|

झापाः सबैतिर दसैँको माहोल छ अहिले। सबैले हर्षका साथ दसैँ बनाउँदै छन्। तर २०६० साल मंसिरयता उनीहरूको परिवारमा चाडवाड आएको छैन। चाडवाड मीठो मसिनो खाने बेलामा पनि सधैँ उनको परिवारको आँसु झर्छ। दुई जना भाइहरू बेपत्ता हुनुको पीडाले सधैँ सताउँछ उनलाई। उनी अर्थात् झापा दमक– १ का तीर्थराज बस्नेत। 

२०६० मंसिर १९ गते माइला भाइ पुष्प र मंसिर २८ गते कान्छा भाइ धीरेन्द्रलाई सेनाले काठमाडौँमा गिरफ्तार गरेयता उनको परिवारले दसैँ मनाएको छैन। उनको परिवारमा २०६१ सालको दसैँदेखि टीकासमेत लगाइएको छैन। उनी भन्छन्, ‘सुरुमा भाइहरू फर्कन्छन् र टीका लगाउने भन्दै बसियो, पछि भाइहरू पनि आएनन्, त्यतिकै टीका लगाउन पनि छाडियो।’ टीका हर्षमा लगाइन्छ तर उनलाई परिवार गुमाएको पीडा छ। ‘हामी कसरी खुसी हुने र?’, उनले आफ्ना भाइहरू अब नफर्किने बताउँदै भने, ‘अब हाम्रा भाइहरू फर्कंदैनन् भन्ने भइसक्यो, तर पनि किन सरकारले अवस्था सार्वजनिक गर्दैन।’

यो दसैँले सरकारलाई बेपत्ताको अवस्था सार्वजनिक गर्ने बुद्धि देओस्, बेपत्ता परिवारलाई सधैँ यसरी नतड्पाओस् भन्ने कामना गरे उनले। बेपत्ता परिवार नेतृत्वमा नपुगेकाले पनि बेपत्ताको अवस्था सार्वजनिक हुन नसकेको उनले बताए। उनले भने, ‘अरूलाई हाम्रो पीडा थाहा हुन्न, अब हामी पनि नेतृत्व तहमा जानुपर्छ अनि मात्र हाम्रा मान्छेको अवस्था थाहा हुन्छ।’ 

उनले देशमा यत्रो परिवर्तन हुँदा पनि बेपत्ताको अस्था सार्वजनिक नभएको भन्दै दुखेसो गरे। ‘सहमतिमै देशमा गणतन्त्र आयो, संविधान बन्यो, चुनाव भयो तर त्यति बेपत्ताको अवस्था सर्वजनिक भएन’, उनले भने, ‘प्रचण्ड अहिले पनि शक्तिमा छन्, उनले बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्छ।’

सोही परिवारका अर्का सदस्य वीरेन्द्र बस्नेत अब आफ्नो दाजु र भाइ फर्केर आउने आशा मरिसकेको बताउँछन्। उनी भन्छन्, ‘पक्कै पनि हाम्रा दाइ र भाइ आउँदैनन्। अब शहीद घोषणा गरिदिनुपर्छ, उहाँहरू फर्केर आउन संभव छैन।’ उनले पनि आफ्ना दाजु र भाइ बेपत्ता भएदेखि दसैँ नमनाएको बताए। ‘म पनि जेल बसेँ। त्यतिबेलादेखि नै दसैँ मनाउन छाडेको थिएँ, तर दाइ र भाइ बेपत्ता भएयता पनि मैले दसैँ मनाएको छैन’, उनले भने, ‘अब सायद दसैँ मनाइँदैन।’ यस पटक दसैँमा भने उनी आफू जस्तै बेपत्ता तथा शहीद परिवारका सदस्य भेट्ने सोचमा छन्।

