|

कैलालीः नेपाली साहित्यको लोकप्रिय विधा मुक्तकको उन्नयनमा क्रियाशील कैलाली टीकापुरका प्रतिभाहरूले मुक्तक मञ्च नेपालको सपना डेढ दशकअघि नै देखेका थिए। तर संस्था दर्ता भयो गएको भदौ महिनामा। 

मुक्तकमा समर्पित स्रष्टाहरूलाई सम्मान, कृति प्रकाशनको उद्देश्य राखेको मञ्चले पहिलो कार्यक्रम मुक्तक बसाइको शृंखलाबाट सुरु गरेको छ। पहिलो शृंखलाका लागि प्रमुख अतिथि थिए, विगत अढाई दशकदेखि मुक्तककै मलजल गर्दै आएका रमेश पौडेल। 

त्यसो त शनिबार बिहानै सुदूरपश्चिमाञ्चल क्षेत्रका प्रायः सबै जिल्लाका मुक्तककारहरू टीकापुर पुगिसकेका थिए। विशेष आमन्त्रित अतिथि थिए, सुदूरपश्चिमाञ्चल गजल मञ्चकी संस्थापक श्रेष्ठप्रिया पत्थर, आख्यानकार गगनसिंह थापा,  टीकापुर नगरपालिकाकी उपप्रमुख कवि केशरी विष्ट, डा. पुष्करराज भट्ट र कर्णबहादुर थापा। 

मञ्चका अध्यक्ष निर्दोष डेविटको सभापतित्वमा सुरु भएको ‘मुक्तक बसाइ’को उद्घाटन गरे प्रमुख अतिथि रमेश पौडेलले पानसमा बत्ती बालेर। अतिथि मुक्तककारहरूलाई मुक्तकमै गीत गाएर स्वागत गरिन्, मञ्चकी सदस्य माधवी बगरले। मुक्तकवाचनकै बीचमा विशेष अतिथि उपप्रमुख बिष्ट र प्रमुख अतिथि पौडेललाई ‘सरप्राइज’ दिँदै मुक्तककार पौडेललाई अभिनन्दन र सम्मान गर्न उठाइयो। मुक्तकवाचन चलिरह्यो, तालीका पर्रा छुटिरहे। 

सुदूरपश्चिमाञ्चल गजल मञ्चकी संस्थापक श्रेष्ठप्रिया पत्थरले शुभकामना दिँदै भनिन्, ‘मुक्तक मेरो पनि प्रिय विधा हो, आउँदो साल मेरो मुक्तकसंग्रह प्रकाशन गर्ने जिम्मा आजै मुक्तक मञ्च नेपाललाई दिएँ।’ हलमा फेरि खुसी छायो। आख्यानकार गगनसिंह थापा मञ्चलाई सफलताको शुभकामना दिए भने टीकापुर नगरपालिकाकी उपप्रमुख कवि केशरी विष्टले मुक्तक सुनाउँदै भनिन्, ‘मुक्तक मञ्चलाई मेरो सबै सहयोग हुन्छ।’ 

प्रमुख अतिथि निकै भावुक हुँदै आफूले यो अभिनन्दन पाउँला भनेर मुक्तकलाई माया नगरेको बरु मुक्तक आफ्नो रुचि भएको बताए। उनले आयोजकप्रति अभारी हुँदै टीकापुरको माटोलाई मुक्तकमै अर्घ चढाए। 

जिन्दगीको यात्रा भन्नु अनगिन्ती बाटो
ठूलो केही हुन्न होला सिर्जनाको साटो
मन फुल्छ सिर्जनामा, फुल्छ रस्तीबस्ती
मुक्तकमा उर्वरिलो टीकापुरको माटो!

मञ्चका अध्यक्ष निर्दोष डेविटले मञ्च स्थापना गर्ने सपना पूरा भएकोमा खुसी व्यक्त गर्दै मुक्तक विधाको उन्नयनका लागि खोज अनुसन्धान गर्ने बताए। उनले भने, ‘यो बसाइ आरम्भ हो, यस्ता बसाइ अब निरन्तर हुनेछन्।’ मञ्चका उपाध्यक्ष जनक जंघारले मञ्चको हालसम्मको गतिविधिबारे बोले भने महासचिव  तिलक समर्पणले आमन्त्रित अतिथिहरूमा धन्यवाद ज्ञापन गरे। 

टीकापुर, कैलालीको ग्यालेस्की क्याफेमा मध्याह्न १२ बजेदेखि सुरु भएको मुक्तकवाचन साँझ ५ बजेसम्म निरन्तर चलेको थियो। टोपेन्द्र शाह रसिक, मीनबहादुर थापा मिलन, डिल्लीराज ओझा समर्पण, लालजंग भण्डारी, आर्त अकुलीन, सत्यनारायण दहित, दीपेन्द्र विवश विष्ट, धनराज अविरल, जयसिंह ज्यामी, प्रेम थापा, रेशम थापा, निश्चल केसी, प्रेम जैसी मायालु, माधवी बगर, नारायण कोइराला मुन्ना, भानुभक्त ढकाल, योगिन विपीन, धीरज त्रिवेणी, कश्मिर मगर, बलबहादुर रावत सानु, शेरु विष्ट भावुक, चन्द्र सापकोटा जलन, तारा भट्ट पल्लवी, धर्मराज देवकोटा, अशोक बोहरा असीम पीडा, माया कोइराला, हिमाल विष्ट सुदामा, दिनेश न्यौपाने, चन्द्र थापा, बम मीतभाषी, गणेश जिगम, अर्जुन बेघरलगायतका मुक्तककारहरूले विभिन्न भावका मुक्तक सुनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.