विचार

विजयादशमी एवं बडादसैँको शुभकामना ! शुभकामना !! शुभकामना !!
SHARES

फाइल फोटो
असोज १४, २०७४

    नेपाली मात्रको सबैभन्दा ठूलो चाड भएकाले यसलाई बडादसैँ भन्ने गरिएको हो। असत्यमाथि सत्यको विजय हुने विश्वासका साथ नौ दिन शक्तिको आराधना गरी दशौँ दिन विजयोत्सव मनाएर प्रसाद ग्रहण गर्ने पर्व भएकाले बडादसैँको दशौँ दिनलाई विजयादशमी भनिएको हो। तिहार नेपालीको दोस्रो ठूलो चाड हो।

    दसैँ र तिहार जस्ता मौलिक चाड मनाउने नेपालीका तरिका पनि मौलिक छन्। यसपछिका उधौली, उभौली, माघे संक्रान्ति, साउने संक्रान्ति फागु पूर्णिमा, माता तीर्थ औँसी, बाबुको मुख हेर्ने दिन कुशे औंसी, गुरु पूर्णिमा जस्ता चाडपर्व नेपालको हरेक क्षेत्रमा बस्ने अधिकांश जाति, समूह र संप्रदायले मान्ने र मनाउने गर्छन्। यी सबै यस्ता चाड हुन्, जसले नेपाली समाजको विविधतालाई जोड्न प्रमुख भूमिकासमेत राख्दै आएका छन्।

    यीबाहेक कृष्ण अष्टमी, छठ, नाग पञ्चमी, क्रिसमस, ईन्द्रजात्रा, ठूलो एकादशी, विवाह पञ्चमी, श्री पञ्चमी, ऋषि पञ्चमी, तीज, इदलगायतका कतिपय चाडपर्व पनि छन्, जसलाई नेपालभित्रका विभिन्न जात, धर्म र संप्रदायले आ-आफ्नो परम्पराअनुसार मनाउने गर्छन्। तर दसैँ र तिहारलगायत केही चाडवाडमा भने विश्वका जुनसुकै कुनामा बसेको नेपाली भए पनि प्रभावित हुन्छ। यसमध्ये दसैँ नै प्रमुख मानिन्छ।

    दसैँ मूलत: शक्तिको आराधनामा आधारित छ, यसमा पनि मातृशक्तिको उपसनामा दसैँका नौ दिन बिताइन्छ र दशौँ दिनदेखि नौ दिनको उपासनापछि प्राप्त हुने शक्तिका साथ फल, प्रसाद ग्रहण गर्ने गरिन्छ। युगौँदेखि मानिँदै आएको दसैँलाई पछिल्लो समय तेरो या मेरोका भावले देखाउने प्रयास नभएको होइन। तर पनि जहाँ नेपाली, त्यहाँ दसैँ-तिहार भन्ने भाव यथावत छ। जातीय र भौगोलिक विविधताका आधारमा हेर्दा दसैँ नेपालभित्र नै पनि फरक फरक ढंगले मनाइन्छ। कसैले दसैँमा बलि दिएर त कसैले जीवलाई स्वतन्त्र छाडेर मानाउँछन्। दसैँलाई कसैले धार्मिक दृष्टिले मनाउँछन् भने कसैले सांस्कृतिक पर्वका रूपमा त कसैले यसलाई सामाजिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा मनाउँछन्।

    दसैँमा परिवारका सदस्य जहाँ भए पनि एक ठाउँमा भेला हुने र आफूभन्दा ठूलाप्रति आदरभाव प्रकट गर्ने र सानालाई आशिष दिने गरिन्छ। अहिले अवसरको खोजिमा देशभित्र मात्र होइन, विश्वको एउटा कुनाबाट अर्को कुनामा भौँतारिइरहेको आधुनिक पुस्ताका लागि दसैँ नै यस्तो मौका हो, जसले टाढा पुगेका आफन्तलाई भेटघाटका लागि मौका जुराउँछ।

    दसैँका बारेमा देखिन थालेका विभाजित मतका सन्दर्भमा पूर्वीय दर्शनका ज्ञाता प्राध्यापक जगमान गुरुङ यो नेपालीको मौलिक चाड भएको बताउँछन्। 'रावणलाई रामले मारेर विजय भएको दिनलाई दसैँको रूपमा मनाइने भन्ने कुरा झूटो र आयातीत कुरा हो', गुरुङको मत छ, 'दुर्गा पूजा नेपालको पहाडमा विकास भएको संस्कृति हो, जसलाई यहाँका जनजातिले विकास गरे।'

