विचार

वाम एकता : समाजवादका लागि वा सत्ता दाउपेचको हतियार?
SHARES

असोज १८, २०७४

    धेरै विश्लेषणहरूपश्चात् एउटा तथ्य सजिलै भन्न सकिन्छ कि एक्लै सक्ने भए आजका मितिसम्म एमालेले एक्लैको बहुमतको सरकार चलाउनुपर्ने थियो। माओवादी चुनवाङको गोरेटोबाट १२ बँुदेमा नआई युद्ध तोप र ट्यांकरको घेराभित्र हसिया–हथौडाको रातो झण्डा बोकेर सिंहदरबारका यमानका पर्खाल भत्काउँदै, नारायणहिटी चकनाचुर पारेर १९औँ र २०औँ शताब्दीका रसियाली जारशाही र चिनियाँ च्याङ काइसेकको  अर्को संस्करणको अवसानको अट्टहासमा पुलकित हुनुपर्ने थियो। 

    एमाले पक्षलाई लगाएको आरोप मुताविक एमाले अघि बढ्न सकेको भए यसो त पक्कै हुनुपर्ने थियो कि उसले कथित संसदीय भासको बहुमत वा दुई दिहाई प्राप्त गर्नुपथ्र्यो। ०४६ पछिको उसले जम्मा नौ महिना, त्यो पनि अल्पमतको सत्ता सञ्चालन गर्‍यो। त्यसपछिको सम्पूर्ण यात्रा कि त कांग्रेसको कि त दरबारको सहायतामा वा पिछलग्गु भएर आफ्नो यौवन यथावत् राखेको तीतो यथार्थलाई एमालेजनले नकारे पनि साक्षी रहेको इतिहासले पक्कै नकार्दैन। 

    कुनै बेला माओवादीलाई साइजमा राख्न भाइ कांग्रेसको भूमिकामा राजनीतिक रंगमंचमा खुब जमेको सो पार्टीलाई साम्राज्यवादी र विस्तारवादीहरूले सधैँ कम्युनिष्ट नै देखेर कहिले गैरसरकारी संस्थामार्फत् त कहिले प्रतिक्रियावादीको सत्ता साँठगाँठमार्फत् हसिया–हथौडाप्रतिको मोहभंग गराइरह्यो। एक्लै गरिखान्छु भनेर घर छाडेर हिँडेका छोराका सबैतिरका बाटा जब बन्द हुन्छन् र उसको हिम्मत कमजोर हुन्छ अनि उसले अँध्यारो रातमा जूनको सहारामा रूखमा झुण्डिने विकल्प रोज्छ। सायद नेपाली वामपन्थी राजनीतिमा एमालेले धेरै पटक आत्महत्याको बाटो रोज्दै आएको छ। तर, कहिले डोरी कम्जोर पर्छ त कहिले बिष नक्कली पर्छ। सायद त्यसकै भुतले सताएर हो, ऊ झापा विद्रोहसँग साइनो गाँस्न पनि तर्सिन्छ। 

    आफूलाई सबैभन्दा ठूलो प्रजान्त्रवादी, शान्तिवादी, गान्धीवादी पार्टीको रूपमा चिनाउने नेपाली कांग्रेसका कुनै पनि नेता वा कार्यकर्ता कहीँ कतै उभिएर आफ्नो पार्टीको बारेमा दुई शब्द मात्र बोल्नपर्‍यो भने पनि आफूले हतियार उठाएर मान्छेको टाउका काट्दै गरेको सशस्त्र विद्रोह र विमान अपहरण गरेर पैसा संकलन गरेको कुरा सबैभन्दा पहिला स्वास लामो, छाती भारी र नाक ठाडो पारेर गर्छन् र जीउको सम्पूर्ण रगत दाहिने हातमा पुर्‍याएर ‘जय नेपाल’ भन्छन्। 

    यता, एमाले छ, कम्युनिष्ट  पार्टीको घोषणापत्र सिरानीमा राखेर सुत्छ, माक्र्सवाद पढ्छ तर जब विद्रोह, क्रान्ति, सशस्त्र हस्तक्षेपका वाक्य वा छिटा मात्र वरपर देखियो भने गरुड देख्दा सर्प लुत्रुक्क परेजस्तो, नौनाडी गलेजस्तो, हारेको जुवाडेजस्तो खिन्न पर्छ। सायद त्यसैले हो, ऊ पटक–पटक आत्महत्याको बाटोबाट गुज्रिँदै आएको छ। तर पनि साम्राज्यवादी र विस्तारवादीको नजरमा ऊ हसिया–हथौडाधारी कम्युनिष्ट हो। ऊ मृत छैन। मौसम फेरिँदै पाउलिन्छ।

