|

काठमाडौं  धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सब स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा ‘लोडसेडिङ’को तालिका आउने सङ्केत देखापरेको छ। 

ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई दृष्टिगत गरी भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली नेपाल भित्रिन नसक्ने अवस्थाले यस्तो सङ्केत देखाएकोहो । मुजफफपुर–ढल्केवर प्रसारण लाइनबाट नेपालले २०० मेगावाट बिजुली आयात गर्ने योजना बनाएको थियो।

गत वर्षको हिउँदमा हाल यो प्रसारण लाइनबाट करिब १४५ मेगावाट बिजुली आयात गरिएको थियो। विभिन्न नाका भएर गत वर्ष भारतबाट ३८५ मेगावाट जति आयात गरेको नेपालले ढल्केवरसहित यस वर्षको हिउँदमा यो वर्ष ४८० मेगावाट ल्याउने तयारी गरिरहेको थियो । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार २२० केभी क्षमताको सव स्टेसन निर्माणका लागि ठेक्का सम्झौता भएको चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सीपीपीजी) ले सन्तोषजनक काम नगरेपछि उससँगको ठेक्का सम्झौता तोडिएको छ। अर्को ठेक्का प्रक्रिया गर्न लामो समय लाग्ने भएकाले प्राधिकरणलाई आगामी हिउँदको समयमा यस्तो चुनौती थपिएको हो। 

निर्धारित समयमा काम गर्नका लागि ठेकेदार कम्पनीसँग ऊर्जा मन्त्री, ऊर्जा सचिव तथा प्राधिकरणका उच्च अधिकारीले विभिन्न पटक आग्रह गरेका थिए तर ठेकेदार कम्पनीले गत साउनमै ८० प्रतिशत काम सम्पन्न गरिसकेको सव स्टेसनमा पछिल्लोपटक काम ठप्प रोकेपछि प्राधिकरणले ठेक्का तोड्न बाध्य भएको जनाएको छ । 

देशभरि नै विद्युत् माग बढिरहेका बेला भारतबाट बिजुली आयात गर्ने योजना सफल नहुँदा आउँदो हिउँदमा उपत्यकालगायतका लोडसेडिङमुक्त गरिएको स्थानमा विद्युत् आपूर्तिमा केही समस्या आउन सक्ने प्राधिकरणका अधिकारीले बताएका छन् । 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, 'यो प्रसारण लाइनबाट यो वर्ष कम्तीमा २०० मेगावाट ल्याउने योजना बनाएका थियौं तर ढल्केवर सवस्टेसे ठेक्का तोडिएपछि हाललाई यो सम्भव नहुने भयो।'

ढल्केवर सवस्टेसनमा ठेकेदार कम्पनीले प्रभावकारीरूपमा काम गरेको खण्डमा दुई महिनाभित्र सम्पन्न हुने थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो चिनियाँ कम्पनीसँगका ढल्केवर, इनरुवा र हेटौँडा गरी तीनवटा सब स्टेसनको ठेक्का तोडिएको जानकारी दिए। ठेक्का तोडिएपछि तीनवटा सब स्टेसनको काम अवरुद्ध भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.