|

लहान : सप्तरीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने तिलाठी कोइलाडी गाउँपालिका १ का देवनारायण यादव र उनको छोरा अजय यादवलाई भारतीय प्रहरीले भारतीय युवती अपहरण गरेर बेपत्ता बनाएको भन्दै अनुसन्धानका लागि पक्राउ गरेको छ।

आइतबार गाउँ नजिकैको भारतीय क्षेत्रमा पर्ने सुपौल जिल्ला कुनौली बजारमा साथीसँग मेला हेर्न गएका अजयसहित तीन जनालाई होहल्ला गरेको भन्दै भारतीय प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

 त्यसलगत्तै दुई जनालाई छोडिए पनि अजयलाई प्रहरीले नछोडेपछि छुटाउन गएका देवनारायणलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले बताए। प्रहरीद्वारा पक्राउ गरिएका यादव बाबुछोरालाई सुपौल जिल्लाको वीरपुर थानामा राखिएको जनाइएको छ।

युवती अपहरणको मुद्दा

प्रहरी उपरीक्षक सिंहले सीमा सुरक्षाका लागि खटिएका नेपालतर्फका प्रहरीलाई कुनौली पठाएर गरिएको कुराकानीको क्रममा अजयले पछिल्लो जेठमा भारत कुनौली बजार बस्ने कौशल साहकी छोरी ज्योति साहलाई भगाएर विवाह गरेका थिए।

 ज्योति अहिले पनि अजयकी श्रीमतीको रुपमा कोइलाडीस्थित अजयको घरमा बस्दै आएकी छन्। त्यसको केही दिनपछि युवतीकी आमाले जेठ २० गते अर्थात् जुन ३ तारिखमा आफ्नी छोरीलाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै कुनौली प्रहरीमा उजुरी दिएको पाइएकाले त्यही मुद्दाको सिलसिलामा अनुसन्धानको लागि पक्राउ गरिएको भारतीय प्रहरीले जानकारी दिएको प्रहरी उपरीक्षक सिंहले बताए।

झुठो आरोप’ स्थानीय

भारतीय सीमावर्ती कुनौली बजार क्षेत्र हुँदै भारतले नेपाली भूमि डुबान हुने गरी खाँडो खोलामा एकतर्फी रुपमा बाँध निर्माण गर्न खोजेको विषयमा गत वर्ष नेपाल र भारतीय सीमावर्ती क्षेत्रका बासिन्दाबीच झडप भएको थियो।

भारतीय हस्तक्षेपको विरुद्ध स्थानीय बासिन्दाको नेतृत्व गर्दै भारतीयको प्रतिकार गरेका यादवलाई त्यसपछि भारतीय प्रहरीले निगरानीमा राख्दै आएकाले पक्राउ गरिएको स्थानीय बासिन्दा दावी गर्छन्। भारतीय पक्षले खाँडो नदीको बहाव रोकिने गरी दसगजा मिचेर बाँध बनाउन लागेपछि यादवको नेतृत्वमा स्थानीय बासिन्दाले प्रतिकार गरी बाँध बनाउन दिएका थिएनन्।

छुटाउन पहल थाल्यौं : प्रजिअ

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार देवनारायण र उनका छोरा अजयलाई छुटाउन भारतको सुपौल जिल्ला प्रमुखसँग कुराकानी भइरहेको छ। सुपौलका जिल्ला प्रमुखले कुनौली प्रहरीमार्फत घटनाको विषयमा यथार्थ जानकारी लिएपछि पुनः कुराकानी गरिने बताएको पनि प्रजिअ पाण्डेले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.