|
गौचन हत्याको विरोधमा काठमाडौंमा निकालिएको जुलुस

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न निजी क्षेत्रका विभिन्न संघसंस्थाले माग गरेका छन्। सोमबार दिउँसो गोली हानी गौचनको हत्या भएसँगै निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संस्थाले दोषीमाथि कारबाहीको माग गरेका हुन्। 

नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गरी गौचनको हत्याको समाचारबाट स्तब्ध भएको उल्लेख गरेकोछ। 'उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्ता बर्बर, आपराधिक कार्यको महासंघ घोर निन्दा एवं भत्र्सना गर्दछ' विज्ञप्तिमा भनिएको छ। 

जनताको सुरक्षामा सरकारको चासो गम्भीर नभएको कारण यस्तो परिणाम भोग्नु परेको भन्दै महासंघले यो घटनाले उद्यमी व्यवसायीलाई फेरि झस्काएको बताएको छ। 

महासंघले घटनामा संलग्न अपराधीहरूलाई तत्काल कानुनको कठघरामा ल्याई जनताले देख्ने गरी कानुनी कारबाही गर्न  माग गरेको छ। घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न र मुलुकभित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास दिलाउन पनि महासंघले माग गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले ज्यानको सुरक्षा नभएको अवस्थामा कसरी व्यवसाय गर्न नसकिने अवस्था आएको बताएका छन्। 'राज्यले सही किसिमले अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाएन भने हामी आन्दोलनमा जाने बाध्य हुन्छौ' देउजाले भने।

नेपाल उद्योग परिसंघ नेपाल चेम्बर अफ कमर्सले यस्ता घटनाले नेपालमा विस्तार हुदै गएको वैदेशिक लगानीको वातावरणमा प्रभाव पार्ने भन्दै दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.