनबीचको प्रमुख व्यापारिक तातोपानी नाका भूकम्पपछि पूरै ठप्प छ। तातोपानी नाका खुलाउने पक्षमा पटक–पटक चिनियाँ पक्षको सरकारी पक्ष र नेपाल तर्फको सरकारी पक्षबीच छलफल भएको छ।

०२७ मा खुलेको यो नाका नेपाल र चीनबीच सबैभन्दा महत्वको व्यापारिक मार्ग हो। यो नाकाबाट मात्र सरकारले वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो। यही नाका भएर नेपाली र भारतीय तीर्थालु तिब्बतको मान सरोवर जाने गर्छन्। पछिल्ला वर्षमा एक लाखभन्दा बढी पर्यटक यही नाका भएर तिब्बत गएको स्थानीय व्यापारी बताउँछन्।

तातोपानी नाका खुलाउने पक्षमा रहेको चिनियाँ पक्षले तातोपानी नाका सधैंका लागि बन्द गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकारले तातोपानी नाका खुलाउने विषयमा खासै पहल नगरेकाले चिनियाँ पक्षले तातोपानी नाकालाई सधैंका लागि बन्द गर्ने प्रस्ताव गरेको हुन सक्छ।

चिनियाँ वार्ता टोलीले खासा-ओलाङचुङगोला सडक नाका बन्द गर्न दिए नेपालले प्रस्ताव गरेका १२ वटा सडक नाकामध्ये पाँचवटा नाका खोल्ने प्रस्ताव गरेको छ। तर, चल्तीको तातोपानी नाका बन्द गरेमा जनतालाई अझ जीवनयापन गर्न कठिन हुने भएकाले बन्द गर्न नहुनेमा नेपाली पक्षले अडान लिएको छ। त्यसपछि पाँच नयाँ सडक नाका खोल्नेबारे पनि थप प्रगति नभएको नेपाली टोलीको भनाइ छ।

चिनियाँ पक्षले सम्झौताका लागि प्रस्ताव गरेका पाँच नाकामा पनि संख्यामा सहमत भएपछि मात्र नाम खुलाउने सर्त राखेका थिए। दुवै पक्षको अडानपछि वार्ता निष्कर्षमा पुग्न सकेन।

यसअघि, उच्चस्तरीय वार्तामा नेपालले यसअघि नै चीनसँग प्रस्ताव गरेका थप १२ सडक नाका खुला गर्नेबारे विषय राखेको थियो। चिनियाँ पक्ष भने नाका संख्या अधिकतम घटाउने गरी वार्तामा प्रस्तुत भएको बुझिएको छ। चिनियाँ पक्ष तिब्बत मामिला र सुरक्षाको कारण देखाउँदै नाका नखोल्ने पक्षमा उभिएको थियो।

नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत चीनको सडक प्रयोग गर्दै नाका खुला गर्नेबारे प्रोटोकल सम्झौता भएका अन्य दुई सडक नाका छन्। तिनमा खासा–यारी, खासा–रसुवागढी हुन्। भूकम्पपछि तातोपानी–खासा नाका पूर्ण रूपमा बन्द भएको छ। अहिले चीन भएर नेपालको एक नाकाबाट अर्को नाकामा आवतजावत पूर्णतः बन्द छ। दुई देशबीचको वार्तामा अवरुद्ध भएको खासा नाका सुचारु गराउनेबारे चिनियाँ टोलीसँग विषय उठाउने नेपाली तयारी पनि असफल भएको छ। नेपाल र चीनबीच २७ वर्षअघि (सन् १९९४ मा) सडक यातायात सम्झौता भएको थियो।

०७१ साउन १७ गते जुरे पहिरोबाट अवरोध सुरु भएको तातोपानी नाकाको अवको भविष्यनै अन्यौलमा परेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बताउँछन्। नेपाल र चिनियाँ पक्षबीचको सहमतिले रसुवाको केरुङ नाकालाई प्रमुख व्यापारीक नाकाको रुपमा विस्तार गर्ने भएपछि अवको तातोपानी नाकाको भविष्य के भन्नेमा जिल्लाबासिले प्रश्न गरिरहेका छन्। जुरे पहिरोबाट विस्तारै व्यापारतिर लम्कँदै गरेको तातोपानी नाकालाई ०७२ वैशाख १२ गतेको भूकम्पले निमेषमै ढाल्यो।

भूकम्पले क्षति पुयाएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसकेको थियो। तातोपानी नाकालाई नै एकपछि अर्को विपद्ले छोडेन ०७३ असार १७ गते भोटेकोसी उर्लिएपछि सबै निर्माण भएका भौतिक संरचनाहरु ध्वस्त पार्यो। लार्चामा पहिरो गएपछि तातोपानी नाकाको सम्भावना सकिने अवस्थामा पुगेको छ।

झन्डै २७ महिनाअघि विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले मानवरहित बन्न पुगेको छ। नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो। भूकम्प र बाढी–पहिरोले बस्ती जोखिममा परेपछि तातोपानीमा बस्ने हजारौं बासिन्दा अहिले विस्थापित भएका छन्। बजार मानवरहित हुँदा त्यहाँ दैनिक हुने लाखौंको व्यवसाय पनि गुमेको छ। भूकम्प आएको अर्को दिन नै चीनले खासाको बस्ती उठाएर लगेका कारण अहिले नाकाको दुवै क्षेत्र मानवरहित बन्न पुगेको हो।

तातोपानी नाका सञ्चालनमा हुदा दसैं–तिहार, जाडोजस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो। अहिले तातेपानी नाका मानवरहित जस्तै शुन्य बनेको छ। तातोपानी नाकामा बस्नेहरु भने सधैंका लागि व्यापार–व्यवसाय र घरबार छोडेर हिँडेका छन्।

भूकम्पको चपेटामा परेको तातोपानी नाकाका बासिन्दाका लागि गत वर्ष आएको बाढी पहिरोले बस्नै नसक्ने गराएको हो। खोंचमा रहेको तातोपानी नाकामा भूकम्पका कारण माथिबाट अनगिन्ति पहिरो आएका छन्। गत वर्ष भोटेकोसी नदीमा आएको बाढीले तलबाट बस्तीलाई तानेर बस्नलायक बाँकी छाडेको छैन। भूकम्पको पीडा नसेलाउँदै ठूला बाढीपहिरो आयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.