|
डिलाशैनी गाउँपालिका-७ धामीगाउँ पशुसेवा केन्द्रको जीर्ण भवन।

बैतडी : बैतडीको डिलासैनीमा रहेको पशुसेवा केन्द्रमा कर्मचारी नहुँदा पशुपालक किसान मार्कामा परेका छन्। पशुसेवा कार्यालयमा खटिएका तीनजना प्राविधिक कार्यालयमा नबस्दा किसान सेवाबाट वञ्चित बनेका हुन्।

डिलासैनी ७ धामी गाउँमा रहेको पशुसेवा केन्द्र ‘ख’मा तीनजना प्राविधिकमध्ये पछिल्लो समय एकजना शंकर साउद कार्यरत थिए। अहिले उनी पनि कार्यालय नभेटिने गरेको स्थानीय पंकज धामीले गुनासो गरे। ‘कार्यालय सधैं बन्द हुन्छ, प्राविधिकहरुलाई गाउँमा नभेटेको महिनांै भइसक्यो’ उनले भने।

धामीगाउँमा पछिल्लो एक हप्तामा मात्रै दुई बाख्रा र १ खसी अज्ञात रोगका कारण मरेका छन् भने आधा दर्जन बाख्रा बिरामी रहेको स्थानीय कृषकले बताएका छन्। तर, प्राविधिक नहुँदा रोगको उपचार तथा नियन्त्रणका लागि समस्या भएको छ। पशुसेवा कार्यालय विगत एक वर्षदेखि बन्द अवस्थामै देखिने गरेको स्थानीय बताउँछन्।

कार्यालयमा सधैं ताला लगाइको भेटिन्छ। तीन वर्षअिघ बनेको दुईकोठे पक्की भवन पनि रेखदेख नहुदा जीर्ण बनेको छ। कार्यालयमा कुनै बोर्ड पनि राखिएका छैन भने कोठा पनि खुलै छाडिएको छ।

कार्यालय सहयोगीकै घरमा केही औषधी राखिएको तर कार्यालय सधैं बन्द हुने गरेको स्थानीय लक्ष्मण धामीले बताए। प्राविधिकहरु कार्यालयमा तथा गाउँमा नबस्दा नाम मात्रैको सेवा केन्द्र भएको भन्दै नागरिकहरुले गाउँमा प्राविधिक पठाउन माग गरेका छन्। प्राविधिक सदरमुकाम गएको त्यसपछि नफर्केको डिलासैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्र बोहराले बताए।

उनले छिट्टै पशुसेवा केन्द्र धामी गाउँमा प्राविधिक खटाएर किसानलाई सेवा दिने प्रतिबद्धता जनाए। ‘प्राविधिकको मनपरी रोक्न म लागिपरेको छु,’ उनले भने, अहिले प्राविधिकको टेलिफोन सम्पर्कमा समेत छैनन्।’

जिल्लाका १३ स्थानमा पशुसेवा कार्यालय राखिएका छन्। तर अधिकांस सेवा केन्द्रहरुमा प्राविधिक नहुदा किसानले पशुचौपायका लागि औषधी र उपचार सेवा पाउन सकेका छैनन्।  जिल्लाको पाटनमा जिल्ला पशुसेवा कार्यालयबाट मात्रै नियमित सेवा दिईने गरिएको छ। जिल्ला सदरमुकामको गोठलापानी र पुर्चौडी नगरपालिकाको हाटमा पशुसेवा केन्द्र ‘क’ सञ्चालनमा छन् भने रिम, श्रीकोट, गिरेडा, कुलाउ, शर्माली, सकार, रौलेश्वर, गाजरी र देहीमाण्डौमा सेवाकेन्द्र ‘ख’ राखिएको छ।

सबै सेवा केन्द्रहरुमा २ जनादेखि ३ जनासम्म प्राविधिक खटाईएको पशु सेवा कार्यालय पाटन बेतडीका सूचना अधिकारी देवीदत्त भट्टले बताए। धेरै स्थानमा प्राविधिकहरुसँग टेलिफोन सम्पर्क हुन नसक्दा सेवा प्रवाहको अवस्था अवस्था बुझ्न समस्या भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.