    एमालले माओवादीलाई लगाएको आरोपअनुरूप यो साँच्चै उग्रवादी रहेको हुन्थ्यो भने लिट्टेहरू जस्तै राजनीतिको रंगमंचबाट विलय भइसक्थो। जडसूत्रवादी मात्र रहन्थ्यो भने जड भएर सकिन्थ्यो होला। किरणले उक्त यात्रा रोजे पनि माकेले त्यो स्वीकार गरेन। आज पनि मुलुक संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीको मुद्दालाई संस्थागत गर्ने महान् पर्वमा जुटेको छ, जुन माकेको फ्याक्ट्रीबाट उत्पादित ब्राण्डेड माल हुन्। भलै यसलाई ठाउँ, गाउँ, सन्दर्भअनुरूप कालोबजारियाहरूले बेला बखत आफ्नो उत्पादनको लोगो टाँसेर बजार नबुझ्ने ग्राहक समक्ष बेच्ने गर्दछ। 

    खारा, जुम्ला र बन्दीपुरबाट मरणासन्न हुने गरी लखेटिएपछि बल्ल आएको होस सम्हाल्दै चुनवाङ पुगेर लामो सास फेर्ने तपाईं। कांग्रेससँग सहकार्य गरेर १२ बुँदेमा रमाउने तपाईं। पहिलो संविधानसभामा पहिलो पार्टी हुने तपाईं। ढंग नपुर्‍याएर सत्ताको पहलकदमी गुमाउने अभियानको मतियार बन्ने तपाईं। समाजवाद भन्दै गफ चुटेर बस्ने तपाईं। एजेण्डा र सन्दर्भलाई पार्टीमा दाउपेच र सौदाबाजीको मुख्य आधार बनाएर हरेक मुद्दालाई आफूअनुकूल व्याख्या गर्ने र पार्टीको मुख्य जीवनको हुर्मत काड्ने तपाईं।

    अहिले बजारमा एमाले र माकेको तालमेल र एकताको सन्दर्भले दुवैतिर मात्र नभएर चौतर्फी एउटा रहस्यमय जिज्ञासा पलाएको छ। यो तालमेल वा एकता केका लागि? प्रदेश नम्बर २ को चुनावी परिणामपश्चात् एमालेमा उत्पन्न अन्तरविरोध र आगामी निर्वाचनपश्चात नेपाली राजनीतिमा सर्वाधिक लामो समयसम्म आफू एक्लिने सुदूर भयका कारण माकेको सपोर्टमा त्यो क्षतिपूर्ति गर्ने कुत्सित मनोविज्ञानबाट त प्रेरित छैन? वा माकेले समग्र स्थानीय चुनावको समीक्षा गर्दै आगामी चुनावमा आफ्नो साइज अलिकति फराकिलो पार्ने अपरिपक्व दिवास्वप्नबाट त ग्रस्त छैन? यी दुवै स्वार्थमा एकता वा तालमेल असान्दर्भिक र अप्राकृतिक हुनेछ।

    विशेषतः यो एकताको प्रसंगले केही माक्र्सवादी विद्वान तिलमिलाएका देख्दा उदेक लाग्छ। विद्वानहरूलाई भन्नु केही छैन। तर तिममिलाएका केही आफ्नै र उतापट्टिका मित्र एवं ‘कमरेड’हरूसँग केही प्रश्न उठाउन आवश्यक छ। पहिलो प्रश्न माकेका मित्रहरूसँग।

