एक्लाएक्लै भिड्दा कांग्रेस बलियो, एमाले-माओवादी मिल्दा चुनौती

|

डडेल्धुरा : प्रजातन्त्र पुनर्स्थापनायता संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि गृहजिल्ला डडेल्धुराबाट चुनाव लड्दैछन्। २०४८ यताका सबै निर्वाचनमा देउवाले यहीँबाट चुनाव जित्दै आएका छन्।

डडेल्धुराबाट आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै आएका देउवा हाल चौंथो पटक मुलुकको प्रधानमन्त्री छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा १ मात्र निर्वाचन क्षेत्र छ। यसपटक पनि देउवाले डडेल्धुराबाट सहजै चुनाव जित्ने अनुमान गरिएको थियो। स्थानीय तह निर्वाचनकै आधारमा मतदान हुने भए एमाले र माओवादीले चुनावी तालमेल पछि देउवाको स्थिति पहिले जस्तो सहज छैन।

गत असार १४ गते भएको स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने देउवालाई चुनाव जित्न यसपटक कठिन देखिन्छ। तर नेताको व्यक्तिगत प्रभावले स्थानीय तह निर्वाचनको भन्दा जनमत परिवर्तन हुन सक्छ। डडेल्धुरा कांग्रेस दुई विभाजित जस्तै छ। तर दुवैको मियो भने देउवा नै छन्। स्थानीय निर्वाचनमा अन्तरघातका कारण पनि कांग्रेस पछि परेको थियो। अजयमेरु गाउँपालका अध्यक्षमा कांग्रेसका आधिकारिकभन्दा बागी उम्मेदवार लोकराज भट्टले बढी मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका थिए। उनले १ हजार ५४८ मत ल्याए भने आधिकारिक उम्मेदवार कमलसिंह भाटले ८ सय ७२ भोटमात्र पाएका थिए। तर देउवाको हकमा डडेल्धुरा कांग्रेस एकमत छ।

४ वर्षअघि भारी मतान्तरको जित, स्थानीय चुनावमा हम्मेहम्मे

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा देउवा २३ हजार ९२० मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एनेकपा माओवादीका खगराज भट्टले १२ हजार ४९३ मत पाउँदा एमालेका डा. ताराप्रसाद जोशीले ७ हजार १९० मत ल्याएका थिए। त्यतिबेला माओवादी र एमालेको मत जोड्दा पनि देउवा ४ हजार २३७ मतले अगाडि थिए।

त्यसको ४ वर्षपछि तस्बिर फेरिएको छ। गत असारमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसलाई डडेल्धुरामा दुई कम्युनिष्ट घटकले कडा चुनौती दिए। देउवा चुनावमा नखटिएका पनि होइनन्, उनी १ हप्तासम्म जिल्लामा बसेर पार्टीको पक्षमा माहोल बनाएका थिए। परिणाम कांग्रेसले ७ मध्ये ४ वटामा स्थानीय तहमा जित हात पार्‍यो। २ वटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भए। जितेका ४ मध्ये पनि देउवाको घर रहेको गन्यापधुरा गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा कडा चुनौती सामना गर्नुपर्‍यो।

वडातर्फको नतिजा हेर्ने हो भने त कांग्रेसलाई एमालेले पछि नै पारेको छ। ५२ वटा वडा रहेको डडेल्धुरामा एमालेले १९ वडामा जित हात पार्दा कांग्रेसले १७ र माओवादी १६ वटामा विजयी भएका छन्। यसले ४ वर्षको बीचमा डडेल्धुरामा कांग्रेस खस्किएको देखाउँछ भने, एमालेले सुधार गरेको छ र माओवादी थप खस्किएको देखिँदैन। यस्तो अवस्थामा एमाले र माओवादी मिल्दा देउवालाई चुनाव जित्नु पहिलेजस्तो सहज छैन।

स्थानीय तहमा कति मत? (अध्यक्ष/प्रमुखका आधारमा)

कांग्रेस – १९ हजार ५२३
एमाले – १६ हजार ९१५
माओवादी – १० हजार ९४५

यसमा एमाले र माओवादीको मत जोड्दा २७ हजार ८६० पुग्छ, जबकि कांग्रेसको १९ हजार मत छ। यसरी हेर्दा देउवाले स्थानीय चुनावमा एमाले र माओवादीलाई मतदान गरेका करिब ४ हजार मतदाताको मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ।

स्थानीय चुनावमा कांग्रेस एमाले र माओवादीको कुल मतभन्दा ८ हजार ३३७ ले पछि परेको छ। वडाध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने, १९ वटा वडा जितेको एमालेले १६ हजार ३०५, १७ वटा वडा जितेको कांग्रेसले १९ हजार ८२० र १६ वटा वडा जितेको माओवादी केन्द्रले ११ हजार ६७४ मत पाएका छन्। एमाले र माओवादीका वडाध्यक्षको मत जोड्दा २७ हजार ९८० मत हुन आउँछ, जबकि कांग्रेसका वडाध्यक्षहरुको कुन मत १९ हजार ८२० मात्रै छ।

कुन स्थानीय तहमा कसको कति?

परशुराम नगरपालिका
नेपाली कांग्रेस ४६२९
नेकपा माओवादी केन्द्र ४०८४
नेकपा एमाले २९४१

अमरगढी नगरपालिका 
नेकपा एमाले ३७६८
नेपाली कांग्रेस ३६४०
नेकपा माओवादी केन्द्र ३६१

आलिताल गाउँपालिका 
नेपाली कांग्रेस २२६१
नेकपा माओवादी केन्द्र २०९८
नेकपा एमाले १८५५

अजयमेरु गाउँपालिका 
नेकपा माओवादी केन्द्र २२७१
नेकपा एमाले १५९२
नेपाली कांग्रेस ८७२

भागेश्वर गाउँपालिका 
नेपाली कांग्रेस २००७
नेकपा एमाले १८४४
नेकपा माओवादी केन्द्र ८४३

नवदुर्गा गाउँपालिका
नेकपा एमाले २९६९
नेपाली कांग्रेस २७४५
नेकपा माओवादी केन्द्र ७६९

गन्यापधुरा गाउँपालिका 
नेपाली कांग्रेस ३३६९
नेकपा एमाले १९४६
नेकपा माओवादी केन्द्र ५१९

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.