गालामा किस गर्ने, नेपाली गीतमा नाच्ने, ह्यान्डचेक गर्ने लगायतका प्रस्तुति

|

रुकुम : रुकुम सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा जारी रुकुम पर्यटन तथा सांस्कृतिक महोत्सवको मुख्य आकर्षणको रुपमा मुरुभूमिमा पाइने जनावर उँट देखिएको छ। महोत्सव हेर्न आउने अधिकांश अवलोकनकर्ताले उँट हेरेर मात्र फर्किने गरेका छन।

 उँटले गालामा किस दिएर माया गर्ने, नेपाली गीतमा नाच्ने, ह्यान्डचेक गर्ने लगायतका विभिन्न प्रस्तुतिहरु देखाउने गरेको छ। उँट बुटवलका शिवलाल गौतमले महोत्सवको प्रदर्शनका लागि जिल्लामा पहिलोपटक भित्र्याएका हुन्।

२ वर्षअघि भारतको राजस्थानबाट करिब १० लाखमा ल्याएका उनले विभिन्न महोत्सवमा स्टलको रुपमा राखेर टिकट सोमार्फत आम्दानी गर्दै आएका छन्। सञ्चालक गौतमले रुकुममा पहिलोपटक उँट ल्याएका कारण पनि महोत्सवमा उँट हेर्नेहरुको संख्या बढी रहेको बताए। तस्बिर र भिडियोहरुमा मात्र उँट हेरेका रुकुमेलीहरु प्रत्यक्ष रुपमा हेर्न पाउँदा दंग परेका छन्।

 महोत्सवमा पहिलोपटक उँट हेरेका रुकुम खलंगा गणेश बिकले महोत्सवमा उँट हेर्ने काम आफ्नो लागि नयाँ अनुभव भएको बताए। असोज १९ देखि सुरु भएको महोत्सव ३० गतेसम्म सञ्चालन हुने महोत्सव आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिए। उनका अनुसार महोत्सवमा दैनिकजसो आउने दर्शक बढिरहेको छ।

महोत्सवमा दुई दर्जन बढी विभिन्न सांस्कृतिक तथा व्यावसायिक स्टल रहेका छन्। चाडपर्वका कारण व्यापारिक स्टलमा किनमेलको भीड रहेको छ। महोत्सवमा नेपाली चलचित्रका नायक भुवन केसी र झरना थापा लगायतका अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति देखाइसकेका छन् भने अन्य चर्तित कलाकारहरुको दैनिकजसो प्रस्तुति रहने आयोजकले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.