|

सप्तरी : सीमा बचाउ अभियानमा लागेका कोइलाडी तिलाठी गाउँपालिका २ का स्थानीय नेता देवनारायण यादव र उनका छोरा अजयकुमार यादवलाई भारतीय प्रहरीले आइतबार पक्राउ गरी सोमवार जेल चलान गरेको छ। 

देवनारायणका दाजु रामनारायण यादवले दशगजा क्षेत्रमा रहेको आर्दश ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेर्न गएका अजयलाई रक्सी खाएर होहल्ला गरेको झुठो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेपछि छुटाउन गएका बाबु देवनरायणलाई समेत पक्राउ गरी भारतको बिहार अन्तरगत रहेका सुपौलको वीरपुर जेल चलान गरेको गुनासो पोखे । 

भारतको कुनौली थानाका प्रमुख विनोद यादवका अनुसार देवनारायण, उनका छोरा अजय र कोइलाडी तिलाठीका विजयकुमार यादवविरुद्ध अपहरण मुद्दा दर्ता रहेकाले आफूहरुले पक्राउ गरेको बताए। 

गत जेठ २० गते भारतको बिहारस्थित कुनौली १ का १८ वर्षीया ज्योतिकुमारीलाई अपहरण गरेको उजुरी उनका दाजु सञ्जीवकुमार साहले दर्ता गराएको विनोदले सुनाए। उनले बाबुछोरा दुवैलाई जेल पठाएको स्वीकारे। ज्योतिका दाजुले दिएको उजुरीमा अपहरण घटना सन् २०१७ मे ३१ तारेखमा भएको उल्लेख छ। 

ज्योतीले अजयसँग प्रेम विवाह गरी अजयको घरमा बस्दै आएकी छिन्। ज्योतीले आफू अजयसँग प्रेम गरेर स्वेच्छाले विवाह गरी बसिरहेको सुनाइन्। 

गत वर्ष भारतीय सुरक्षाकर्मीहरुले दशगजा क्षेत्रमा एकतर्फीरुपले बाँध बाधिरहेको बखत भातीयसँग भएको झडपमा देवनारायण घाइते भएका थिए। सरकारले उनको उपचार खर्चसँगै 'सच्चा राष्ट्रियवादी'को सम्मानपत्र समेत दिएको थियो। 

रामनारायणले आफ्ना छोराले ज्योतिसँग विवाह गरेको ६ महिना बितिसकेको अवस्थामा प्रहरीले पुरानो रिसइबीको आधारमा पक्राउ गरेर जेल चलान गरेकोले आफूहरु अन्यायमा परेको गुनासो पोखे । 

उनले आफूहरु ६ महिनादेखि कुनौली आउँदा जाँदा केही नगर्ने तर अहिलेको चाडपर्वको मौका छोपी पक्राउ गर्नुको पछाडि गत वर्षको झडप नै प्रमुख कारण भएको सुनाए। 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले देवनारायणको छोराले उमेर नपुगेको भारतीय केटीसँग विवाह गरेकोले केटी पक्षले दिएको उजुरीका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको बताए। उनले गत वर्ष भारतीय प्रहरीसँग भएको झडपसँग यो घटनाको कुनै सम्बन्ध नभएको सुनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.