    त्यसो भए के गर्ने त? संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक हाम्रो भाषामा जनवादी क्रान्तिका मुख्य आधार, जुन अहिलेको संविधानमा समेटिएको छ, यो कसरी प्राप्त भयो? खारा, जुम्ला र बन्दीपुरबाट मरणासन्न हुने गरी लखेटिएपछि बल्ल आएको होस सम्हाल्दै चुनवाङ पुगेर लामो सास फेर्ने तपाईं। कांग्रेससँग सहकार्य गरेर १२ बुँदेमा रमाउने तपाईं। पहिलो संविधानसभामा पहिलो पार्टी हुने तपाईं। ढंग नपुर्‍याएर सत्ताको पहलकदमी गुमाउने अभियानको मतियार बन्ने तपाईं। समाजवाद भन्दै गफ चुटेर बस्ने तपाईं। एजेण्डा र सन्दर्भलाई पार्टीमा दाउपेच र सौदाबाजीको मुख्य आधार बनाएर हरेक मुद्दालाई आफूअनुकूल व्याख्या गर्ने र पार्टीको मुख्य जीवनको हुर्मत काड्ने तपाईं। दोस्रो चुनाव र स्थानीय तहको चुनावमा सुतेर बस्ने तपाईं। बाघ जस्तो पार्टी मुसा जस्तो हुँदा पनि आफूलाई रत्ति नबदल्ने तपाईं अनि पार्टीले अर्को साहसिक पलकदमी लिनुपर्छ भनेर बहस चलाउँदा बुरुक्क उफ्रिने पनि तपाईं? 

    त्यसो भए अब के गर्ने? तपाईं जस्ता मान्छेहरूको सानो जमात बोकेर मात्रै समाजवाद आउने बाटो कुन हो? अझ म त भन्छु, समाजवादी यात्राको लागि माओवादमै परिमार्जन गर्दा हुन्छ। माओ मात्र पढेर समाजवादको वैचारिक नेतृत्व हुन सक्दैन। दीर्घकालीन जनयुद्धको युग समाप्त भयो। यसको सहायतामा हामीले गौरवपूर्ण परिवर्तन गर्‍यौँ। गणन्त्रण आयो। यो माओवादी विचारको परिश्रमको देनको रूपमा युगले सम्झनेछ। अब अगाडि बढ्न आवश्यक छ। दायरा फराकिलो पार्न आवश्यक छ। जनवादी क्रान्तिसम्मको लागि माओवादी हुँदै माकेसम्मको यात्रा रोमाञ्चक र ऐतिहासिक रह्यो। यसमा कसैले पछुतो र ग्लानि मान्नुपर्ने आवश्यकता छैन। अब समाजवादको सपना बोक्ने हो भने वाद र संगठन दुवै फेर्न आवश्यक छ। त्यसको मतलब बाबुरामजी जस्तो माक्र्सवाद परित्याग गरी अदृश्य र अलौकिक चिजको खोजी पनि भन्ने होइन।

    यता, एमाले जनसँग पनि केही प्रश्न गर्नु आवश्यक छ। के एनजीकोको सहायताले मात्र मुलुकको समाजवाद संभव छ। सधैँ अल्पमतमा बस्ने, सत्ता बार्गेनिङमा रमाउने अनि भ्रम छरेर प्राप्त गरेका निम्छरा प्रतिनिधि खरिद–बिक्रीमा अल्मलिएर माक्र्सवादको रक्षा र विकास संभव छ? कति वर्ष भयो समाजवादको सपना देख्न छाडेको? अब त निद्रा र सपनाको साइनो पनि हराइसक्यो होला।

    भर्खरै नेपालको एउटा राष्ट्रिय पत्रिकाले २५० वर्षदेखि आजसम्मको २५ जना राष्ट्रिय व्यत्तित्वहरूको सर्वेक्षण सूची प्रकाशन गर्‍यो। त्यसमा आजको मितिमा एक जना मात्र जिउँदो मान्छेको नाम छ, त्यो हो प्रचण्ड। यसर्थ प्रचण्ड एक इमान्दार क्रान्तिकारी योद्धा हुन् भन्ने सर्वाधिक तथ्य त्यसैले उजागर गर्छ। उनले भनेका छन्, ‘आफ्नै जीवनमा नेपालमा समाजवाद संभव छ।’ यो तालमेल वा एकता त्यताबाट प्रेरित हो भने योभन्दा अर्को सुखद समाचार कुनै पनि वामपन्थी, कम्युनिष्टहरूका लागि हुनै सक्दैन।

    नेतृत्वलाई विश्वास गरेर मात्रै युग परिवर्तनमा योगदान पुर्‍याउन सकिन्छ। मण्डेलालाई कालाहरूले विश्वास नगरेका भए, गान्धीलाई भारतीयहरूले विश्वास नगरेका भए, माओलाई चिनियाँहरूले विश्वास नगरेका भए, लेनिनलाई मजदुरहरूले विश्वास नगरेका भए उनीहरूको पालामा त्यत्रा महान परिवर्तन संभव थिएनन्। 

    (लेखक माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन्।)

गणेश उप्रेती

उप्रेती माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]