|

काभ्रे: रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले वामपन्थी ध्रुवीकरणबाट नेपाली कांग्रेस अत्तालिनुपर्ने अवस्था नरहेको बताएका छन्।

बुधबार काभ्रेको धुलिखेलमा नेपाल प्रेस युनियनले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था: संविधान कार्यान्वयन र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तर्क्रियामा मन्त्री प्रधानले नेपाली कांग्रेस राणा शासनको विरुद्धमा लडेको पार्टी भएकाले वामपन्थीको एकताले कुनै असर नगर्ने बताए। उनले भने, ‘माओवादीले चलाएको युद्ध जनताको विरुद्धको युद्ध हो, त्यसलाई पूर्णता दिनको लागि वाम एकताबाट दुई तिहाई मत ल्याएर सत्ता हातमा लिई साम्यवाद लाद्ने रणनीतिमा लागिरहेको छ।’

साथै मन्त्री प्रधानले आवरणमा वाम एकता भने पनि माओवादी र एमाले विभिन्न शक्तिबाट परिचालित भएको बताए।

मन्त्री प्रधानले वाम एकताको भविष्य नरहेको पनि जिकिर गरे। प्रचण्ड एमालेभित्र प्रवेश हुनेवित्तिकै एमालेभित्र गुटबन्दी सुरु हुने प्रधानको दाबी थियो। उनले भने, ‘प्रचण्ड एमालेभित्र पस्नु भनेको एमालेभित्र धमिरा लाग्नु हो, जुन दिन ४० प्रतिशत टिकट माओवादीले पाउँछ, त्यहीबेलाबाट एमालेभित्र ध्रुव्रीकरण हुन्छ।’

त्यस्तै, सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले वाम गठबन्धन सरकार बनाउन नभई साम्यवाद लाद्नका लागि भएको टिप्पणी गरे। उनले भने, ‘गठबन्धन सरकारले प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाएर लोकतन्त्रवादीहरूलाई लखेट्ने खेल भएको हो।’ उनले थपे, ‘बन्दुकको नालबाट सत्ता कब्जा गर्न नसकेपछि निर्वाचनबाट सत्ता कब्जा गर्ने रणनीतिमा वामपन्थीहरू रहेका छन्, त्यो कुनै पनि हालतमा सफल हुनेछैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.