|

रुपन्देही : जिल्ला निर्वाचन कार्यालय रुपन्देहीलाई निर्वाचन सामग्री राख्न गोदाम अभाव भएको छ। प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि मतपत्र र अरु सामग्री राख्नका लागि गोदामको अभाव भएको निर्वाचन कार्यालयका प्रमुख हुमनाथ गौतमले जानकारी दिए।

कार्यालयको गोदाम स्थानीय तहको निर्वाचनका करिब ४ लाख मतपत्र र अरु कागजातहरुले भरिएपछि आगामी निर्वाचनको सामग्री राख्न गोदाम नभएको उनले बताए। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका सामग्रीलाई के गर्ने भन्ने निर्देशन नदिएकाले आगामी निर्वाचनका सामग्री कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको प्रमुख गौतमले बताए।

तीन महिनापछि मतपत्र र अरु सामग्रीहरु नष्ट गर्नसक्ने कानुनी व्यवस्था भए पनि निर्वाचन कार्यालयले केन्द्रको आदेश पर्खिएको छ। ‘केन्द्रबाट केही आदेश आएको छैन,’ गौतम भन्छन्, ‘केन्द्रबाट आदेश नआउँदै केही गर्न सकिएन।’

रुपन्देहीका १६ स्थानीय तहका ५ सय ४३ मतदान केन्द्रबाट ३ लाख ५९ हजार ८ सय ४९ मत खसेको थियो। त्यति नै मतपत्र, मुचुल्का र अरु कागजातसहित ४ ट्रकजति सामान निर्वाचन कार्यालयको गोदाममा छन्।

संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ वटा निर्वाचन क्षेत्र कायम गरिएको रुपन्देहीमा ५ लाख २२ हजार ५ सय ९६ मतदाता छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.