|

डडेल्धुरा : प्रदेश नं ७ का पहाडी जिल्लाका अधिकांश सडकमा ट्राफिक चिह्न हराउँदै जाँदा दुर्घटनाको जोखिम बढेको छ। अधिकांश ठाउँमा ट्राफिक चिह्न हराउँदै जाँदा सवारी चलाउँदा दुर्घटनाको सम्भावना बढी हुने गरेको चालकको भनाइ रहेको छ।

महाकाली राजमार्गसहित, दशरथचन्द राजमार्ग, भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग र जयपृथ्वी राजमार्गमा ट्राफिक चिह्न जीर्ण बन्दै गएकाले सवारीसाधन सञ्चालनमा कठिनाइका साथै दुर्घटना बढ्ने सम्भावनासमेत रहेको छ।

स्थानीय रुटमा सवारीसाधन चलाउनेलाई स्थानीय सडकबारे थाहा हुने भए पनि लामो दूरीका गाडी चालकलाई भने निकै नै समस्या हुने गरेको मिनी ट्रक चालक अमर बहादुर मगरले  बताए।

केही मात्रामा ट्राफिक चिह्न राजमार्गमा भए पनि तिनीहरु जीर्ण भइसकेको तथा टुटफुटको अवस्थामा रहेका छन्। सुदूरपश्चिमका पहाडी सडकमा ज्यान जोखिममा राखेर सवारीसाधन चलाउनु परेको समेत चालक  मगरले बताएका छन्। यस विषयमा सडक डिभिजन र ट्राफिक प्रहरीले विशेष ध्यान दिनुपर्ने चालकहरुको भनाइ छ।

सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका इन्चार्ज तथा प्रहरी उपरीक्षक योग बहादुर पालले सुदूरपश्चिमका पहाडी सडकमा अधिकांश ठाउँमा ट्राफिक चिह्न नभएको र भएको ठाउँमा पनि जीर्ण अवस्थामा रहेको स्वीकार गरे। उनले प्रदेश नं ७ का पहाडी जिल्लामा ट्राफिक चिह्न नहुँदा दुर्घटना हुनसक्ने भन्दै सडक विभागसँग समन्वय गरी यो कार्य अघि बढाइने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.