|

वीरगञ्ज : प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि नेपाली कांग्रेस र  संघीय समाजवादी फोरम नेपालले पर्साबाट उम्मेदवारहरुको नाम केन्द्रीय कार्य समितिमा सिफारिस गरेका छन्।

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि पर्साको क्षेत्र नम्बर १ बाट सात जनाको नाम सिफारिस गरेको छ। सांसद अनिलकुमार रुंगटा, पूर्व सभासद ओमप्रकाश शर्मा, राजकृष्ण अमात्य,  ईश्वरभक्त श्रेष्ठ, विजय सर्राफ, विश्वनाथ शर्मा र प्रकाश उपाध्यायको नाम सिफारिस गरेको कांग्रेस पर्साका जिल्ला सचिव श्याम पटेलले जानकारी दिए।  

यस्तै क्षेत्र नम्बर २ बाट पूर्व सभासद एवं केन्द्रीय सदस्य अजय चौरसिया र सांसद राजेन्द्रबहादुर अमात्यको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर ३ बाट सांसद सुरेन्द्र चौधरी र शम्भु चौहान तथा क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य रमेश रिजाल र किशोरी साह कानुको नाम केन्द्रीय कार्य समितिमा सिफारिस भएको जिल्ला सचिव पटेलले जानकारी दिए।

क्षेत्रीय समितिबाट अजय चौरसियाको नाम मात्र सिफारिस भए पनि जिल्ला समितिले राजेन्द्रबहादुर अमात्यको नाम थपेर २ जनाको सिफारिस गरेको स्रोतले जनाएको छ।

फोरमबाट पनि उम्मेदवार सिफारिस

फोरम नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा १ मा जिल्ला अध्यक्ष प्रदीप यादवको मात्र नाम सिफारिस भएको जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले जानकारी दिए। क्षेत्र नम्बर ३ मा भने प्रहलाद गिरी र हरिनारायण रौनियारको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ र ४ को निर्णय गर्न भने बाँकी रहेको उपाध्यक्ष कुर्मीले बताए।

प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ को क बाट सांसद एवं केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दी, क बाट जन्नत अन्सारी, क्षेत्र नम्बर २ को क बाट रामनरेश यादव र ख बाट मुकेश द्विवेदी, क्षेत्र नम्बर ३ को क बाट मन्जुर अन्सारी र ख बाट विद्याञ्चल ठाकुर र गौरीशंकर साह तथा क्षेत्र नम्बर ४ को ख बाट वीरेन्द्र यादवको नाम सिफारिस भएको फोरम नेपालका जिल्ला उपाध्यक्ष कुर्मीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.