    पहाडी जनजाति र खसहरूको दसैँसम्बन्धी मान्यता पूर्ण रूपमा फरक भएको उनको धारणा छ। उनका अनुसार देवी देउराली मान्ने पहाडी जनजाति र खसहरूबीच विकास भएको मात्र होइन, गंगाको मैदानबाट आएकाहरूसँगै भित्रिएको संस्कृतिको सम्मिश्रण हो दसैँ। उताबाट भित्रिनेहरूमा बडादसैँ अर्थात् यसको सांस्कृतिक पक्षभन्दा धार्मिक पक्ष बढी प्रभावशाली रूपमा रहेको छ।

    यसैगरी तराईमा प्रशस्त धान हुने भएकाले नेपालका थारू, धिमाल, राजवंशी, कायस्थलगायतका कुनै पनि जातजातिले अक्षताको टीका लगाउँदैनन्। तर उनीहरूमा दुर्गा पूजा र शक्ति माताहरूप्रति आदर भाव अझ बलियो रहने गरेको छ। पहाडमा धान कम हुने भएकाले अक्षतालाई प्रसादका रूपमा ग्रहण गर्ने पहाडका मानिस माझ निधारमा अक्षताको टीका लगाउने परम्परा छ, जुन परम्परा तराईमा पाइँदैन। यति मात्र होइन, उर्वर भूमि रहेको काठमाडौँ उपत्यकाका आदिवासी नेवार समुदायले त दसैँलाई विशेष भावका साथ मनाउने गर्छन्।

    सांस्कृतिक पर्वका दृष्टिले काठमाडौँ उपत्यका नेपाल मात्र होइन, विश्वकै प्रमुख स्थानमा गनिन्छ। काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि निर्माण भएका मठमन्दिर र चाडपर्व गन्ने हो भने नेपालका अन्य क्षेत्रका तुलनामा कैयौँ गुणा बढी छन्। यस अर्थमा काठमाडौँ उपत्यका राजनीतिको मात्र होइन, धार्मिक र सांस्कृतिक केन्द्र पनि हो भन्दा फरक पर्दैन। दसैँमा रातो टीका लगाउने चलन यहीँबाट सुरु भएको मानिन्छ।

    रातो टीकाको सुरुवात कसरी भयो भन्ने विषयमा प्राध्यापक गुरुङ भन्छन्, 'टीका त पहिले जनजातिले मात्र होइन, खस आर्यहरूले पनि सेतो नै लगाउँथे। किनकि आज पनि हाम्रोमा रातो रङ बन्दैन, भारतबाट आउँछ भने त्यो बेला कहाँबाट पाउनु र लगाउनु? नेवार बजारमा बस्थ्यो। ऊ व्यापार पनि गर्थ्यो। त्यसैले उसले पहिला रातो टीका लगाउन थाल्यो। पछिल्लो समयमा गाउँघरमा पनि अवीर आयो, सबैले रातो टीका लगाउन थाले।'

    दसैँका धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक जीवनचक्र, प्रणाली र जैविक विविधताको संरक्षणसँग जोडिएका पक्षहरू धेरै छन्। यसैले नागरिकता जहाँको लिए पनि नेपाली हुनुको नाताले नेपाली चाड दसैँले पछ्याउन कसैलाई छाड्ने छैन। समय, परिस्थिति र गच्छेअनुसार दसैँ मनाअौँ। असत्यमाथि सत्यको विजय दसैँको मूल मन्त्र नबिर्सौं। व्यक्ति, जात, क्षेत्र, समूह, संप्रदाय र दलको बलभन्दा राष्ट्र शक्तिशाली बनाउने सद्बुद्धि सबैमा आउने आशा गरौँ। नेपाली पहिचान, आपसी सद्भाव र पारिवारिक प्रेम बढाउनमा शक्तिमाताले प्रेरणा दिऊन्। सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि हरेक नेपालीका घर आँगनमा देख्न पाऊँ। विजयादशमी एवं बडादसैँको शुभकामना! शुभकामना!! शुभकामना!!

तीर्थ कोइराला

कोइराला थाहाखबर डटकमका प्रधान सम्पादक हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]