|

काठमाडौं : झुमा लिम्बुको सांगीतिक सांस्कृतिक वृत्तचित्र ‘घाटुसरी’ युरोपका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ।

नेपाली संगीत परम्परा र सांस्कृतिक अन्तर्सम्बन्धका मौलिक विशेषताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने उद्देश्यले आफू युरोप भ्रमणमा जान लागेको झुमाले बताइन्।

मंगलबार सम्पन्न वृत्तचित्र प्रदर्शनपछि लेखक, पत्रकार तथा फिल्मकर्मीहरु माझ उनले भनिन्, ‘यसअघि मुन्धुममा गायनको विकासक्रमबारे अध्ययन गरेकी थिएँ। तर यस पटक 'घाटुसरी'भित्रको सांगीतिक प्रभाव र परम्पराबारे अध्ययन गरेकी छु।’

घाटुसरी परम्परा लमजुङ जिल्लाका स्थानीय गुरुङ, मगर, दुरा, कुमाल र बराम जातिमा प्रचलित छ। झुमाको अध्ययन, अनुसन्धान भने नाल्मा र बेसी सहरमा प्रचलित गुरुङ परम्पराको सतीघाटुमा केन्द्रित छ। घाटुसरीको संगीत लयमा झुम्दै नृत्यांगना बेहोस हुने र संगीतबाटै फेरि ब्युँझने शक्ति देखेर मनमा अनेक जिज्ञाशा जन्मेको झुमा बताउँछिन्।

मुन्धुम संस्कृतिमा आधारित पछिल्लो गीति संग्रह 'खासाम' तयार पार्ने क्रममा झुमाले पूर्वी नेपालका पहाडी भूभागदेखि भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किमको विभिन्न ठाउँमा बसेर अध्ययन गरेकी थिइन्। यस पटक मध्य नेपाललाई सांगीतिक सोधखोजको थलो बनाएकी उनी भविष्यमा सुदूरपश्चिमलगायतका भेगका संगीत संस्कृतिको अनुसन्धान गर्ने तयारीमा छिन्। संगीतसम्बन्धी जानकारी बटुल्नकै लागि अनेक ठाउँ घुमेकी उनी भन्छिन्, ‘कतिपय गीत सङ्गीतका लागि घुम्नै पर्ने हुन्छ। कोठाभित्र रचिएका गीत संगीत पनि मीठो त सुनिएलान्, तर तिनले कुनै पनि संगीतको साँचो प्रतिनिधित्व गर्न सक्दैनन्।’

उनको तर्क छ, 'मौलिक काम गर्ने हो भने घुम्न जरुरी छ। किनकी जे मौलिक र खास छन्, ती हाम्रा लोकजीवन र संस्कारजन्य अभ्यासमै छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.