|
File Photo

जुम्ला : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताएकी छन्।

चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औंल्याइन्। “कर्णाली क्षेत्र भाषा, संस्कृति, कलाको ऐतिहासिक भूमि हो नै, त्यसको अलवा दुर्लभ वनस्पति तथा वन्यजन्तु र बहुमूल्य वस्तु प्राप्त हुने मूल स्रोत पनि हो,” उनले भनिन्।

यति हुँदा पनि यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास हुन नसक्दा यहाँका नागरिकले सहज जीवनयापन गर्न नसकेकोप्रति राष्ट्रपति भण्डारीले सहानुभूति प्रकट गरिन्। उनले भनिन्, “कर्णालीको सुखी र समृद्धिले मात्र देशको मुहारमा आमूल परिवर्तन ल्याउन सहयोग पुग्छ। तसर्थ मुलुकको समग्र विकासको मार्गचित्र तयार गर्नु सबैको कर्तव्य हो।”

जलवायु परिवर्तनलाई ध्यानमा राखेर यो क्षेत्रको विकासका लागि राज्य कर्णाली केन्द्रित हुनुपर्ने उनको धारणा थियो। सदियौँदेखि उत्पीडित क्षेत्र, वर्गलाई राज्यको मूल प्रवाह ल्याउन अधिकतम प्रयास भइरहेको जनाउँदै विकासमा कर्णालीलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ थियो। पछिल्लो समयमा लोकतन्त्रले विकासमा सम्भावनाको ढोका खोलेको उनको प्रतिक्रिया थियो।

राष्ट्रपति भण्डारी जुम्लाबाट आजै डोटी दीपायल गएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.