यस्तै पीडाले अझै दसैँ मनाउन सकेकी छैनन् झापा गौरादहकी ५५ वर्षकी देवीमाया सुवेदीले। २०६१ मंसिर ६ गते उनका जेठा छोरा तात्कालीन अखिल क्रान्तिकारीका झापा जिल्ला अध्यक्ष रमेश सुवेदीलाई गौरादहमा तात्कालीन शाही सेनाले गोली हानेर मारेयता उनको परिवारमा दसैँ आउन सकेको छैन। उनलाई मात्र थाहा छ, २५ वर्षको लक्का जवान छोरा गुमाउनुको पीडा। ‘जवान छोरो गुमाएँ, दसैँ त त्यसबेलादेखि नै आउन छाडेको छ’, उनी भन्छिन्, ‘दसैँसँगै मन भक्कानिएर आउँछ, छोराको यादले दसैँ नै मनाउन सक्दिनँ, छोरा हुँदा त धेरै रमाइलो हुन्थ्यो।’

रमेशका भाइ पर्शुराम सुवेदी पनि आफ्नो दाजुलाई बिर्सिएर दसैँ मनाउन नसकेको बताउँछन्। पर्शुराम भन्छन्, ‘आफ्ना परिवार गुमाएर चाडवाड मान्नुको पीडा त हामीलाई पनि थाहा छ, बरु यो दसैँ तिहार त नआए पनि हुने।’ दसैँ आउनेबित्तिकै बुढेसकालका बाआमाको आँसु नरोकिने उनले बताए। अहिले देशको राजनीतिक अवस्था हेर्दा पनि आफू शहीद परिवारको भन्नै लाज लाग्ने अवस्थामा पुगेको उनी बताउँछन्। ‘मेरा दाइ जस्ता कयौँले देशका लागि बलिदानी दिए, तर अहिलेसम्म उपलब्धि शून्य छ। अरूको त के कुरा गर्नु, तात्कालीन समयमा परिर्वतन गर्छु भनेर बन्दुक बोकेर हिँडेको पार्टी नै फुटेको छ’, उनी भन्छन्, ‘उनीहरू एक भएर शहीदका सपना पूरा गर्नुपर्छ भन्ने हाम्रो माग छ।’

२०५९ सालमा भाइ बेपत्ता भएपछि गौरादहका डिल्ली रिजालले पनि दसैँ मनाउन छाडेका छन्। तात्कालीन माओवादीका जिल्ला सदस्य डिल्लीका भाइ तारा रिजाललाई बेपत्ता बनाएको थियो। उनलाई सेनाले भारतको सिलिगुढीबाट पक्राउ गरी चारआलीस्थित सेनाको ब्यारेकमा ल्याएको थियो। त्यहाँदेखि भाइको अवस्था थाहा नभएको न्यायका लागि द्वन्द्वपीडित समाजका अध्यक्षसमेत रहेका डिल्ली बताउँछन्।

‘भाइ बेपत्ता भएपछि दसैँ मनाएका छैनौँ, सुरुमा त धेरै वर्ष टीका पनि लगाएनौँ’, उनी भन्छन्, ‘अहिलेचाहिँ लगाउन थालेका छौँ।’ दसैँ आउनेबित्तिकै ७५ वर्षकी आमा चन्द्रमायालाई सम्हाल्नै गाह्रो पर्ने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘हाम्रा लागि त यो दसैँ पनि नआए हुने। भाइ बेपत्ता भएको दुई वर्षपछि बुबाको पनि भाइकै चिन्ताले मृत्यु भयो, दसैँ आउनेबित्तिकै बुढेसकालकी आमालाई सम्हाल्नै गाह्रो हुन्छ।’

भाइको जिउँदो ज्यान आउने अब उनमा विश्वास छैन। उनी भन्छन्, ‘अब त जिउँदो आउने र लाश आउने आशा पनि छैन तर कहिले भयो घटना, त्योसम्म जानकारी पाउन पाए हाम्रो संस्कारअनुसार किरिया गर्ने थियौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.